टेरेजाको ‘ओभर कन्फिडेन्ट’ विफल, अब गठबन्धन सरकार

प्रधानमन्त्री टेरेजा मे । तस्विरः सिन्हवा

लन्डन । बेलायतमा बिहिबार सम्पन्न संसदीय निर्वाचन परिणामले कुनै पनि पार्टीको स्पष्ट वहुमत नआएपछि गठबन्धन सरकार (हंग पार्लियामेन्ट) बन्ने निश्चित भएको छ । वर्तमान प्रधानमन्त्री टेरेजा मेको कन्जरभेटिभ पार्टी ३१८ सिट जितेर सबैभन्दा ठूलो पार्टी भएपनि उसले बहुमत ल्याउन सकेन । ६५० सांसद संख्या रहने बेलायती संसदमा बहुमत हुन ३२६ सिट आवश्यक पर्छ । प्रतिपक्षी लेबर पार्टीले २६२ सिट जित्न सफल भएको छ । बेलायतको तेस्रो ठूलो दल स्कटिस नेशनल पार्टीले ३५ सिट तथा लिबरल डेमोक्रेटिक पार्टीले १२ सिट जितेको छ । खसेको कुल मतको ४४ प्रतिशत कन्जरभेटिभ पार्टीको छ भने ४० प्रतिशत लेबर पार्टीले पाएको छ ।

सन् २०१५ को निर्वाचन भन्दा कन्जरभेटिभले यसपटक १३ सिट कम ल्याएको छ भने लेबोरले ३० सिट बढि ल्यायो । स्कटिस नेशनल पार्टीले २१ सिट गुमाएको छ । यसपटक नयां संसदका लागि पहिलोपटक सबैभन्दा बढि २०६ महिला उम्मेदवारले जितेका छन् ।

आफ्नो स्पष्ट बहुमत हुंदा हुंदै पनि ब्रेक्जिट (बेलायत ईयूबाट बहिगर्मन) प्रक्रियाका लागि अरु बलियो जनमत आवश्यक हुने बताउंदै प्रधानमन्त्री मेले समयभन्दा तीन वर्ष अगाडि नै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । प्रारम्भिक मत सर्वेक्षणहरुमा कन्जरभेटिभ पार्टीले बहुमत ल्याउने आंकलन थियो । तर, बिपक्षी लेबर पार्टीका नेता जेरमी कोर्बिनको लोकप्रिय घोषणापत्र तथा युवाहरुलाई आकर्षित गर्ने कार्यक्रमले प्रधानमन्त्री मेको अपेक्षित जितलाई विफल बनाइदिएको कतिपय विश्लेषकहरुको बुझाइ छ । बेलायतमा अढाइ महिनाबीचमा तीनवटा आतंककारी आक्रमण भएपछि शान्ति सुरक्षा चुस्त राख्न नसकेको भन्दै प्रधानमन्त्री मेको आलोचना भएको थियो । यस कारणले पनि मेको लोकप्रियता पछिल्लो समय घट्न गएको विश्लेषण गरिएको छ । प्रधानमन्त्री मेले पदावधि छंदै निर्वाचन आव्हान गरेका कारण पार्टीको यस्तो अवस्था आएको भन्दै आफ्नै दलबाट समेत मेको विरोध आएको छ ।

प्रधानमन्त्री मेले उत्तरी आयरल्याण्डमा रहेको डेमोक्रेटिक युनिअनिस्ट पार्टी (डियूपी) संग सहकार्य गरि सरकार बनाउने बताएकी छन् । डियूपीले जम्मा दश सिट मात्र जितेको छ । कानुनअनुसार, मेले नयां सरकार गठनका सन्दर्भमा अनुमति लिन बेलायती महारानीलाई शुक्रबार दिउसो भेटिन् । रानीसंग भेटपछि प्रधानमन्त्री कार्यालय अगाडि सम्वोधन गर्दै मेले देशमा स्थायित्व दिन आफूले सरकार गठन गर्ने बताइन् । उनले ब्रेक्जिट समयावधि यथावतै रहने बताए पनि आफ्नो योजना अनुरुप हार्ड ब्रेक्जिट गर्न सहज छैन् ।

तर, विपक्षी लेबोर नेता कोर्बिनले बर्तमान सरकारको नैतिक हार भएको बताउंदै मेको राजिनामासहित आफ्नो दोश्रो ठूलो पार्टीलाई अल्पमतको सरकार बनाउन दिनुपर्ने माग गरेका छन् ।

निर्वाचनमा सोचेअनुरुप परिणाम नआएपछि बेलायती राजनीति अस्थिर हुने अनुमानबीच पाउन्डको भाउमा गिरावट आएको छ ।
बेलायती राजनीतिले कुन मोड लिने हो र ब्रेक्जिट प्रक्रिया कसरी अगाडि बढ्ने हो सबैमा चासो छ ।

नेपाली मुलका कैनी पराजित
बेलायतको संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार भएका नेपाली मुलका डा. बच्चु कैलाश कैनीले पराजय भोगेका छन् । लेबोर पार्टीका तर्फबाट डार्टफोर्ड क्षेत्रमा उठेका कैनीले १८ हजार २४ मत ल्याए भने उनका प्रतिष्पर्धी कन्भरभेटिभ पार्टीका उम्मेदवार ग्यारेथ जोन्सनले ३१ हजार २१० मत ल्याएर जित हासिल गरे । कुल खसेको मतको ५७ दशमलव ६ प्रतिशत ल्याएर ग्यारेथ विजयी भएका हुन् । डार्टफोर्ड क्षेत्रमा अहिले चुनाव हारेपनि आशा नमरेको र भविष्यमा लेबोरको समर्थन जुटाउन नियमित लागिरहने कैनीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री