भाग्यमानी गच्छदार-एउटै मन्त्रालयमा एक महिनामा दुईपटक उपप्रधानमन्त्री

काठमाडौँ, २४ जेठ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले एक महिनाका बीचमा एउटै मन्त्रालयमा दुईपटक पदभार ग्रहण गर्नुभएको छ ।

पुष्पकमल दाहालको नेतृत्वमा वैशाख २६ गते उपप्रधानमन्त्री सहित सोही मन्त्रालयमा पदभार ग्रहण गर्नुभएका गच्छदारले आज शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारमा पनि त्यही मन्त्रालयमा कार्यभार सम्हाल्नुभएको हो ।

पाँचौँ पटक उपप्रधानमन्त्री र १४ औँ पटक मन्त्री बन्नुभएका गच्छदारले आज पदभार ग्रहण गर्दै संविधान कार्यान्वयनको पहिलो खुड्किलोमा स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको बताउँदै दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र सङ्घीय संसद्को निर्वाचनपछि पूर्णरुपमा संविधान कार्यान्वयन हुने बताउनुभयो ।

“प्रादेशिक र सङ्घीय संसद्को निर्वाचन कात्तिक १५ देखि मङ्सिर १० सम्म गरिसक्नुपर्छ, कात्तिक १५ अघि वर्षा र चाडवाडका कारण निर्वाचन सम्भव छैन भने मङ्सिर १० पछि हिमाली जिल्लामा हिउँ पर्ने भएकाले चुनाव हुन सक्दैन, माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन सक्नुपर्ने संवैधानिक व्यवस्था छ”–उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री गच्छदारले पदभार ग्रहणपछि स्थानीय तहको निर्णय प्रमाणीकरणसम्बन्धी व्यवस्थाको फाइलमा हस्ताक्षर गर्नुभयो । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि आचारसंहिता ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री