काठमाण्डौं मेयरसहित नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको प्रमाणपत्र वितरण एवम् शपथग्रहण समारोहमा प्रमुख पदमा निर्वाचित विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र ३२ वटै वडाका वडा अध्यक्षले शपथग्रहण गर्नुभएको हो ।

प्रमुख र उपप्रमुखलाई कामपाको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले र वडा अध्यक्ष र सदस्यहरुलाई प्रमुख शाक्यले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । प्रमुख, उपप्रमुख दुवै जनाले नेपाली र नेपाल भाषामा शपथ लिनुभएको छ ।

कार्यक्रममा प्रमुख शाक्यले निर्वाचनअघि जनतालाई दिएको वचन पूरा गर्नका लागि सबै दलसँग मिलेर काम गर्ने बताउनुभएको छ । उहाँले सुन्दर, समृद्ध र जीवित महानगर स्थापित गर्नु नै आफ्नो कार्यकालको प्रमुख काम रहेको बताउँदै महानगरलाई हेर्नलायक मात्र होइन, बस्नलायक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपप्रमुख खड्गीले राजधानीलाई बस्नयोग्य बनाउनु आफ्नो पहिलो कार्य रहेको भन्दै कामपामा रहेका धार्मिक सम्पदाको संरक्षण गरी पर्यटकीयस्थल बनाउन सबै नगरवासीसँगको सहकार्य निरन्तर आवश्यक पर्नेमा जोड दिनुभयो ।

कामपाको मुख्य निर्वाचन अधिकृत अधिकारीले निर्वाचनको अवधिभर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै नवनिर्वाचित जनप्रतिनिधिलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।

कामपाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगरवासीको सुन्दर सपना पूरा गर्नका लागि नगरवासीले जनप्रतिनिधि चुनेको हुनाले सोहीअनुरुप कार्य गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

नवनिर्वाचित प्रमुख उपप्रमुखले आजै पदभार ग्रहण गर्नुहुने छ र त्यसपछि नगरसभाको पहिलो बैठक बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री