
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार भेटपछि पत्रकारसँग प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १६ असार । निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचन आगामी असोज अन्तिम साता र प्रतिनिधिसभाको निर्वाचन मङ्सिरको पहिलो सातामा गर्ने तयारी थालेको छ ।
आयोगले आगामी कात्तिक दोस्रो हप्तामा राष्ट्रियसभाको निर्वाचन गर्ने तयारी सुरु गरेको छ । निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा भेटी निर्वाचनको उक्त कार्ययोजना प्रस्तुत गरेको भेटपछि प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी गराउनुभयो ।
डा यादवको नेतृत्वमा आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह, आयोगका निमित्त सचिव महेश्वर न्यौपानेसहितको टोलीले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आवश्यक कानुन यही असार मसान्तसम्ममा पारित गर्नुपर्ने आग्रह गरेको थियो । नेपालको संविधानअनुसार आगामी माघ ७ गतेभित्र स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ । भेटमा आयोगका तर्फबाट समयावधि कम भएको हुँदा मतदाता नामावलीसम्बन्धी ऐनमा समेत केही परिमार्जनको आवश्यकता रहेको प्रधानमन्त्रीलाई अवगत गराइएको थियो ।
आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारणका लागि साउन १५ गतेसम्म आवश्यक कार्य गरिसक्नुपर्ने सुझाव दिएको छ । आवश्यक कानुन प्राप्त भएपछि आयोग असोज अन्तिम साता प्रदेशसभाको र मङ्सिर पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गराउन प्रतिबद्ध रहेको प्रमुख आयुक्त डा यादवले बताउनुभयो ।
भेटका क्रममा डा यादवले दोस्रो चरणको निर्वाचनको सञ्चालन तथा मतगणना भइरहेका सम्बन्धमा र आगामी असोज २ गते गर्ने तय भएको प्रदेश नं २ को स्थानीय तह निर्वाचनको तयारीका बारेमा पनि प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको थियो । साथै निर्वाचन व्यवस्थापनमा सरकारका तर्फबाट भएको साधन स्रोत, जनशक्ति र सुरक्षाको सहयोगका सम्बन्धमा आयोगले प्रधानमन्त्री देउवालाई धन्यवाद दिनाका साथै आभारसमेत प्रकट गरेको थियो ।
भेटमा प्रधानमन्त्री देउवाले हालै स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै कार्य सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिनुभएको थियो । प्रधानमन्त्री देउवाले चाँडै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने, आवश्यक कानुन निर्माण गर्ने तथा ऐन संशोधनको प्रक्रिया पूरा गरिने आश्वासन आयोगलाई दिनुभएको थियो ।
स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ गते तथा दोस्रो चरणको निर्वाचन प्रदेश नं १, ५ र ७ मा यही असार १४ गते सम्पन्न भएको छ । प्रदेश नं २ मा भने असोज २ गतेका लागि स्थानीय तहको निर्वाचन तय भएको छ ।
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण