
खोटाङ, १६ असार । विजयी जुलुससहित उत्सव मनाउने क्रममा झडप भएपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा मतगणना स्थगित गरिएको छ ।
नेपाली काँग्रेसले निकालेको विजयी जुलुसमा एमाले कार्यकर्ताले आक्रमण गरेपछि आज साँझ दोहोरो झडप भएको थियो ।
रुपाकोट मझुवागढी नगरपालिका–१ मा काँग्रेस विजय भएपछि दिक्तेल बजारमा निकालिएको विजयी जुलुसमा एमालेका कार्यकर्ताले दिक्तेलस्थित त्रिवेणी चोकमा आक्रमण गरेको थियो । दुई पार्टीबीच भएको दोहोरो झडपपछि एमालेका भीम राई, सुवास आचार्य र शिवसाकार खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झडपका क्रममा नेपाली काँग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित प्रकाश श्रेष्ठ, क्रियाशील सदस्य बिनिता श्रेष्ठलगायत घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको काँग्रेस खोटाङ क्षेत्र नं २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
साँझको समयमा दोहोरो झडप भएपछि उग्ररुप लिने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले दिक्तेल बजारका सबै होटल बन्द गराएको छ । झडपपछि दिक्तेल बजारको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
दुई पार्टीबीच दोहोरो झडप भएपछि काँग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणना स्थगित गराएको छ । झडप भएलगत्तै काँग्रेस कार्यकर्ताले शान्तिपूर्ण विजयी जुलुस भइरहँदा बिनाकारण एमाले कार्यकर्ताले आक्रमण गरेको भन्दै आक्रमणमा सहभागीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै मतगणना स्थगित गराएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणना काँग्रेसले स्थगित गराएपछि अहिले सर्वदलीय बैठक बसिरहेको छ । झडप हुनुका कारण अहिलेसम्म पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न