निर्वाचन चिह्न मङ्गलबार प्रदान गरिने

काठमाडौँ, ५ असार । यही असार १४ गते बुधबार दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नं १, ५ र ७ का ३३४ स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई भोलि असार ६ गते मङ्गलबार निर्वाचन चिह्न प्रदान गरिनेभएको छ ।

निर्वाचन आयोगका अनुसार असार ४ गते उम्मेदवारी दिएका तर नाम फिर्ता लिन चाहनेलाई भोलि बिहान ८ बजेदेखि ११ बजेसम्मको समय प्रदान गरिएको छ भने ११ बजेदेखि ११ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई भोलि नै बिहान ११ः३० बजेदेखि अपराह्न ६ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

यसैबीच, स्थानीय तह निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारहरुमध्ये हालसम्म ६२ हजार ९२६ को विवरण प्राप्त भएको निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्रले जनाएको छ । दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ ।

सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन निर्देशन

निर्वाचन आयोगले यही असार १४ गते दोस्रो चरणको स्थानीय तह निर्वाचन हुने प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा मतदानका दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

सरकारी, अर्धसरकारी कार्यालयमा कार्यरत अधिकांश कर्मचारी मतदानमा परिचालन हुनुपर्ने भएकाले सार्वजनिक सेवा प्रवाह गर्न कठिनाइ हुने जनाउँदै आयोगले ती जिल्लामा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन मन्त्रालयलाई लेखी पठाउने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनमा मतदान सञ्चालन गर्ने सन्दर्भमा दोस्रो चरणमा निर्वाचन हुने ३३४ स्थानीय तहका अधिकांश मतदान केन्द्र सार्वजनिक एवम् संस्थागत विद्यालय वा क्याम्पसजस्ता शैक्षिक संस्थामा तोकिएको जानकारी दिँदै आयोगले ती जिल्लाका सार्वजनिक एवं संस्थागत विद्यालय र क्याम्पसमा यही असार ११ देखि असार १४ गतेसम्म सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन पनि शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

आयोगले सार्वजनिक, संस्थागत विद्यालय वा क्याम्पसमा मतगणना हुने अवस्थामा भएको खण्डमा मतगणना सम्पन्न नभएसम्म उक्त विद्यालय वा क्याम्पस भवन र परिसर उपलब्ध गराइदिने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यस्तै निर्वाचन सञ्चालनका लागि कतिपय मतदान केन्द्र गाउँपालिका तथा नगरपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्रलगायत सार्वजनिक भवन र परिसरमा तोकिएको हुँदा स्थानीय तह निर्वाचनको मतदान प्रयोजनका लागि त्यस्ता भवन र परिसर उपलब्ध गराइदिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने पनि आयोगबाट निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री