कान्तिका नेपालकै पहिलो महिला नगर प्रमुख

जुम्ला, ४ जेठ । चन्दननाथ नगरपालिका जुम्लामा विजयी हुनुभएकी कान्तिका सेजुवाल नेपालकै पहिलो महिला नगर प्रमुख बन्नुभएको छ । लगातार चार दिनसम्म भएको चन्दननाथ नगरपालिकाको मतगणनाको अन्तिम मतपरिणामबाट सेजुवाल प्रमुखमा भारी मतले विजय हुनुभएको हो ।

उहाँले खसेको सात हजार ५१३ मतमध्ये दुई हजार ८०६ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शान्तिलाल महतले दुई हजार ६६ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताउनुभयो ।

त्यसैगरी, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अप्सरादेवी न्यौपाने महतले दुई हजार १८ मत प्राप्त गरी विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका जगतबहादुर खत्रीले एक हजार ७७४ मत ल्याउनुभएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका प्रमुखका उम्मेदवार अशोककुमार श्रेष्ठले दुई हजार १५ मत प्राप्त गर्नुभएको थियो । नेकपा एमालेबाट उपप्रमुखको उम्मेदवारी दिनु भएकी मेनका रेग्मी चौलागाईंले एक हजार ७१० मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री