काठमाडौँ, १२ असार । काठमाडौँ उपत्यकालाई उज्यालो बनाउने लक्ष्यका साथ काठमाडौँ महानगरपालिका र निजी क्षेत्रको सहकार्यमा धमाधम सौर्य बत्ती जडान भइरहेको छ ।
यही महिनाको अन्त्यसम्म एक हजार २८५ वटा सौर्य प्रणाली जडान हुने महानगरले जनाएको छ ।
महानगरभित्रका मुख्य–मुख्य सडकलाई उज्यालो र झिलिमिली बनाउने लक्ष्यका साथ सौर्य बत्ती जडान कार्य धमाधम अगाडि बढाइएको र त्यसमा महानगरको लगानी नपर्ने उल्टै फाइदा हुने प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।
महानगरले काठमाडौँको सडक झिलिमिली बनाउनका लागि वि के ट्रेर्डस एन्ड सप्लायर्सलाई सौर्य प्रणाली जडान गर्ने जिम्मा दिएको छ ।
दैनिक रातको समयमा २० देखि ३० वटा सौर्य प्रणाली जडान भइरहेको छ । सार्वजनिक निजी साझेदारी अन्तर्गत सप्लायर्सले २०७३ साल कात्तिकदेखि सडकमा सौर्य प्रणाली जडान गरिरहेको हो । सो सप्लायर्सका प्रमुख रोशन श्रीवास्तवले करिब रु पचास करोडको लागतमा प्रणाली जडान भइरहेको राससलाई जानकारी दिनुभयो ।
महानगरलाई फाइदै फाइदा
उहाँका अनुसार महानगर क्षेत्रमा जडान गरिएका सडक बत्ती आगामी दश वर्षपछि महानगरको स्वामित्वमा आउने छ । महानगरले उपलब्ध गराएको स्थानमा प्रवद्र्धकले प्रतिपोल रु आठ हजार ७०० वार्षिक शुल्क र विज्ञापनबापत रु सात हजार २०० महानगरलाई उपलब्ध गराउनेछ । त्यसबापत प्रवद्र्धकले सौर्य बत्तीको पोलमा विज्ञापन राख्न पाउनेछ ।
हालसम्म महानगरका सडकमा ५६० वटा सौर्य बत्ती जडान गरिसकिएको छ भने असार मसान्तसम्म सबै जडान हुनेछन् । हाल जडान भएको सौर्य प्रणालीमा लिथियम ब्याट्री प्रयोग भएको छ भने आगलागी प्रतिरोधक पोल राखिएको प्रमुख श्रीवास्तव बताउनुहुन्छ ।
दश मिनेट सामान्य रुपमा घाम लागेपनि राति बल्ने प्रणाली जडान भएको जानकारी दिँदै उहाँले हालसम्मकै अत्याधुनिक ‘सोलार सिस्टम’ प्रयोग भएको बताउनुभयो । वर्षात्को समय कतिपय स्थानमा सडक पेटी नभएको र नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीका कारण बत्ती जडानमा केही समस्या आएको प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो ।
आफूहरुले प्राधिकरणसँग पनि समन्वय गरेर काम गरिरहेको केही स्थानमा बत्ती जडानको समय विद्युत् कटौती गरेर भए पनि सहयोग हुने विश्वास राखेको उहाँको भनाइ छ । महानगरको कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कृष्णपाउरोटी चोक, ज्ञानेश्वर, गौशला, पुरानोबानेश्वर, चाबहिलमा सौर्य बत्ती यसअघि नै जडान भइसकेको छ ।
त्यस्तै कलङ्की, त्रिपुरेश्वर, थापाथली चोक, माइतीघर चोक, केशरमहल चोक, ठमेल क्षेत्र, क्षेत्रपाटी, सोह्रखुट्टे चोक, बालाजु,नयाँ बसपार्क क्षेत्रमा ४०० बत्ती जडान गरिनेछ । दरबारमार्ग महेन्द्र सालिक चोक, काठमाडौँ प्लाजा, कृष्णपाउरोटी चोक, ज्ञानेश्वर चोक, मैतिदेवी, बत्तीसपुतली सडकखण्ड, मैतिदेवी डिल्लीबजार पुतलीसडक खण्डमा ३०० बत्ती जडान हुनेछ ।
महानगरका प्रवक्ता कार्कीकाअनुसार पुरानो बानेश्वर चोकबाट नयाँ बानेश्वर, शङ्खमूल पुल, तीनकुने, कोटेश्वर, जडीबुटी, नरेफाँट, पुरानो बानेश्वर, भिमसेन गोला हुँदै सिनामङ्गल चोकसम्म ३८५ वटा सौर्य बत्ती राखिनेछ ।
यसैगरी अनामनगर हनुमानस्थान, बिजुली बजार, नयाँ बानेश्वर खण्ड, गौशला, चाबहिल, चुच्चेपाटी, बौद्ध हुँदै जोरपाटीसम्म २०० बत्ती जडान गर्ने लक्ष्य राखिएको छ ।
पुराना बल्न छाडे
काठमाडौँ उपत्यकामा चर्को विद्युत्भार कटौतीको समयमा नै सौर्य प्रणाली जडान गर्ने कार्य सुरु भए पनि विविध कारणले रोकिँदै आएको थियो । तर दक्षिण एसियाली क्षेत्री सहयोग सङ्गठन(सार्क)को शिखर सम्मेलनको क्रममा जडान भएका सौर्य प्रणाली बल्न बन्द भइसकेका छन् ।
उचित मर्मत सम्भारको अभावमा ती प्रणाली बन्द भएका हुन् ।
बन्द भएका बत्ती मर्मत गर्न लागिएको महानगरका प्रवक्ता कार्की बताउनुहुन्छ । सौर्य प्रणाली जडानपछि सडकबत्ती प्रयोग गरेबापत महानगरले तिर्नुपर्ने रकम समेत कम हुने महानगरको विश्वास छ । तर जथाभावी रुपमा सौर्य प्रणाली जडान गर्दा सहरी सौन्दर्य भने बिग्रने भन्दै सरोकार भएकाले चिन्ता व्यक्त गरेका छन् ।
सरकारले त्यस्ता प्रणाली हटाउन चाहे प्राविधिक मूल्याङ्कन गरेर आवश्यक निर्णय गरिने प्रवक्ता कार्कीको भनाइ छ ।
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]