बेलायत बसेर नेपाल होइन, यहींको राजनीति गर्न विज्ञहरुको सुझाव

लन्डन । नेपाल अध्ययन केन्द्र संयुक्त अधिराज्य (सिएनएस यूके) को दशौं वार्षिकोत्सव ‘बेलायतमा राजनैतिक एवं नागरिक सहभागिताः रणनीति र आगामी दिशा’ विषयक एक दिने कार्यशालाका साथ हालै सम्पन्न भएको छ ।

अक्सफोर्ड विश्वविद्यालयमा आयोजित उक्त कार्यक्रम बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा भएको हो । समारोहमा बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्य सुवेदीले विशेष वक्तव्य दिएका थिए । कार्यक्रममा बेलायतभरका विभिन्न स्थानीय काउन्सिलको निर्वाचनमा सहभागी नेपाली समुदायका नेता एवं काउन्सिलरहरु, विभिन्न विश्वविद्यालय अध्ययनरत विद्यार्थी र अनुसन्धानकर्ताहरु, नेपाल अध्ययन केन्द्र यूकेसंग विगतमा साझेदारी वा सहकार्य गरेका संस्थाका प्रतिनिधि र सञ्चारकर्मी सहभागी थिए ।

मन्तव्यका क्रममा प्रमुख अतिथि राजदूत सुबेदीले नेपाल अध्ययन केन्द्रले बेलायतमा विगत दश वर्ष देखि नेपाल र नेपालीको सम्बन्ध सेतुका लागि गर्दै आएको प्राज्ञिक कार्यको प्रशंसा गरे । विशेषतः केन्द्रको गोर्खा पेन्सनसम्बन्धी प्रकाशनले गोर्खा समस्या समाधान प्रक्रियामा ठ्लो सहयोग भइरहेको जनाउंदै राजदूत सुवेदीले केन्द्रले आगामी दिनमा समेत नेपाल र नेपालीको हितमा अझ क्रियाशिल भएर काम गर्ने विश्वास व्यक्त गरे । नेपालको राजनैतिक परिवेशको चर्चा गर्दै उनले नेपालमा नयां संविधानले नागरिक हितमा गरेको कार्य र लोकतान्त्रिक व्यवस्था संस्थागत भइरहेको उल्लेख गरे ।

नेपाल अध्ययन केन्द्र स्थापनाको दशौं वर्षगांठ मनाउन केन्द्रले विगतमा गरेका विभिन्न ६ वटा महत्वपूर्ण कामसम्बन्धी कार्यपत्र प्रस्तुत गरेको थियो । केन्द्रका सल्लाहकार तथा अक्सफोर्ड विश्वविद्यालय मानवशास्त्र अध्ययन संस्थानका प्रमुख प्रो. डेविड गेल्नरको अध्यक्षतामा भएको उक्त सत्रमा केन्द्र स्थापनाको उद्देश्य र आफ्नो सक्रियताबारे संस्थापक निर्देशक एवं हाल क्यानडामा कार्यरत डा. गोबिन्द दाहालको प्रस्तुति थियो ।

केन्द्रको सन् २००८ को जनगणना र अन्य अनुसन्धानको आधारमा बेलायतमा रहेका नेपालीको जनसंख्या र क्षेत्रीय एवं जातिगत तथ्यांकबारे डा. कृष्ण अधिकारीले प्रस्तुति दिएका थिए । बेलायतस्थित नेपाली युवाको भविष्य र सामाजिक गतिशिलताबारे डा. संगीता श्रेष्ठको प्रस्तुति थियो भने भूतपूर्व गोर्खा सैनिकको पेन्सनसम्बन्धि नीति र आन्दोलन सम्बन्धमा डा. चन्द्र लक्सम्बाको प्रस्तुति थियो । 
आप्रवासी नेपालीको धर्म-संस्कृति सम्बन्धमा अक्सफोर्ड विश्वविद्यालयकी डा. सोन्ड्रा हाउसनरले प्रस्तुति दिइन् । बेलायतमा प्रथम नेपाली आप्रवासी मोतीलाल सिंहको नाममा स्थापित छात्रवृत्ति सम्बन्धमा केन्द्रका कार्यक्रम निर्देशक लोकेन्द्र पुरुष ढकालको प्रस्तुति थियो ।

दोश्रो सत्रको ‘राजनैतिक एवं नागरिक मञ्चमा सहभागिता’ विषयक कार्यशालामा अल्पसंख्यक समुदायको बेलायती राजनीतिमा सहभागिता र कार्यदिशा सम्बन्धमा लेवर पार्टीकी सांसद सीमा मल्होत्राले स्काइप मार्फत बैठकलाई सम्बोधन गरेकी थिइन् । व्यापक सामुदायिक परिचालान नै राजनीतिक सफलताको कडी भएको र जित हारको परवाह नगरी निस्वार्थ सक्रिय राजनीति गरेका कारण आफूले सफलता पाएको अनुभव मल्होत्राले सुनाइन् । उनले नेपाली समाजका राजनैतिक आकांक्षीले मुलधारको राजनैतिक दलहरुसंग आफू अनुकुल आवद्ध हुन प्रोत्साहन समेत गरेकी थिइन् । स्थानीय स्तरको राजनैतिक सक्रियताले नै राष्ट्रिय राजनीतिमा उपस्थित हुन सहयोग गर्ने उनको जोड थियो ।

सो अवसरमा बेलायतमा हालै सम्पन्न संसदीय चुनावमा लेवर पार्टीबाट डाटफोर्ड क्षेत्रको प्रतिनिधित्व गर्दै उमेदवार बनेका नेपाली मुलका डा. बच्चु कैलाश कैनीले आफ्नो राजनैतिक यात्रा र अनुभव सुनाए । उनले आफू सन् २००९ देखिनै निरन्तररुपमा विभिन्न स्तरबाट लेवर पार्टीमा आवद्ध भइ सामाजिक परिचालन र नागरिक मञ्चहरुमा संलग्न भएकाले नै राष्ट्रिय स्तरको संसदीय चुनावमा प्रतिष्पर्धी हुन पाएको अनुभव बांडे ।

कार्यक्रममा रस्मुर बरो काउन्सिलका काउन्सिलर एलेक्स क्रफोर्ड र बार्नेट लन्डनमा कन्जरभेटिभ पार्टीबाट काउन्सिलर पदमा चुनाव लडेका लक्ष्य गुरुङले निरन्तर समुदायको हितमा कार्य गर्दै जांदा प्रतिष्पर्धी राजनीतिमा सफलता पाइने विश्वास व्यक्त गरेका थिए ।

बेलायतका नेपालीको हालसम्मको अनुभव र अवस्था, अन्य अल्पसंख्यक समुदायको अनुभव र आगामी कार्यदिशाबारे चार समूहमा विभाजन गरी छलफल चलाइएको थियो । कार्यशालामा सहभागी बेलायतको विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने पूर्व र वर्तमान काउन्सिलहरु लगायतका सहभागीले राजनैतिक र सामुदायिक परिचालन सम्बन्धि आ आफ्नो अनुभव, संघर्ष र सिकाईबारे सामूहिक छलफल र प्रस्तुति दिएका थिए ।

कार्यशालामा सहभागीहरुले नेपाली समुदायले नेपालको राजनीतिमा कम र बेलायतको राजनीतिक तथा नागरिक समाजमा बढी सहभागिता खोज्नु पर्ने र उक्त सहभागितालाई सहयोग गर्न इच्छुक मानिसहरु मिलेर एक गैर राजनीतिक संजाल बनाएर काम गर्नु पर्नेमा जोड दिए । नेपाली समाज जातजातिमा धेरै बांधिएर संस्कृति जोगाउने नाममा खण्डित र अन्तर्मूखी भएको समीक्षा गर्दै यो आफैंमा नेपाली समाजको एक समस्या भएकोले परिवर्तन आवश्यक भएको र युवाहरूको राजनीतिमा सहभागिता बढाउनु 
पर्नेमा सहभागीहरूको जोड थियो ।

कार्यशाला सत्रको निचोड प्रस्तुत गर्दै डा. गंगाराम दाहालले नेपाली समुदायले हालसम्म बेलायती मुलधारको राजनीतिमा सक्रिय उपस्थिति जनाउने क्रम धेरथोर रूपमा सुरुभएको, नेपाली जनसंख्या बढ्नेक्रममा रहेको, समुदायको राजनैतिक चेत समृद्ध हुने क्रममा रहेको तर अझ बढी सामाजिक सक्रियताको टड्कारो खांचो औंल्याए ।

कार्यशालाको सत्र सञ्चालन डा. कृष्ण अधिकारीले गरेका थिए । उनले कार्यशालाको निचोडलाई नेपाल अध्ययन केन्द्रले आगामी दिनमा प्रतिवेदन बनाई आफ्नो वेबसाइटमा राख्ने जानकारी दिए । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबलाई नेपाल अध्ययन केन्द्रका तर्फबाट कार्यक्रम निर्देशक लोकेन्द्र पुरुष ढकालले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री