कर छलीमा महानिर्देशक शर्मासँग रु तीन अर्ब धरौटी माग

काठमाडौँ, १५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कर छलीमा सम्लग्न रहेको भन्दै आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित तीन जनालाई जनही रु तीन अर्बको धरौटी माग गरेको छ ।

आयोगका अनुसार साधारण तारेखमा छुट्ने हो भने महानिर्देशक शर्मासँग रु तीन अर्ब धरौटी माग गरिएको हो ।

आयोगले हाल १२५ कर छुटसम्बन्धी फाइल आयोगले अध्ययन गरिरहेको छ । एक हजार बढी कर छुटसम्बन्धी फाइलको अध्ययन गर्नुपर्ने आयोगको ठहर छ । यस्तै आयोगले तत्कालीन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई पनि रु तीन तीन अर्बको धरौटी माग गरिएको छ ।

महत र ढकाल फरार रहेको भन्दै आयोगले सार्वजनिक सूचनामार्फत जानकारी दिन आम नागरिकलाई आग्रह गरेको छ । आयोगको हिरासतमा रहेका महानिर्देशक शर्मालाई गत जेठ १९ गते पक्राउ गरेको थियो । विभिन्न व्यावसायिक संस्था र प्रतिष्ठानलाई रु २० अर्ब बढी छुट दिएको आरोप महानिर्देशक शर्मामाथि लाग्दै आएको छ ।

‘हालसम्म गरिएको अध्ययनका आधारमा धरौटी माग गरिएको हो’– आयोगका उच्च अधिकारीले भन्नुभयो, ‘कुल रुपमा रु नौ अर्ब बराबरको बदमासी गरेको देखिएकाले दामासाहीमा रु तीन-तीन अर्ब धरौटी माग गरिएको हो । फरार रहेकाको हकमा खोजी कार्यलाई प्राथमिकतामा राखिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री