बढ्दो हवाई दुर्घटनाप्रति उपराष्ट्रपति चिन्तित

उपराष्ट्रपति नन्दबहादुर पुन । तस्बिर ः प्रदीपराज वन्त,रासस

काठमाडौँ, १६ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले बढ्दो हवाई दुर्घटनाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले आज बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाका विमान दुर्घटना हुँदा ज्यान गुमाउनुभएका पाइलट महासेनानी कैलाश गुरुङ र शनिबार सोलुखुम्बुका लुक्ला विमानस्थलमा गोमा एयरको कार्गो विमान दुर्घटना हुँदा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सो चिन्ता व्यक्त गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जारी गर्नुभएको प्रेस नोटमा उल्लेख छ ।

उपराष्ट्रपतिले हवाई दुर्घटनामा ज्यान गुमाउनुभएका शोकाकुल परिवारजनमा गहिरो समवेदना र दुवै दुर्घटनामा घाइते हुनेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले नेपाली हवाई यात्रालाई सुरक्षित बनाउनेतर्फ ध्यान दिन सरकार र सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभयो ।

विमान दुर्घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसले बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको एनए ४८ स्काई प्लग जहाज आज दुर्घटनामा परी विमान चालकको मृत्यु र दुई जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

सभापति शेरबहादुर देउवाले घटनामा परी दिवङ्गत हुनुभएका विमान चालक कैलाश गुरुङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको काँग्रेस पार्टी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइको छ ।

साथै काँग्रेसले दाङ लमही निवासी पार्टीका क्रियाशील सदस्य, साहित्यकार एवम् पत्रकार मेदिनीकुमार केवल ‘तिवारी’ को निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

दार्जिलिङ र सिक्किममा आयोजना हुन लागेको साहित्यसम्बन्धी कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने क्रममा शनिबार उहाँको ६० वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो । स्व केवलले नेपाली जनसम्पर्क समिति भारतको विभिन्न पदमा रहेर कार्य समेत गर्नु भएको थियो । नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापना तथा लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय केवलले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री