ब्रिटिस महिला सैनिकलाई पहिलोपटक कम्ब्याट रोलमा अनुमति

लन्डन । ब्रिटेनको रोयल एयर फोर्स (आरएएफ) रेजिमेन्टमा महिला सैनिकहरुले पहिलो पटक नजिकबाटै स्थलगत लडाईं गर्न अनुमति पाएका छन् । लन्डनमा आयोजित आरएएफ एयर पावर कन्फरेन्सका क्रममा बेलायती रक्षामन्त्री सर माइकल फालनले आगामी सेप्टेम्बरदेखि महिला अग्रपंक्ति (कम्ब्याट रोल) मा आउने घोषणा गरेका हुन् । आरएएफ रेजिमेन्ट ब्रिटिश वायु सेनाको स्थलगत लडाईं गर्ने बल हो जसले आरएएफका अखडा, विमान र उपकरणहरु देशभित्र र बाहिर पनि रक्षा गर्ने काम गर्छ ।

तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यकाल गत जुलाई २०१६ मा महिलाहरुलाई लडाईंमा जान लगाइएको रोक फुकुवा गरिएको थियो । क्यामरुनले त्यतिबेला ब्रिटेनको सशस्त्र बल विश्वकै उच्च भएको जनाउंदै रोक फुकुवा ठूलो फड्को भएको बताएका थिए ।

फोर्सेस टिभीका अनुसार यसअघि महिला सैनिकलाई नन कम्ब्याट रोलमात्र दिइएको थियो । रोक फुकुवा गरिएपछि महिला सैनिकहरुलाई क्याभल्री, इन्फेन्ट्री र आर्मर्ड कर्पसमा जान अनुमति दिइएको छ ।

‘भिन्न बल अझ प्रभावकारी हुनेछ’, मन्त्री फालनले भने, ‘सेप्टेम्बरदेखि आरएएफ रेजिमेन्टले महिला भर्ना गर्ने कुरा जानकारी दिन पाउंदा म प्रसन्न छु ।’

चरणवद्ध परिवर्तन अनुसार, गत नोभेम्बर २०१६ मा रोयल आर्मर्ड कर्पसमा जान अनुमति दिइएको थियो । महिला सैनिक सन् २०१८ सम्म इन्फेन्ट्री, रोयल मरिन र आरएएफ रेजिमेन्टमा जानेछन् ।

तर, यसअघि गरिएको सैनिकहरुको एउटा अनुसन्धानले ७ हजार महिला सैनिकमध्ये ५ प्रतिशत भन्दा कमले मात्र इन्फेन्ट्री फिटनेश उत्तिर्ण गर्न सक्ने देखाएको थियो ।

जनरल निक कार्टरले महिलाहरुलाई सबै भूमिका दिइनु आर्मीभित्र प्रतिभावानलाई अवसर र यसले आर्मड 
फोर्स एउटा आधुनिक रोजगारदाता बन्ने बताए ।

ब्रिटिश आर्मीमा महिला सहभागिता शुरु भएको भने एकसय वर्ष पुगिसकेको छ । महिला सैनिक एक्जिलरी कर्पस ७ जुलाई १९१७ मा स्थापना गरिएको थियो ।

बेलायतको सत्तारुढ टोरी सरकारले सन् २०१० यता कम्तीमा २० हजार सैनिक कटौती गरिसकेको छ । हाल ब्रिटिश सैनिक संख्या ७८ हजार ४ सय रहेको बताइन्छ । ब्रिटिश सेनामा नेपाली अर्थात ब्रिटिश गोर्खा पनि अग्रपंक्तिमा खटिएका छन् । हाल ब्रिटिश गोर्खा संख्या करिब २५ सय छ । वर्षेनी नेपालबाट २ सय ३० युवा ब्रिटिस सेनामा छानिने गरेका छन् । उनीहरुले बाल्कन्स, इष्ट टिमोर, 
सियरालियोन, अफगानिस्तान र इराकमा प्रमुख भूमिका निर्वाह गरेका छन् । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री