बेलायती आमनिर्वाचनले पाउण्डको भाउ अस्थिर

लन्डन । आउंदो जुन ८ मा हुन गइरहेको बेलायती आम निर्वाचनमा कुनै पार्टीको पनि वहुमत आउन नसक्ने भन्ने एक मत सर्वेक्षण प्रकाशित भएपछि अन्तर्राष्ट्रिय विनिमय दरमा पाउण्ड स्टर्लिङको भाउमा गिरावट आएको छ ।

बुधबार पाउन्ड स्टर्लिङ अमेरिकन डलरसंग शुन्य दशमलव ५ प्रतिशतले कम भइ १ दशमलव २२७० डलर पुग्यो भने बेलायती मुद्रा युरोसंग शुन्य दशमलव ३६ प्रतिशतले कम भइ १ दशमलव १४५२ मा झरयो ।

फेरि बुधबार दिउसो अर्को मत सर्वेक्षणमा वर्तमान प्रधानमन्त्री टेरेजा मेको कन्जरभेटिभ पार्टीले वहुमत ल्याउन सक्ने आंकलनले पाउन्डको भाउ केहि स्थिर रहन पुग्यो । गत अक्टोबरमा बेलायत ईयू कमन 
मार्केट तथा भन्सार संघबाट बाहिरिने उद्घोषले पाउन्डको भाउमा गत ३० वर्ष यता सबैभन्दा ठूलो गिरावट आइ एक दशमलव २०४७ पुगेको थियो । त्यसयता पाउन्डको भाउ १ दशमलव ३० डलर भन्दा बढि आउन सकेको छैन् ।

लन्डनस्थित अर्थ व्यवस्थापन विज्ञ विकलचन्द्र आचार्यले लगानीकर्ताहरुमाझ बेलायती चुनावको परिणाम तथा युरोपियन युनियन छोडेपछि अर्थतन्त्र के हुने भन्ने सन्त्रासका कारण पाउण्ड स्टर्लिङ कमजोर भएको बताए । बेलायतको प्रतिपक्ष लेबर पार्टीले आफ्नो घोषणापत्रमा वित्तीय 
कारोबार कर लगाउने, कर्पोरेसन ट्याक्स तथा उच्च आय हुने व्यक्तिहरुको कर बढाउने जस्ता नीति ल्याएकाले मत 
सर्वेक्षणमा लेबर पार्टीको लोकप्रियता अगाडि आउने बित्तिकै लगानीकर्ताहरुमा सन्त्रासबीच पाउन्डको भाउमा अस्थिरता आएको विश्लेषण आचार्यको छ ।

लन्डन स्टक मार्केटको ठूला १०० कम्पनीको शेयर सूचांक रेकर्ड अंकले बढेको छ । पाउन्डको भाउमा गिरावटले स्टक मार्केट बढ्न मद्दत 
गर्ने ठानिन्छ । लन्डन स्टक मार्केटमा धेरै ठूला विदेशी कम्पनीको सेयर हुनाले ति कम्पनीहरुले बेलायतबाहिर कमाएको नाफाको मुल्य पाउण्ड स्टर्लिङ कमजोर भएपछि अरु बढ्ने आचार्य बताउंछन् । ठूला विदेशी कम्पनीहरुलाई पाउन्डको मुल्यमा आएको गिरावटले फाइदा हुंदा स्टक मार्केटको सेयर बढ्छ ।

कमजोर पाउन्डले मुद्रास्फीति हुने र यसले जुनसुकै आयात गरिएका सामानको भाउ बढ्ने अर्थ मामिला विज्ञ आचार्यको विश्लेषण छ । साथै पेट्रोलियम लगायत खाद्यान्न, लत्ताकपडा, इलोक्ट्रोनिक्स सामानहरुको भाउ बढ्छ, होलिडे महंगो हुन्छ । यसको अर्थ पाउन्डको क्रयशक्तिमा ह्रास हुनु हो । तर, सामान निर्यात गर्दा 
अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सस्तो हुन पुग्छ । अन्तर्राष्ट्रिय विनिमयको हिसाबले कमजोर मुद्रामा यसको नाफा पनि कम हुन्छ । नाफा कम भएपछि लगानी अन्यत्र जान्छ भन्ने मान्यता छ । यसले देशको अर्थतन्त्र लगायत सम्पतिको मुल्यमा पनि गिरावट आउने आचार्यले उल्लेख गरे । यस अलवा व्यवसायहरुलाई अस्थिरताले पिरोल्छ जस कारणले निर्यात, लगानी र जम्मा वृद्धिलाई असर गरि पाउण्डको भाउ कमजोर बनाउंछ । पाउण्डको भाउ झर्दा बेलायतको अर्थतन्त्रमा नकारात्मक असर पर्नु स्वभाविक हो । कमजोर पाउण्डका कारण बेलायतबाट नेपाल लगायत अन्य देशमा पठाउने रेमिटेन्सको मुल्यमा पनि कमी आउने विश्वास छ ।

बेलायती आम निर्वाचनमा कसैले पनि स्पष्ट वहुमत प्राप्त नगरे युरोपियन यूनियनसंग बहिर्गमन वार्ता गर्न बेलायतलाई सजिलो नहुने र थप अस्थिरतातर्फ बेलायत उन्मुख हुने विश्लेषकहरुले बताएका छन् ।

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टी ईयूसंग कमन 
मार्केट एवं भन्सार संघ लगायत ईयू सदस्य देशहरुबाट स्वतन्त्र आवतजावत गर्न रोक लगाउने नीति छ भने प्रतिपक्ष लेबर पार्टीको ईयू कमन मार्केटमा रही युरोपसंगको सम्बन्ध नजिक राख्नु पर्ने धारणा छ । चौथो ठूलो पार्टी लिबरल डेमोक्रयाट्सले भने ईयू बहिर्गमन हुंदा बेलायतमा पार्ने प्रभावबारे बेलायती जनताहरु अनभिज्ञ भएकाले पुनः जनमत संग्रह हुनुपर्ने जिकिर गर्दै आएको छ ।

अब एक सातामा हुने बेलायतको आम चुनावको परिणाम कुन रुपमा आउने हो भन्ने कौतुहलता सर्वत्र छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री