जेनेभा महासभामा स्वास्थ्यमन्त्री गगन थापा

जेनेभा, १० जेठ । स्विट्जरल्याण्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य सङ्गठनको ७०औँ महासभामा नेपालका तर्फबाट सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गगन थापाले हरेक महादेशका क्षेत्रीय निकायसँग सङ्गठनले सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “क्षेत्रीयस्तरमा काम गर्दा स्वास्थ्य क्षेत्रका कामलाई फलदायी बनाउन सकिन्छ । कुनै पनि देशको स्रोतसाधनको अधिकतम उपयोग गर्न र दीर्घकालीन निर्णयलाई प्रभावकारी बनाउन क्षेत्रीय निकायको भूमिका महत्वपूर्ण हुन्छ ।”

सङ्गठन र अन्य सहयोगी संस्थासँगको सम्बन्ध लिने र दिनेको मात्र भएकाले यसलाई प्राविधिक विषयमा मात्र सीमित बनाउन नहुने उहाँको आग्रह थियो । स्वास्थ्यमन्त्री थापाले सङ्गठनले क्षेत्रीय निकायसँग सहकार्य गरी औषधिको मूल्य घटाउन काम गर्न पर्ने सुझाव पनि दिनुभयो ।

उहाँले भन्नुभयो – “अहिलेको ठूलो समस्या भनेको महङ्गो औषधि हो, स्वास्थ्य क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न यसको मूल्य नघटाई हुन्न । नेपालमा आम व्यक्तिले गर्ने खर्चमध्ये ६७ प्रतिशत रकम औषधिमा खर्च हुने गरेको छ ।”

सङ्गठनले सार्क, आसियान, अफ्रिकन युनियनजस्ता निकायसँग सहकार्य गरी यसबारेमा काम गर्नुपर्ने टड्कारो आवश्यकता रहेको र औषधिको मूल्य नघटाउँदासम्म स्वास्थ्यमा गरिब जनताको समान पहुँच पुरयाउन नसकिने मन्त्री थापाको भनाइ छ ।

उहाँले पाँचवर्षे कार्यकालका लागि निर्वाचित हुनुभएका सङ्गठनका महानिर्देशक डा टेन्ड्रोस अधानोमको सफल कार्यकालका लागि शुभकामना पनि दिनुभयो ।

मङ्गलबार राति १९४ सदस्य देशको विभिन्न चरणको मतदानबाट निर्वाचित डा टेन्ड्रोसले मन्त्री थापासँगको भेटमा मिलेर काम गर्ने बताउनुभएको थियो । मन्त्री थापाले उहाँलाई नेपाल भ्रमणको निम्तो दिनुभएकामा उहाँले नेपाल भ्रमणमा आउने इच्छा प्रकट गर्नुभएको थियो । उहाँले आगामी जुलाइबाट आफ्नो कार्यकाल सम्हाल्नु हुनेछ । महासभा जेठ १७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री