
गृहमन्त्री जनार्दन शर्मासंग नेपालका लागि कतारका राजदूत हमरले आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुहुँदै । तस्बिर ः गृह मन्त्रालय-रासस
काठमाडौँ, १६ असार । उपप्रधानमन्त्री कृष्णबहादुर महराले कतारका राजदूतसँग त्यहाँ कार्यरत नेपालीको सुरक्षाका सम्बन्धमा विशेष चासो व्यक्त गर्नुभएको छ ।
कतारका राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले आज गर्नुभएको शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री महराले नेपालीको सुरक्षाका बारेमा जानकारी लिनुभयो । आफ्ना नागरिकको सुरक्षाका सन्दर्भमा आफूले दैनिक सूचना लिइरहेको बताउँदै मन्त्री महराले नेपालीको सुरक्षाका विषयमा विशेष ध्यान दिन राजदूतसँग आग्रह गर्नुभयो ।
पछिल्लो समय कतारमा देखिएको कूटनीतिक समस्या वार्ता र संवादबाट सुल्झनुपर्नेमा जोड दिँदै उहाँले नेपालले शान्तिपूर्ण तवरबाट समस्याको समाधान होस् भन्ने चाहेको बताउनुभयो । उहाँले आवश्यक परेमा नेपालले पनि शान्तिपूर्ण समाधानका लागि पहल गरिदिने विश्वास दिलाउनुभयो ।
मन्त्री महराले कतारका व्यवसायीले अन्य अरब मुलुकमा सञ्चालन गरेका कम्पनीमा कार्यरत नेपालीका सन्दर्भमा चासो व्यक्त गर्दै त्यसतर्फ कतारी सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।
जवाफमा कतारका राजदूत हमरले कतार र अरब राष्ट्रमा कतारका व्यवसायीले सञ्चालन गरेका कम्पनीमा कार्यरत नेपालीको सुरक्षामा आफ्नो सरकारले पूर्ण ध्यान दिने विश्वास दिलाउनुभयो । उहाँले अरब मुलुकमा देखिएको कूटनीतिक समस्याका कारण नेपालीको सुरक्षामा कुनै समस्या नभएको स्पष्ट गर्दै आगामी दिनमा दुई देशबीच रहिआएको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
यसैबीच परराष्ट्रमन्त्री महरासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ‘सार्क’ का महासचिव अम्जद हुसेनले आज नै शिष्टाचार भेटवार्ता गर्नुभयो । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच सार्कलाई क्रियाशील बनाउने सन्दर्भमा भएका निर्णयलाई द्रुत तवरले अगाडि बढाउने विषयमा छलफल भयो । सो अवसरमा मन्त्री महराले सार्कको मन्त्रिस्तरीय बैठक अगाडि बढाउन पहल गरिने बताउनुभयो ।
उहाँले सार्क शिखर सम्मेलनका लागि उपयुक्त वातावरण बनाउन नेपालले पहल गर्ने तथा सदस्य राष्ट्रबीच निरन्तर रुपमा द्विपक्षीय एवम् बहुपक्षीय छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।
सो अवसरमा महासचिव हुसेनले सार्कलाई चलायमान गराउन सदस्य राष्ट्रले सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी परराष्ट्रमन्त्री महरासँग नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले शिष्टाचार भेटवार्ता गर्नुभयो । सो अवसरमा उहाँहरुबीच द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक हरि लामिछाने जानकारी दिनुभयो ।
नेपाल कतारबीच सहयोग आदानप्रदान आवश्यक
काठमाडौँ, १६ असार । गृहमन्त्री जनार्दन शर्माले नेपालका लागि कतारका राजदूत हमरसँग आज भएको भेटमा कतारको विकासमा नेपाली नागरिकको श्रम तथा सीपको लगानी भएको र उसको समृद्धिमा नेपाल सन्तुष्ट भएकोे बताउनुभएको छ ।
गृह मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा मन्त्री शर्माले दुवै राष्ट्रबीच आपसी सहयोग आदानप्रदान गर्न आवश्यक रहेको बताउँदै सन् २०२२ मा कतारमा हुन लागेको विश्वकपको सफलताको शुभकामना दिनुभयो ।
यसैगरी कतारी राजदूतले पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन व्यवस्थित तथा शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउन सफल भएकामा गृहमन्त्री शर्मालाई बधाई दिनुभयो । राजदूत हमरले कतारमा हुन लागेको विश्वकप फुटबलको तयारी लगभग पूरा भएको जानकारी गराउँदै नेपालसँगको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो