बेलायतको कान्छो अर्बपतिको उमेर २६ मात्रै

लन्डन । बेलायतमा अर्बपतिहरुको संख्या बढेको छ । सन् २०१७ मा घोषित अर्बपतिहरुको सूचीमा एकसय ३४ जना पुगेका हुन् । सन्डे टाइम्सको धनी सूचीमा बेलायतमा सबैभन्दा धनी श्री र गोपी हिन्दूजा दाजुभाईको १६ अर्ब बीस करोड पाउन्ड सम्पत्ति रहेको उल्लेख छ । यी दाजुभाइले घर जग्गा तथा मोटर गाडीबाट सम्पत्ति आर्जेका हुन् ।

बेलायतका ५ सय धनी व्यक्तिहरुको जम्मा सम्पत्ति ५८० अर्ब ४० करोड पाउन्ड रहेको तथ्यांकले देखाएको छ । त्यस्तै बेलायतका धनी एक हजार व्यक्तिको सम्पत्ति गत वर्ष भन्दा १४ प्रतिशतले बढेको सूचीमा उल्लेख छ ।

सन् २००८ मा बेलायतमा २७ अर्ब ७० करोड पाउन्ड सम्पत्ति भएर सबैभन्दा धनी व्यक्ति बनेका लक्ष्मी मित्तलले स्टिल व्यवसाय धरासायी भएपछि करिब एक तिहाइ सम्पत्ति गुमाइ उनीसंग सन् २०१७ मा ७ अर्ब १२ 
करोड पाउण्ड बराबरको सम्पत्ति रहेको पाइएको छ ।

आफ्ना बाबुको गत वर्ष असामयिक निधन भएपछि बेलायतको सबैभन्दा कान्छो अर्बपतिमा २५ वर्षकै उमेरमा हयू ग्रोज्भनर दर्ज भएका थिए । उनी ९ अर्ब ३५ करोड पाउन्ड बराबरको सम्पत्तिको हकदार छन् । बेलायती राजपरिवारका नाता पर्ने ग्रोज्भनरका पिता डुक अफ वेष्ट मिनिस्टरको लन्डनको अति महंगो ठाउं मेफेयरमा करिब १०० हेक्टर र बेल्ग्रेभियामा २०० हेक्टर जग्गा छ । यो ठाउं कति महंगो छ भने सन् २००२ मा मेफेयरमा एउटा गाडी पार्किङको जग्गामात्र ६५ हजार पाउन्डमा बिक्री भएको थियो । अहिले यो ठाउंको मुल्य झन् आकासिएको छ ।

न्यूकासल युनिभर्सिटीबाट स्नातक गरि अकाउन्टेन्ट काम 
गर्ने ग्रोज्भनरले सन् २०१२ मा आफ्नो २१ औं जन्मदिन मनाउंदा करिब ५० लाख पाउन्ड (करिब ६५ करोड रुपैयां) खर्च गरेपछि चर्चा बटुलेका थिए ।

बेलायतमा धनी र गरिबबीचको खाडल दशक यता बढेको चर्चा गर्दै लन्डनस्थित अर्थ ब्यवस्थापन विज्ञ विकलचन्द्र आचार्यले बेलायतका एक प्रतिशत मानिसको कुल सम्पत्ति करिब ११ ट्रिलियन पाउन्ड बराबर भएको बताए ।

बिज्ञ समूह रेजोलुसन फाउन्डेसनले हालै दिएको तथ्यांकमा बेलायतका चार लाख ८० हजार मानिसमा देशको कुल सम्पत्तिको १४ प्रतिशत स्वामित्व भएको उल्लेख छ । अर्कोतर्फ भने बेलायतका १५ प्रतिशत जनता अर्थात ७३ लाख मानिससंग कुनैपनि सम्पत्ति नभइ ति ऋणमा डुबेका तथ्यांक 
रहेको आचार्य बताउंछन् ।

औसत बेलायती कामदारले एक वर्षमा कमाउने तलब ठूला कम्पनीका हाकिमहरुले करिब आधा दिनमा नै कमाउंछन् भन्ने हालै प्रकाशित तथ्यांकले बेलायतमा तलब विभेदको प्रसंग 
चर्केको छ ।

लन्डन स्टक मार्केटको ठूला सय कम्पनीको कार्यकारी 
निर्देशकको वार्षिक औसत आम्दानी करिब ४० लाख पाउन्ड छ भने बेलायतमा काम गर्नेको औसत तलब २८ हजार २०० पाउन्ड रहेको जानकारी आचार्यले दिए । औसत तलबले एक परिवारको न्यूनतम आवश्यकता परिपूर्ति गर्न बेलायतमा हम्मे हम्मे नै पर्दछ । अर्को अर्थमा यी कम्पनीका धेरै कमाउने हाकिमहरुको तलब प्रतिघन्टा एक हजार पाउन्ड हुन्छ भने न्यूनतम तलब बेलायतमा प्रतिघन्टा ७ पाउण्ड ५० पेन्स छ । यसले बेलायती समाजमा धनी र गरिबबीचको खाडल झन् बढ्दै गएको देखिन्छ । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री