२८१ स्थानीय तहको मतगणना पूरा

काठमाडौँ, १४ जेठ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट १३ हजार १६० प्रतिनिधि निर्वाचित भएका छन् ।

कान्तिपथस्थित निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट प्राप्त जानकारीअनुसार, २८३ वटा स्थानीय तहमध्ये २८१ को मत गणना कार्य सम्पन्न भई उम्मेदवारको विवरण प्राप्त भएको छ ।

अब चितवनको भरतपुर महानगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाको विवरण आयोगलाई प्राप्त हुन बाँकी रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

पछिल्लो विवरणअनुसार, नगरप्रमुख-अध्यक्ष २८१, उपप्रमुख-उपाध्यक्ष २८१, वडाध्यक्ष दुई हजार ५५१, वडा सदस्य पाँच हजार ९८, महिला सदस्य दुई हजार ५४७ र दलित महिला सदस्य दुई हजार ४०२ जना निर्वाचित हुनुभएको छ ।

जेठ २८ बाट मतदाता परिचयपत्र 

यसैबीच, स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रयोजनका लागि यही जेठ २८, २९ र ३० गते मतदातालाई सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण कार्यक्रम रहेको आयोगले जनाएको छ ।

मतदाता आफैँ आफूले मतदान गर्ने मतदान केन्द्रमा उपस्थित भई परिचयपत्र लिनसक्ने व्यवस्था गरिएको जनाउँदै आयोगले यदि आफैँ उपस्थित हुन नसक्ने अवस्थामा परिवारका सदस्य हो भन्ने यकिन भएपछि परिवारका सदस्यले समेत आफ्नो परिवारका सदस्यको मतदाता परिचयपत्र बुझिलिनसक्ने व्यवस्था गरिएको जनाएको छ ।

आयोगका प्रवक्ता शर्माका अनुसार मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन ती दिनमा मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता परिचालन गरी परिचयपत्र लिन आउनेलाई सही तरिकाले मतदान गर्ने तरिका सिकाउने व्यवस्था मिलाएको छ ।

यसका लागि नमुना मतपत्रको व्यवस्था गरी मत सङ्केत गर्ने तरिका सिकाउनुका साथै मतदातालाई सक्कली मतपत्रका बारेमा समेत अग्रिम जानकारी होस् भनी मतदान केन्द्रमा सक्कली मतपत्रसमेत अवलोकनका लागि राखिने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री