लन्डन । ८ जुनमा हुने बेलायतको संसदीय निर्वाचनका लागि लेबर पार्टीबाट छानिएका नेपाली मुलका पहिलो उम्मेदवार डा. बच्चुकैलाश कैनी यतिखेर चुनाव प्रचार प्रसारमा जुटेका छन् । गत बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि उनी मतदाता आफूतिर आकर्षित गर्न व्यस्त भएका हुन् । अन्तिम नामावली अनुसार कैनीको क्षेत्र डार्टफोर्डमा लेबर सहित पांच मुख्य पार्टीका र एक जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।
कैनीले आफ्नो निर्वाचन क्षेत्रका निश्चित ठाउंहरु पहिचान गरी घरदैलो अभियान थालिएको जनाए । पहिलो दिन शनिबार र आइतबार करिब २५ जना लेबर पार्टीका सदस्य, पदाधिकारी र स्वयंसेवक उनीसंगै घर दैलोमा व्यस्त रहे ।
कैनीले पोष्टर, पम्प्लेट, लिफ्लेट लगायत सामाग्री छपाइको अन्तिम चरणमा रहेको बताए । डार्टफोर्ड निर्वाचन क्षेत्रमा करिब ४१ हजार घरधुरीमा रहेका ७५ हजार मतदाता समक्ष चुनाव प्रचार प्रसार सामाग्री र आफ्नो लिफलेट पोष्टबाट पुरयाउने व्यवस्था उनले मिलाएका छन् । आगामी सातासम्म पोष्टबाट घर घरमा प्रचार सामाग्री पुगिसक्ने उनको विश्वास छ ।
लेबर पार्टीका सदस्य र स्थानीय मतदाताहरुलाई फोन बाट सम्पर्क गरेर मत दिन अनुरोध गर्ने उनले सोचेका छन् । यो कार्यक्रम चुनावको दिनसम्म निरन्तर चल्नेछ । त्यसैगरि चुनाव प्रचार गर्न रेलवे स्टेसन, अस्पताल, पार्क, विद्यालय, क्लब आदि भ्रमण गरी मतदातासंग अन्तरक्रिया गर्ने पनि उनको कार्यक्रम छ ।
सबै नेपाली समुदायको सहभागितामा मे २७ र २८ तारिख एवं जुन ३ र ४ तारिखका दिन लिफलेट बांड्ने उनले बताए । चुनावका दिन जुन ८ मा उल्लेख्य स्वयंसेवक र पार्टी सदस्यहरु सहभागी गराई हरेक मतदातालाई भोट हाल्न अनुरोध गरिने कैनीले बताए ।
कैनीले आफ्नो निर्वाचन क्षेत्रमा विशेष गरी अस्पताल र स्कुलमा भएको बजेट कटौतीको असर कम गर्दै सेवा सुधार गर्ने, स्थानीय स्तरमा पूर्वाधार निर्माणलाई तीव्रता दिने, वायु प्रदुषण न्यूनीकरण योजना ल्याउने, सडक जाम हटाउन काम गर्ने, स्थानीय टाउन सेन्टर आकर्षक बनाउने, व्यापार ब्यवसायका लागि आकर्षक योजना ल्याउने आदि मुख्य चुनावी मुद्दा अघि सारेका छन् ।
सत्तारुढ कन्जरभेटिभको पकड क्षेत्रबाट लडेका कैनीलाई चुनाव जितिनेमा पूर्ण विश्वास छ । ‘चुनाव जित्न पक्कै चुनौतीपूर्ण छ तर असम्भव छैन् । म चुनाव जित्ने कुरामा विश्वस्त छु’, उनले भने, ‘मेरो चुनाव जित्ने आधार भनेको मैले केहि वर्षदेखि स्थानीय निकायमा रहेर गरेको काम, स्थानीय जनतासंग घुलमेल हुन सक्ने क्षमता, स्वास्थ्य र शिक्षा क्षेत्रमा मेरो विशेष अनुभव र कार्यकर्ता परिचालन हो ।’
चुनावका लागि कम्तीमा दुई तीन हप्ता छुट्टी लिने उनको योजना छ । यदि उनले चुनाव जिते भने अर्को दिन देखि संसद भवन छिर्छन् नत्र हारेको खण्डमा चुनावपछि फेरि जागिरमा फर्कने उनले सुनाए ।
संसदीय चुनाव प्रचारका लागि नेपालमा भाषण गर्ने प्रचलन हुन्छ । तर, बेलायतमा शान्त वातावरणमा हल्ला नगरी चुनाव गरिन्छ । कुनै सार्वजनिक ठाउंमा पोष्टर पम्प्लेट राख्न मनाही हुन्छ । कसैलाई आफ्नो घरमा पम्प्लेट राख्न भने छुट छ ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान