मतदानमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

देउवा

काठमाडौँ, १३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणअन्तर्गत भोली बुधबार हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गर्न सबैमा आह्वान गर्नुभएको छ ।

मतदानको अघिल्लो दिन आज एक सन्देश दिँदै उहाँले भन्नुभयो—’यस ऐतिहासिक अवसरमा प्रथम चरणको निर्वाचनमा सहभागी नागरिकको जस्तै सक्रिय रुपमा भाग लिई आफ्नो मताधिकारको प्रयोग गर्न म सम्पूर्ण मतदाता दाजुभाई तथा दिदीबहिनीमा हार्दिक अपिल गर्दछु ।’ प्रदेश नं १, ५ र ७ मा स्थानीय तहको निर्वाचन भोली हुँदैछ ।

प्रधानमन्त्री देउवाले सन्देशमा भन्नुभयो -‘सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले संविधानसभामार्फत बनाएको नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सङ्घीय शासन प्रणालीको व्यवस्था गरेकोमा जनताको सबै भन्दा नजिक रहेको जनप्रतिनिधि छनोट गर्ने अन्तिम अवसरको सदुपयोग गर्ने समयमा नेपालीहरु उभिएको छ ।’

‘स्थानीय तहको दोश्रो चरणको निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवम् मर्यादित बनाउन निर्वाचन आयोगले आफ्नो तर्फबाट सबै उपाय अपनाएको छ भने नेपाल सरकारले पनि निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादित बनाउन सबै सुरक्षाको उपाय अपनाएको छ, त्यसैले आममतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अनुरोध गर्दछु भन्नुभयो ।’

प्रधानमन्त्री देउवाले निर्वाचनमा सहभागी सबै प्रशासक, कर्मचारी, शिक्षक, सुरक्षाकर्मी एव्म स्वयमसेवीलाई जिम्मेवार र संयमतापूर्वक कर्तव्य निर्वाह गर्न पनि अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री