स्थानीय तहको निर्वाचनका लागि आइतबार काठमाडौको बसन्तपुरस्थित मतदान केन्द्रबाट मतदानमा लामबद्ध मतदाता । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३१ वैशाख । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि ऐतिहासिक एवम् पहिलो स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान ७ बजेदेखि सुरु भएको छ ।
लामो प्रतीक्षा, धैर्यता र व्यग्रतापछि आम मतदाताले आफूले मन पराएका आफ्ना घर आँगनमा उम्मेदवारलाई स्थानीय सरकारको नेतृत्वमा पुरयाउन मतदान गर्दैछन् । विसं २०५९ पछि स्थानीय निकाय जनप्रतिनिधिविहीन छ । मतदाताहरु अधिकांश मतदान केन्द्रमा झिसमिसेदेखि नै उत्साहका साथ मतदानका लागि प्रतीक्षारत देखिन्थे ।
प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २८३ स्थानीय तहमा छ हजार ६४२ मतदान केन्द्रमा ४९ लाख ५६ हजार ९२५ मतदाताले मतदान गर्नेछन् । मतदान साँझ ५ बजेसम्म हुनेछ ।
अधिकार सम्पन्न स्थानीय सरकार चयन गर्न मतदाता उत्साहपूर्वक मतदानका लागि लामबद्ध छन् । निर्वाचनले सिंहदरबारमा केन्द्रित अधिकार स्थानीय तहमा वैधानिक रुपमा हस्तान्तरण हुनेछ ।
काठमाडौ महानगरपालिकाको शीतलनिवास–३ स्थित मतदान केन्द्रबाट मतदान गर्दैे स्वतन्त्रमा मेयर पदका उम्मेदवार रन्जु न्यौपाने । तस्बिर ः रोशन सापकोटा, रासस
यस निर्वाचनअन्तर्गत गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, दुई खुला वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य निर्वाचन हुनेछन् ।
निर्वाचन गोप्य मतदानको प्रक्रियाद्वारा एक पद एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणालीमा भएको हो । निर्वाचन चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका प्रमुख उपप्रमुख तथा १८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि हुँदैछ । निर्वाचनबाट कुल दुई हजार ५९८ वडामा पाँचजनाका दरले १३ हजार ५५६ प्रतिनिधि निर्वाचित हुनेछन् ।
निर्वाचनमा कुल ४९ हजार ३३७ उम्मेदवार चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रेका छन् । निर्वाचनमा १६० महिला र १६९ पुरुष गरी ३२९ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । प्रदेश नं १, २, ५ र ७ मा स्थानीय तहको निर्वाचन दोस्रो चरणमा अगामी जेठ ३१ गते हुँदैछ ।
गृहमन्त्रालयका अनुसार पहिलो चरणको निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र अनुसन्धान प्रहरी गरी जम्मा ६४ हजार प्रहरी परिचालन गरिएको छ । यसबाहेक नेपाली सेनाले पहिलो चरणको निर्वाचनको सुरक्षाका लागि करिब ३१ हजार सेना खटाएको छ भने काठमाडौँ, हेटौँडा, पोखरा र सुर्खेतमा निर्वाचनका लागि हेलिकप्टर तयारी अवस्थामा राखेको जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार भरतपुर महानगरपालिका–४ लक्ष्मी मावि मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर ः नारायण अधिकारी, चितवन, रासस
चितवन, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट मतदान गर्नुभएको छ ।
