कतारमा नेपाली कामदारको सुरक्षाबारे छलफल

काठमाडौँ, ६ असार । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुरसँग नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलले आज शिष्टाचार भेट गर्नुभएको भएको छ ।

भेटमा मन्त्री मंसुरले कतारमा पछिल्लो राजनीतिक घटनाक्रमका कारणबाट उत्पन्न हुनसक्ने सम्भाव्य असहज परिस्थितिबाट कतारमा कार्यरत रहेका नेपालीमा पर्ने असरबारे चासो व्यक्त गर्नुभयो ।

मन्त्री मंसुरले हाल कतारमा कार्यरत नेपाली कामदारको अवस्था के कस्तो रहेको तथा कुनै समस्या पर्ने हो कि भनी ध्यानाकर्षण गराउनुभएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जवाफमा राजदूत हेलले कतारमा अहिले जनजीवन विगतमा झैँ सामान्य रहेको बताउँदै कतारमा रहेका नेपाली कामदार कुनै अप्ठेरोमा नपर्ने कुरामा निश्चिन्त रहन आग्रह गर्नुभएको थियो ।

कतारमा रहेका सबैलाई कुनै समस्या वा अप्ठेरोमा पर्न नदिन कतारी सरकारबाट हर सम्भव प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

राजदूत हेलले कतारमा रहेको नेपालीले भोग्नुपरेको समस्याका बारेमा छलफल गरी आवश्यक कदम चाल्न दुई देशबीच भएको श्रम सम्झौता अन्तर्गतको प्राविधिक समितिको बैठकमा आवश्यक छलफल गरी समाधान गर्न सकिने बताउनुभयो ।

भेटमा मन्त्री मंसुरले कतारमा उत्पन्न कूटनीतिक सङ्कटको समाधान कूटनीतिक एवम् शान्तिपुर्ण तवरबाटै होस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री