काठमाडौँ, ७ असार । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घटनाका आरोपित नेपाल प्रहरीका दुई पूर्वप्रहरी महानिरीक्षकसहित चार प्रहरी अधिकारी जेल चलान भएका छन् ।
पूर्वप्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक दीपकसिंह थाङ्देन र पूर्वनायब प्रहरी महानिरीक्षक दीपककुमार श्रेष्ठलाई आज जेल चलान गरिएको सर्वाेच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । चारै जनालाई डिल्लीबजार कारागार चलान गरिएको हो ।
सजाय छुटका लागि उहाँहरुले आज सर्वोच्च अदालत पुगी आत्मसमर्पण गर्नुभएको थियो । फैसला भएको ६० दिनभित्र आफैँ अदालतमा आएर फैसला कार्यान्वयनमा सहयोग पुरयाएबापत अदालतले त्यस्ता आरोपितलाई सजायमा २० प्रतिशत छुट दिने कानुनी प्रावधान छ ।
प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको संयुक्त इजलासले गत वैशाख १७ गते ओमविक्रम राणालाई दुई वर्ष कैद र रु ५० हजार जरिवाना, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई एक-एक वर्ष कैद र रु ४० हजार जरिवाना गर्ने फैसला सुनाएको थियो ।
सामान खरिद गर्दा योजनातर्जुमा, लागत अनुमान, दरभाउ पत्र लिने, खरिद ठेक्कापट्टा दिने, भुक्तानी दिनेलगायत काममा नेपाल प्रहरीका उच्च पदाधिकारी र ठेकेदार मिलेर नेपाल सरकारलाई रु २८ करोड ८१ लाख ६१ हजार २२९ हानी नोक्सानी पुरयाई भ्रष्टाचार गरेको अदालतले ठहर गरेको थियो ।
सुडान घोटला प्रकरणमा पूर्वप्रहरी अधिकृत दीपककुमार श्रेष्ठ, रवीन्द्रप्रताप राणालाई छ महिना कैद र रु ३० हजार जरिवाना, श्यामसिंह थापा र दीपकसिंह थाङ्ग्देनलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना गर्ने सोही दिन सर्वोच्चले फैसला सुनाएको थियो । घटनाका अन्य दोषी हालसम्म फरारको सूचीमा छन् ।
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट