गोर्खा कपको १५ औं संस्करण बन्यो रोमाञ्चक


लन्डन । बेलायतमा नेपालीको सबैभन्दा ठूलो इभेन्ट ठानिने गोर्खा कप आइतबार हजारौं दर्शक सहभागितामा सम्पन्न भएको छ । अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा सम्पन्न तमुधिं यूकेको १५ औं संस्करणमा युथ तर्फ मंगोलियन भान्जा (एमबीजेड) ले गोर्खा कप उपाधि जित्यो भने रनर अप ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भयो । भेट्रानतर्फ एफसी केन्ट वीनर र इलाम एफसी रनरअप बने । युथ विजेता टोलीले २००० पाउन्ड, उपविजेताले १००० पाउन्ड, भेट्रान्सतर्फ विजेताले १००० पाउन्ड र उपविजेताले ७०० पाउन्ड र ट्रफी पाए ।

आयोजककै भनाइमा करिब दश हजार दर्शक सहभागी उक्त प्रतियोगितामा युथ टिमबाट टप गोल स्कोरर भए एमबीजेडका बहार लक्सम्बा र म्यान अफ द म्याच एमबीजेडकै बिमल बलाल भए । त्यसैगरि, भेट्रानतर्फ टप गोल स्कोरर इलाम एफसीका दुर्गा राई र म्यान अफ द म्याच एफसी केन्टका गुप्ता चेम्जोङ बने । विजेता खेलाडीहरुलाई राजदूत डा. दुर्गाबहादुर सुवेदी, युवा व्यवसायी एवं समाजसेवी रवि लामिछाने, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक राजु शाक्य, रसमोर बरो काउन्सिल मेयर सोफिया 
चौधरी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

गोर्खा कपमा ३२ युथ र ८ भेट्रान टिमले प्रतिष्पर्धा गरेका थिए । गोर्खा कपमा भाग लिन हङकङ र बेल्जियमबाट समेत टिम आइपुगे ।

खेल हेर्न भन्दा साथीभाइ, आफन्त भेटघाट र प्रेमी प्रेमिकाको हकमा डेटिङ स्पट झैं बन्ने गोर्खा कपमा यसपटक इंग्ल्यान्डका पूर्व राष्ट्रिय खेलाडी एवं टोटेनहाम हट स्परका पूर्व क्याप्टेन लेड्ली किङ र नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक राजु शाक्य मुख्य आकर्षण बने । टोटेनहामका किङ मानिने लेड्लीलाई कार्यक्रम अवधिभर दर्शकले घेरिरहे, अटोग्राफ र तस्बिर खिचाउनेको कमी रहेन । आयोजक तमुधिं यूकेले बेलायती पूर्व फुटबलर लेड्लीलाई पन्चे बाजा, पाइपर धुन र खादाले विशेष सम्मान दियो । लेड्ली र नेपालका प्रशिक्षक शाक्यले पनि मायाको चिनो सांटे । संक्षिप्त मन्तव्यका क्रममा बेलायत र नेपालका गौरव लेड्ली र शाक्यले दर्शक र आयोजकको माया एवं सम्मानप्रति आभार व्यक्त गरे । ढाका टोपीमा सजिएका लेड्लीले मैदानबाटै आफू नेपाल जाने उद्घोष गरे ।

यस पटक गोर्खा कपमा इंग्ल्यान्डको प्रिमियर लिगको उपविजेता क्लव टोटेनहाम हट स्परले आफ्नो स्टल नै राखेर विभिन्न सामान विक्री अनि खेल अभ्यास गराएको थियो ।

झण्डै ४० हजार पाउन्ड बजेटको गोर्खा कपमा च्यारिटी, खाना र अन्य विभिन्न व्यापारिक स्टल थिए ।

पुरस्कार वितरण समारोहमा विशेष अतिथी राजदूत डा. सुवेदीले विजयी खेलाडीहरुलाई बधाइ दिंदै यस्तो प्रतियोगिताले नेपालीबीच एकता र स्थानीय समुदायबीच समायोजन हुन विशेष भूमिका निर्वाह गर्ने बताए । प्रमुख अतिथी रसमोर मेयर सोफिया चौधरीले आफ्नो बरोमा विशाल कार्यक्रम हुंदा खुशी भएको बताउंदै आयोजक र खेलाडीलाई बधाइ दिइन् । तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले बेलायतमा रहेका युवाहरुलाई खेलका माध्यमबाट एकत्रित गर्ने संस्थाको उद्देश्य रहेको बताए ।

औपचारिक कार्यक्रम महासचिव कृष्ण गुरुङले चलाएका थिए । उक्त अवसरमा म्यानचेस्टर बम हमलामा दिवगंत हुनेहरुको सम्झनामा एक मिनट मौनधारण गरिएको थियो ।

गोर्खा कपको संयोजक थिए क्याप्टेन पीताम्बर गुरुङ । कार्यक्रममा लन्डनस्थित नेपाली दूतावास परिवार, एनआरएनए यूकेसहित विभिन्न संघसंस्थाका प्रतिनिधि, टोटेनहाम हटस्परका पिआर म्यानेजर टोनी स्टेभेन, ब्रेन्ट काउन्सिल लिडर मोहम्मद बट, रसमोर बरो काउन्सिल लिडर काउन्सिलर डेभिड क्लीफोर्ड, ब्रिटिस आर्मी अफिसर लगायतको उपस्थिति थियो । उक्त अवसरमा गोर्खाले खुकुरी डान्स र सयपत्री कल्चरल ग्रुपले पनि नाच देखायो ।

बेलायतको नेपाली समुदायमा तमुधिं यूकेको आफ्नै प्रतिष्ठा छ । जातीय संस्थाबाट माथि उठेर नेपाली समुदायको हितमा समेत काम गर्ने उक्त संस्थाले आइतबार त्यो विशाल भिडमा पनि अतिथीहरुलाई विशेष आतिथ्य प्रदान गर्यो । पुरै कार्यसमिति र आमा समूहका दिदी बहिनी अतिथीहरुको स्वागतमा दिनभर जुटिरहे । मिडिया सेक्रेटरी रोहित गुरुङले मिडियाकर्मीहरुलाई नियमित सूचना प्रदान गरिरहेका थिए ।

सबै तस्विरः मिलन तमु

प्रतिक्रिया

सम्बन्धित सामाग्री