काठमाडौँ, ११ जेठ । मधेसकेन्द्रित प्रमुख तीन दलले स्थानीय तहको निर्वाचनमा साझेदारी गर्नेबारे बहस सुरु गरेका छन् ।
आगामी जेठ ३१ मा हुने स्थानीय तहको निर्वाचनमा कसरी सहकार्य गरेर जाने भन्नेबारे राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल लोकतान्त्रिक फोरम र सङ्घीय समाजवादी फोरम नेपालबीच आज छलफल भएको हो ।
भक्तपुरको सानोठिमीस्थित राजपा नेता महन्थ ठाकुरको निवासमा आज अबेरसम्म भएको तीन शीर्ष नेताको छलफलले कुनै निष्कर्ष भने निकालेन ।
बुझिएअनुसार स्थानीय तहको निर्वाचनमा साझेदारी गर्न तयार रहेपनि राजपाको निर्वाचन चिह्न नभएकाले आवश्यक पहल गर्नेबारे कुराकानी भएको थियो । निर्वाचन र सङ्घर्षका कार्यक्रमलाई सँगै अघि बढाउनेबारे पनि नेताहरुबीच बहस चलेको थियो ।
तथापि, राजपाका नेताबीच नै निर्वाचनमा सहभागी हुने नहुनेबारे मतान्तर रहेकाले सहमति जुट्न कठिन भएको छ ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजबादी फोरमले पहिलो चरणको निर्वाचनमा नयाँ शक्ति पार्टीसँग साझेदारी गरिसकेको छ भने नेपाल लोकतान्त्रिक फोरमले पनि निर्वाचनमा भाग लिएको थियो ।
यी दुवै पार्टी दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेछन् । यता राजपाभित्र पनि निर्वाचनमा सहभागी हुनुपर्ने दबाब बढेको छ । निर्वाचनबारे सकारात्मक देखिएका राजपा अध्यक्ष ठाकुरले मधेसकेन्द्रित शक्तिबीच सहकार्यका लागि नेता यादव र विजयकुमार गच्छदारसँग परामर्श गर्नुभएको हो ।
यसअघि, राजपाको बिजुलीबजारस्थित कार्यालयमा दिउँसो बसेको बैठकले दुई पार्टीसँग कसरी साझेदारी अघि बढाउने भन्नेबारे छलफल गरेको थियो ।
यद्यपि, उक्त बैठक पनि निष्कर्षविहीन बनेको थियो । त्यहाँ निर्वाचन र सङ्घर्ष कसरी लैजाने भन्नेबारे छलफल भएको राजपाका नेता केशव झाले बताउनुभयो । निर्वाचनमा जानेबारे बैठकमा अध्यक्ष मण्डलका छजना सदस्यबीच मत बाझिएको थियो । धेरैजना निर्वाचनका पक्षमा रहेको बताइएको छ ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग