पत्रकार उजिर मगरले ल्याए ‘अंश’

पत्रकार उजिर मगरको अंश नामक पुस्तकको लोकार्पण पछि पुस्तकमा हस्ताक्षर गर्नुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ, ६ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन पत्रकारको ठूलो भूमिका रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगरद्वारा लिखित अंश नामक पुस्तकको आज यहाँ लोकापर्ण गर्दै उहाँले भन्नुभयो –“मुलुकलाई शान्ति प्रक्रियामा ल्याएर गणतन्त्र ल्याउन नेपाली पत्रकारिताले ठूलो भूमिका निर्वाह गरेकोे छ ।”

अध्यक्ष प्रचण्डले पत्रकार सुधीर शर्माद्वारा लिखित ‘प्रयोगशाला’ र प्रशान्त झाद्वारा लिखित ‘गणतन्त्र’ राजनीतिक विश्लेषणात्मक पुस्तक भए पनि मगरद्वारा लिखित ‘अंश’ राजनीतिक र पत्रकारिताको विवरणात्मक पुस्तक भएको धारणा व्यक्त गर्नुभयो ।

आफू एक्लैले जनयुद्धको तयारी गर्ने भए २०४४ सालबाटै सुरु गर्न खोजेको उल्लेख गर्दै उहाँले २०४६ सालको राजनीतिक परिवर्तनका कारण जनयुद्धमा ढिलाइ भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले “जनयुद्धलाई निरन्तरता दिँदा धेरै जनता मर्ने र राज्यलाई आर्थिक क्षेत्रमा समेत ठूलो घाटा लाग्ने भएकाले आफूहरु शान्ति प्रक्रियामा आएका हौँ” भन्दै जनयुद्धको सकारात्मक तथा नकारात्मक पक्षलाई केलाउन, यसलाई राम्रोसँग बुझ्न र यसका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कोणबाट हेर्न जरुरी रहेको बताउनुभयो ।

समाजको आर्थिक, राजनीतिक, सामाजिक, मनोवैज्ञानिक, सांस्कृतिक परिवर्तनका लागि जनयुद्ध सुरु भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो– “आफूहरु दरबारसँग वार्ता गरेर शान्ति प्रक्रियालाई टुङ्ग्याउने कोसिस गरे पनि दरबार हत्याकाण्डका कारण उक्त कुरा सम्भव नभएपछि दिल्लीमा गएर राजनीतिक दलसँग वार्ता गर्नुपरयो ।”

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जनयुद्धलाई समेटेर धेरै पुस्तक लेखिए पनि मगरद्वारा लिखित पुस्तक सरल, सहज र पठनीय भएको बताउनुभयो ।

पत्रकार नारायण वाग्ले, युवराज घिमिरे, गुणराज लुइँटेल लगायतले मगरले आफ्नै मिहेनतमा लेखेको यो पुस्तकले सशस्त्र द्वन्द्वको घटनालाई यथार्थ चित्रण गरेको बताउँदै आगामी दिनमा पनि पत्रकार मगरलाई नयाँ पुस्तक लेख्न आग्रह गर्नुभयो ।

पत्रकार मगरले माओवादी सशस्त्र द्वन्द्व र पत्रकारितामा आफूले भोगेका भोगाइलाई पुस्तकमा समेट्न खोजिएको जानकारी दिनुभयो ।

उक्त पुस्तकमा लेखक मगरले दरबार–माओवादी भेटघाट, राजा ज्ञानेन्द्रप्रति माओवादीको नरम नीति, गोरखा जेल ब्रेकको झुटो रिपोर्टिङ, गिरिजाप्रसाद कोइराला सरकार किन ढल्यो, कृष्ण सेन दोस्रोपटक किन पक्राउ परे, महरा पटकपटक मारिए, कृष्णभिर आक्रमणको सिडी, दीपेन्द्रको सगरमाथा, लेख्न नसकिएको समाचार, बाह्रबुँदे सहमति र बढ्दो माओवादी गतिविधि लगायतका बिषयवस्तुलाई समावेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री