काँग्रेसले प्रदेश एक र सातका उम्मेदवार टुङ्गो शुक्रबारसम्म लगाउने

congress meeting

नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बिहीबार पदाधिकारी बैठकमा सहभागी हुँदै सभापति शेरबहादुर देउवासहित नेताहरु । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, ११ जेठ । नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं एक र सातका उम्मेदवारको टुङ्गो शुक्रबारसम्म लगाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा आज बसेको पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी एवम् वरिष्ठ नेताको बैठकले यस्तो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।

प्रदेश नं दुई र पाँचका विषयमा छलफल गर्न शुक्रबार फेरि पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताको बैठक बस्ने उहाँले बताउनुभयो । काँग्रेसले निर्वाचन क्षेत्रीय कार्य समितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्याउने अधिकार दिएको छ । क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्य समितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्य समितिमा आउने व्यवस्था गरेको छ ।

केन्द्रीय समितिमा आएका विषयमा पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताको समूहले निर्णय गर्ने गरेको छ । आजको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायतका नेताको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री