काठमाडौँ, २३ जेठ । नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ ।
प्रधानमन्त्री मोदीले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई टेलिफोन गरेर उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल–भारतको सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
देउवा निकट पत्रकार तथा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलका अनुसार भारतीय प्रधानमन्त्री मोदीले देउवाको नेतृत्वमा नेपालमा शान्ति, समृद्धि तथा प्रगतिको कामना गर्नुभएको थियो ।
जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले दुई देशबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
दुवै छिमेकीसँग सुमधुर सम्बन्ध बनाउँछु – देउवा
नवनिर्वाचित प्रधानमन्त्री देउवाले भारत र चीनसँगको सम्बन्धलाई सुमधुर बनाउँदै अगाडि बढ्ने बताउनुभएको छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसद्भवन नयाँ बानेश्वरमा पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “दुवै छिमेकी देशसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउनेछु ।”
नवनिर्वाचित प्रधानमन्त्री देउवाले आफूले संसद्मा नै सबै विषयमा प्रस्ट पारिसकेको उल्लेख गर्दै सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।