
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार भेटपछि पत्रकारसँग प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १६ असार । निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचन आगामी असोज अन्तिम साता र प्रतिनिधिसभाको निर्वाचन मङ्सिरको पहिलो सातामा गर्ने तयारी थालेको छ ।
आयोगले आगामी कात्तिक दोस्रो हप्तामा राष्ट्रियसभाको निर्वाचन गर्ने तयारी सुरु गरेको छ । निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा भेटी निर्वाचनको उक्त कार्ययोजना प्रस्तुत गरेको भेटपछि प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी गराउनुभयो ।
डा यादवको नेतृत्वमा आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह, आयोगका निमित्त सचिव महेश्वर न्यौपानेसहितको टोलीले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आवश्यक कानुन यही असार मसान्तसम्ममा पारित गर्नुपर्ने आग्रह गरेको थियो । नेपालको संविधानअनुसार आगामी माघ ७ गतेभित्र स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ । भेटमा आयोगका तर्फबाट समयावधि कम भएको हुँदा मतदाता नामावलीसम्बन्धी ऐनमा समेत केही परिमार्जनको आवश्यकता रहेको प्रधानमन्त्रीलाई अवगत गराइएको थियो ।
आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारणका लागि साउन १५ गतेसम्म आवश्यक कार्य गरिसक्नुपर्ने सुझाव दिएको छ । आवश्यक कानुन प्राप्त भएपछि आयोग असोज अन्तिम साता प्रदेशसभाको र मङ्सिर पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गराउन प्रतिबद्ध रहेको प्रमुख आयुक्त डा यादवले बताउनुभयो ।
भेटका क्रममा डा यादवले दोस्रो चरणको निर्वाचनको सञ्चालन तथा मतगणना भइरहेका सम्बन्धमा र आगामी असोज २ गते गर्ने तय भएको प्रदेश नं २ को स्थानीय तह निर्वाचनको तयारीका बारेमा पनि प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको थियो । साथै निर्वाचन व्यवस्थापनमा सरकारका तर्फबाट भएको साधन स्रोत, जनशक्ति र सुरक्षाको सहयोगका सम्बन्धमा आयोगले प्रधानमन्त्री देउवालाई धन्यवाद दिनाका साथै आभारसमेत प्रकट गरेको थियो ।
भेटमा प्रधानमन्त्री देउवाले हालै स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै कार्य सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिनुभएको थियो । प्रधानमन्त्री देउवाले चाँडै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने, आवश्यक कानुन निर्माण गर्ने तथा ऐन संशोधनको प्रक्रिया पूरा गरिने आश्वासन आयोगलाई दिनुभएको थियो ।
स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ गते तथा दोस्रो चरणको निर्वाचन प्रदेश नं १, ५ र ७ मा यही असार १४ गते सम्पन्न भएको छ । प्रदेश नं २ मा भने असोज २ गतेका लागि स्थानीय तहको निर्वाचन तय भएको छ ।
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा
कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
इरान र अमेरिका–इजरायली द्वन्द्व : बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’