काठमाडौँ, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्ना माग पूरा नभएसम्म व्यवस्थापिका–संसद् बैठक अवरुद्ध गर्ने भनेपछि आजको संसद् बैठक सूचना टाँस गरी स्थगित गरिएको छ ।
एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता लिनुपर्ने र सरकारले संविधान विपरीत स्थानीय तहको सङ्ख्या बढाएको भन्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । सरकारले मधेस केन्द्रित दलको माग पूरा गर्न यही जेठ ८ गते स्थानीय तहको सङ्ख्या वृद्धि गरेको थियो ।
आज बिहान ११ बजेका लागि निर्धारित बैठक सुचारु गर्ने सम्बन्धमा प्रमुख दलबीच सहमतिको प्रयास सफल नभएपछि संसद् सचिवालयले विशेष कारण देखाउँदै बैठक स्थगनको सूचना टाँस गरेको थियो ।
संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टीले उठाएका मागका सम्बन्धमा सत्तापक्षले ठोस जवाफ दिन नसकेको बताउनुभयो । प्रमुख प्रतिपक्षको सहमति बिना संविधान विपरीत एकलौटी रुपमा स्थानीय तहको सङ्ख्या बढाएकोप्रति आपत्ति जनाउँदै उहाँले भन्नुभयो, “एमलेलाई हराउने गरी एकलौटी रुपमा स्थानीय तह बढाइएको र पुनःसीमाङ्कन गरिएको छ, यस सम्बन्धमा उहाँहरु (सत्तापक्ष) ले ठोस जवाफ दिन सक्नु भएन, जवाफ दिन नसकेपछि सदन बस्नुको अर्थ भएन ।” नेता नेपालले संसद बैठक भोलि ४ बजे बस्ने जानकारी गराउनुभयो ।
सभामुख ओनसरी घर्तीले भोलि जेठ ११ गते अपरान्ह ४ बजे संसद बैठक बस्ने गरी निर्धारण गर्नुभएको छ । साथै राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि नै विशेष समारोहका बीच नेपालको संविधान को धारा ९५ बमोजिम संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जनाएको छ । सरकारले जेठ ७ गते आव २०७४-७५ को नीति तथा कार्यक्रम पारित गरेको थियो ।
संसद् बैठकबाट बाहिरिने क्रममा नेपाली काँग्रेसका नेता डा रामशरण महतले प्रमुख प्रतिपक्षी दल एमालेबाट भएको अवरोधका कारण बैठक बस्न नसकेको जानकारी दिनुभयो । बजेटमाथिको पूर्व छलफल नभई बजेट कसरी अघि आउँछ भन्ने जिज्ञासमा नेता महतले सभामुखले चाहेमा संसद् नियमावलीको केही प्रावधान निलम्बन गरेर पनि ल्याउन सकिन प्रचलन रहेको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विशेष सम्बोधन गर्न नपाउनु मुलुकका लागि दुर्भाग्य हो भन्नुभयो ।
प्रधानमन्त्रीद्वारा देशवासीका नाममा विशेष सम्बोधन
प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट देशवासीको नाममा विशेष सम्बोधन गर्नुहुनेछ ।
प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण आजको संसद् बैठकमा प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री दाहालले मङ्गलबार नै संसद्मा गर्ने भनिएको सम्बोधन संसद् बैठक बस्न नसक्दा अन्तिम समयमा आएर स्थगन भएको थियो ।
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने नेपाली कांग्रेसको निर्णय
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता