बन्टओकवासी नेपालीले नवनिर्वाचित सांसदलाई दिए बधाइ

लन्डन । लन्डनको बन्टओक र त्यस वरिपरि बसोबास गर्ने नेपालीहरुले मिल्टन किन्सको प्रसिद्ध पर्यटकीय स्थल ‘विलेन लेक क्षेत्र’ मा शनिबार समर बार्बेक्यू आयोजना गरेका छन् । बन्टओक नेपाली समाजको आयोजनामा झण्डै दुईसय जनाले सपरिवार नाचगान र विभिन्न कार्यक्रम गरी रमाइलो गरे ।

उक्त अवसरमा समारोहका प्रमुख अतिथि तथा ब्रिटेनमा बिहीबार भएको आम निर्वाचनमा हेण्डन क्षेत्रबाट पुनर्निर्वाचित सांसद डा. म्याथू अफोर्ड तथा श्रीमती अफोर्डलाई बधाइ तथा सम्मान ज्ञापन गरियो । कार्यक्रममा बोल्दै सांसद अफोर्डले ब्रिटेनस्थित नेपाली समुदायले बेलायतको सामाजिक, सांस्कृतिक, आर्थिक लगायत सबै क्षेत्रमा योगदान पुराइरहेको र आफूले त्यसको उच्च मूल्यांकन गरेको बताए । उनले भूतपूर्व गोर्खाहरुको समस्या समाधानकालागि विगतमा पनि आफूले संसदमा आवाज उठाएको र आगामी दिनमा पनि यो विषयमा लागिरहने विश्वास दिलाए ।

आउँदो सेप्टेम्बर महिनामा नेपाल भ्रमण गर्ने योजना बनाएको बताउँदै उनले उक्त भ्रमणमा दुई वर्ष अघि गएको विध्वंशात्मक भूकम्पपछि नेपालमा भएका पुनर्निर्माणका कामहरु हेर्ने आफ्नो इच्छा रहेको पनि जनाए ।

सो अवसरमा सांसद अफोर्डले समाजका पूर्व अध्यक्षहरु उदय गुरुङ, लक्ष्य गुरुङ, महासचिव मोहन गुरुङ, आमा समूहकी अध्यक्ष कमला गुरुङ लगायत अन्य व्यक्तित्वहरुलाई खादा लगाएर सम्मान गरेका थिए । समाजको आजीवन सदस्यता लिएका नयाँ सदस्यहरुलाई पनि प्रमाणपत्र दिइएको थियो । सोही अवसरमा समाजको तर्फबाट ब्रिटेनस्थित म्याकमिलन क्यान्सर सोसाइटीकालागि संकलन गरिएको पाउण्ड ६६९.७२ को चेक सांसद अफोर्डलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बार्नेट काउन्सिलका पूर्व मेयर ह्यू रेनर र श्रीमती रेनरलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमको शुरुमा समाजका अध्यक्ष रमेश गुरुङले सबै सहभागी तथा पाहुनाहरुलाई स्वागत गरेका थिए ।

बन्टओक नेपाली समाजले आफ्ना सदस्य र तिनका परिवारकालागि हरेक वर्ष गृष्मकालिन घुमघाम कार्यक्रम आयोजना गर्दै आएको छ ।

तस्विर सौजन्यः मीना थापा

प्रतिक्रिया

सम्बन्धित सामाग्री