उहाँले भरतपुर महानगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।
मतदान गर्न प्रधानमन्त्री दाहाल शनिबार नै चितवन जानुभएको थियो ।
काठमाडौँ, ३१ वैशाख । काठमाडाँै महागरपालिका–११ की जानुका तिवारी २० वर्षपछि स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि छान्न पाएकामा खुसी हुनभएको छ ।
स्थानीय तह स्थानीय सरकार भएकाले जनप्रतिनिधि चुनिएपछि विकासनिर्माणको काम अघि बढ्ने विश्वास उहाँ राख्नुहुन्छ । बबरमहलस्थित नेपाल टेलिकमको मतदान केन्द्रमा मतदान गर्नुभएकी उहाँ आफूले हालेको मतको सदुपयोग होस् भन्न चाहनुहुन्छ । ‘‘यसअघि पनि स्थानीय निकायमा मतदान गरेको थिएँ’’उहाँ भन्नुहुन्छ, ‘‘तर त्यति बेला सुदपयोग भएन तर अब भने जननिर्वाचित प्रतिनिधिले जनादेश सदुपयोग गरेर विकास निर्माणमा ध्यान दिनुपर्छ ।’’
यस्तै पहिलोपटक स्थानीय निर्वाचनमा मतदान गर्नुभएका बुद्धनगरका राजन बुर्लाकोटी पनि आफूले हालेको मत सदुपयोग हुने होस् भन्न चाहानुहुन्छ । स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने भएकाले जनप्रतिनिधिले यहाँको विकासनिर्माण गर्नुपर्ने बताउँछन । उहाँले अहिलेको निर्वाचन संविधान कार्यान्वयन गर्ने परिदृश्यका रुपमा समेत रहेको औल्याउँदै राजनीतिक दलले २० वर्ष नभई प्रत्येक पाँच पाँच वर्षमा स्थानीय तहको निर्वाचन गरेर स्थानीय तहको विकास निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।
यसैगरी ८५ वर्षीय भक्तबहादुर महर्जन स्थानीय निर्वाचनमा दलभन्दा पनि स्थानीय विकास गर्ने व्यक्तिलाई मतदान गरिएको बताउनुहुन्छ । ‘‘स्थानीय निर्वाचनमा दलभन्दा व्यक्ति हेर्ने हो’’, उहाँले भन्नुभयो, ‘‘त्यसले टोलको विकास गर्नसक्ने व्यक्तिलाई भोट दिएँ ।’’
उहाँ यसअघि मतदान गरे पनि जनप्रतिनिधिले भनेजस्तो सदुपयोग गर्न नसकेको भन्दै यस पटक भने आफूले हालेको मत सदुपयोग हुनेमा आशावादी हुनुहुन्छ ।
तनहुँको सत्यवादी मावि मतदान केन्द्रमा आइतबार स्थानीय तहको निर्वाचनको लागि मतदान गर्न लामबद्ध मतदाता । तस्बिर ः सूर्यचन्द्र बस्नेत, रासस
उत्साहका साथ निर्वाचनमा होमिए मतदाता
रत्ननगर (चितवन), ३१ वैशाख । झन्डै दुई दशकदेखिको स्थानीय निर्वाचनमा मतदान गर्न पाउने प्रतीक्षाको घडी आज समाप्त भएको छ ।
लामो समयदेखि स्थानीय तहको निर्वाचन नहुँदा वाक्क बनेका मतदाता आज निर्वाचनमा सहभागी हुन पाउँदा छुट्टै उत्साहित थिए । आज बिहान ६ नबज्दै उत्साहका साथ भोट हाल्न मतदान केन्द्रमा आइपुगे मतदाता ।
बिहान ४ बजेदेखि नै मतदाताहरु लाइनमा बसे । भरतपुरकी सुमित्रा श्रेष्ठ नारायणी माविको मतदान केन्द्रमा उत्साह बोकेर लाइनको अगाडि बस्नुभएको छ । “पहिला ३ बजे आ’थेँ, यसपालि ४ बजे, उहाँले भन्नुभयो ।”
अर्का मतदाता बाबुराम श्रेष्ठ पनि बिहान ४ बजेदेखि लाइनमै हुनुहुन्छ । “धेरै वर्षपछि आएको चुनाव भोट त हाल्नै प¥यो नि, श्रेष्ठले भन्नुभयो – म धेरै खुसी छु, अब विकास गर्ने नेता छानेर भोट हाल्छु ।”
उहाँहरुजस्तै यहाँ भोट हाल्ने मतदाताको लाइन लामो भइसकेको छ । यो ऐतिहासिक अवसर गुमाउन चाहँदैनन् भन्ने कुरा आज चितवनको भरतपुरस्थित नारायणी नमुना उच्च माविको मतदान केन्द्रमा भोटहाल्न सहभागी भएका मतदाताबाट देखिन्थ्यो ।
केटाकेटीहरु रमाइलो हेर्न आएका थिए भने युवा, प्रौढ र वृद्धवृद्धाको राम्रै सहभागिता भयो ।
विगतमा स्थानीय निकायको निर्वाचन हुँदा भर्खर जन्मिएकाहरु पहिलो मतदातामात्रै भएका छैनन् पहिलो उम्मेदवार हुने मौकासमेत पाएका छन् ।
दुई दशकपछि भएको स्थानीय निकायको निर्वाचन आफैँमा महत्वपूर्ण उपलब्धि हो । त्यसमाथि गणतन्त्र स्थापनापछि नयाँ संरचनाअनुसारको निर्वाचन इतिहासकै पहिलो हो ।
मुख्यगरी लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा विकासका कामले फड्को मार्न नसकेको तर्क मतदाताहरुको छ ।
अहिलेको निर्वाचनले जनप्रतिनिधिहरु छानिने र उनीहरुमार्फत गाउँस्तरमै सुशासन कायम हुने र विकासले गति लिने विश्वास रहेको एकजना मतदाता प्रकाश भट्टराई बताउनुहुन्छ ।
पाँचवटा मतदान केन्द्र रहेको नारायणी उच्च मावि मतदानस्थलमा सबै तयारी पूरा भएकाले निर्धारित समयमै मतदान सुरु हुने मतदान अधिकृत कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
काठमाडाँै, ३१ वैशाख । बिहान ७ बजेदेखि सुरु भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ जिल्लामा ४५ प्रतिशत मत खसेको छ ।
जिल्लामा एक महागरपालिका र १० नगरपालिकामा अहिलेसम्म करिब ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराउनुभयो । उहाँले कम मतदाता भएका ठाउँमा पनि ५० प्रतिशतसम्म मतदान खसेको बताउनुभयो । उहाँका अनुसार मतदाताले बिहानदेखि मतदान गर्नका उत्साहपूर्वक लाइनमा बसेर मत खसालिरहेका छन् ।
जिल्लामा कुल छ सय ८७ मतदान केन्द्र छन् । यहाँ कुल पाँच लाख ५९ हजार चार सय मतदाता छन् । आज हुने निर्वाचनले सात सय १२ जनप्रतिनिधि चयन गर्नेछ ।
काठमाडौ महानगरपालिकाको कालीमाटीस्थित जनप्रभात मावि मतदान केन्द्रबाट मतदान गर्दैे नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार सर्वोत्तम डंगोल । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३१ वैशाख । स्थानीय तह निर्वाचनको मतदानको दिन सवारी साधन चलाउन नपाइने नियम मिचेर चलाइएका एक हजार नौ सय ५९ सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
निर्वाचन आयोगले अत्यावश्यक, सवारी अनुमति लिएका र सुरक्षाकर्मीका सवारी साधनबाहेक अन्यलाई आज बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म सवारी साधन चलाउन निधेष गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार प्रहरी निरीक्षक मधुसूदन सिलवालले अपराह्न १ बजेसम्ममा एक हजार आठ सय ३४ मोटरसाइकल, ७६ कार, २८ ट्रक, ८ माइक्रोबस र छ बस नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
आयोगले आचारसंहिता विपरीत सवारी साधान चलाइएको पाइएमा रु २५ हजारसम्म जरिवाना लिन सक्ने व्यवस्था गरेको छ । निषेधित क्षेत्रमा सवारी साधन चलाएमा भने ट्राफिक प्रहरीले रु पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना लिन सक्ने व्यवस्था छ ।