काँग्रेसले बनायो निर्वाचन अनुगमन तथा परिचालन समिति

डा प्रकाशशरण महत, तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडाँै, ५ असार । नेपाली काँग्रेसले केन्द्रीय सदस्य डा प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन अनुगमन तथा परिचालन समिति गठन गरेको छ ।

सो समितिमा नवीन्द्रराज जोशी, दीलबहादुर घर्ती, अम्बिका बस्नेतलगायत छ सदस्य हुनुहुन्छ । स्थानीय तहको दोस्रो र तेस्रो चरणको निर्वाचनको अनुगमन गरी उम्मेदवारलाई पार्टीका तर्फबाट आवश्यक निर्देशन दिनुका साथै कहाँ के भइरहेको छ भन्ने विषयमा पार्टीलाई सुझाव दिने उद्देश्यले सो समिति गठन गरिएको काँग्रेसले जनाएको छ ।

समितिका संयोजक डा महतले दोस्रो चरणको निर्वाचन हुने जिल्लामा मङ्गलबारदेखि नै सो कार्य जारी राख्ने जानकारी दिनुभयो ।

काँग्रेसले पैँतीस जिल्लामा प्रतिनिधि खटायो

नेपाली काँग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सघाउन केन्द्रीय नेताहरुलाई जिल्ला पठाउने भएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवम् वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा आज बसेको समितिको बैठकले पार्टीका उम्मेदवारलाई विजयी गराउन ३५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

यसरी खटिने केन्द्रीय नेताहरुमा मोरङको विराटनगर महानगरमा पूर्वगृहमन्त्री विमलेन्द्र निधि रहनुभएको छ भने नेताहरु प्रकाशमान सिंहलाई सङ्खुवासभा, अर्जुननरसिंह केसीलाई सुनसरी, चित्रलेखा यादवलाई बर्दिया र गगन थापालाई दार्चुलामा खटाइएको काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री