काठमाडौँ, १७ जेठ । भारतबाहेक विभिन्न देशमा कम्तीमा ३१८ जना नेपाली नागरिक विदेशी जेलमा रहेको भेटिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विश्वका विभिन्न देशको जेलमा रहेका आफ्ना नागरिकको खोजी सुरु गरिएपछि सो सङ्ख्यामा नेपाली नागरिक मृत्युदण्ड तथा जन्मकैदसहित विभिन्न सजाय पाएर जेलमा रहेको भेटिएको हो ।
जेलमा रहेका नेपालीलाई हत्या, लागुऔषध प्रयोग तथा कारोबार, मानव तस्करी, चोरी, ठगी, बलात्कार, मादक पदार्थ उत्पादन, प्रयोग तथा बिक्रीजस्ता आरोप लागेको भेटिएको छ ।
नेपाली दूतावास रहेका र नरहे पनि प्रमाणीकरण हुने विश्वका विभिन्न ३२ वटा राष्ट्रमा उल्लिखित सङ्ख्यामा नेपाली नागरिक जेलमा भेटिएको प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार शाखाका सदस्य सुशील ढुङ्गानाले जानकारी दिनुभयो ।
जेलमा रहेका नागरिकमध्ये १७ जनालाई मृत्युदण्ड र ४३ जनालाई जन्मकैदको सजाय सुनाइएको छ भने २३९ जनालाई कम्तीमा एक महिनादेखि ५० वर्षसम्मको जेल सजाय तोकिएको छ ।
यस्तै, थप १४ जनालाई मृत्युदण्ड र तीन जनालाई जन्मकैद हुन सक्नेगरी ती देशमा मुद्दा चलाइएको छ । मलेसियामा विभिन्न घर फिर्ती केन्द्रमा सामान्य अभियोगमा थुनामा रहेका नागरिकको सङ्ख्या मात्रै करिब ५०० को हाराहारीमा रहेको छ । सामान्य अभियोगमा मध्यपूर्वका अन्य देशमा समेत नेपाली नागरिक थुनामा रहने गरेका छन् ।
सबैभन्दा बढी बन्दी साउदी अरेबिया, कुबेत र कतारमा रहेका छन् । मलेसियालगायत मध्यपूर्वका खाडी राष्ट्र र दक्षिण कोरिया, चीन, थाइल्यान्ड, पाकिस्तान, श्रीलङ्का, कम्बोडिया, सिङ्गापुरजस्ता देशमा नेपाली जेलमा रहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले वैदेशिक रोजगार र विदेशमा रहेका नेपाली नागरिकको अवस्था बुझ्न दिएको निर्देशनपछि प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार शाखाले सो तथ्याङ्क तयार पारेको हो ।
भारतमा समेत ठूलो सङ्ख्यामा नेपाली जेलमा रहेको बताइए पनि उनीहरुको तथ्याङ्क नआइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग