निर्वाचनको पूर्व सन्ध्यामा मतदातालाई नेताहरुको अपिल

स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा नेकपा (एमाले) केन्द्रीय प्रचार विभागले आज पार्टी कार्यालय धूम्रबाराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष केपी शर्मा ओली तथा बरिष्ठ नेताहरु । तस्बिर ः प्रकाश सिलवाल, रासस

काठमाडौँ, ३० वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलि हुने स्थानीय तहको मतदानलाई उल्लासमय पर्वका रुपमा शान्तिपूर्ण तरिकाले सफल बनाउन आह्वान गर्नुभएको छ ।

सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै मुलुक संविधान कार्यान्वयनको ऐतिहासिक चरणमा प्रवेश गरेको अवस्थामा हुन गइरहेको निर्वाचनको नागरिकको अधिकार नागरिककै तहमा पुरयाउन ऐतिहासिक महत्व रहेको उल्लेख गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचन संविधानले परिकल्पना गरेको स्थानीय तह, प्रदेश र केन्द्रीय तहलाई व्यवहारमा नागरिकले अनुभूत गर्न पाउने पहिलो खुड्किला भएको जनाउँदै उहाँले निर्भयका साथ मतदान गर्न पाउने नागरिक अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

“लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सङ्घीय राज्यको परिकल्पना पूरा गर्ने यो महत्वपूर्ण अवसर हो । सुशासन, पारदर्शिता, जवाफदेहिता र जनसहभागिताजस्ता लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई स्थापित गर्दै सुदृढ लोकतन्त्रका पक्षमा यो निर्वाचन कोसेढुङ्गा सावित हुने विश्वास मैले गरेको छु,” – विज्ञप्तिमा उल्लेख छ ।

आमनेपाली नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने र विकासलाई तीव्र गतिमा अघि बढाउने चाहना पूरा गर्न यो निर्वाचन सशक्त साधन रहेको उल्लेख गर्दै सभापति देउवाले निर्वाचनमा सहभागी हुन आममतदाताले देखाएको उत्साह र उमङ्गले लोकतन्त्रको भविष्यलाई थप सुदृढ बनाउन सघाएको विश्वास व्यक्त गर्नुभएको छ ।

स्थानीय तह विकासको आधारशीला भएको बताउँदै उहाँले यस निर्वाचनमा आफ्नो मताधिकारको सदुपयोग गर्न र लोकतन्त्रको सुदृढीकरण अभियानमा सहभागी हुन आमजनतालाई अपिल गर्नुभएको छ ।

आचारसंहिता उलङ्घनका घटना रोक्न एमाले अध्यक्षको आग्रह

काठमाडौँ, ३० वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा भएका आचारसंहिता उलङ्घनका घटनालाई नियन्त्रण गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएको छ ।

आज एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संविधान र कानुनबमोजिम आयोग चल्नुपर्ने र ऊ निरीह भएर बस्न नहुने बताउनुभयो ।

पहिलो र दोस्रो चरणका निर्वाचनबीच आफूहरुको असहमतिबीच एक महिनाको लामो ग्याप हुनु, यसबीचमा बजेट रकमान्तर गरिनु, केही जिल्लामा स्थानीय तहको सङ्ख्या थप्न खोज्नु तथा सरकारका मन्त्री र सत्तारुढ दलका नेताले मतदाता प्रभावित पार्ने जस्ता कार्य तत्काल बन्द गर्न माग गर्नुभयो ।

अध्यक्ष ओलीले निर्वाचनले संविधानको कार्यान्वयन र नवस्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आधारभूत तहसम्म पुरयाउने महत्वपूर्ण कडीको भूमिका खेल्ने एवम् निर्वाचनपश्चात् जनताको स्वशासन सुरुआत हुनेछ भन्ने विश्वास व्यक्त गर्दै उहाँले निर्माणका काम तथा जनताको सेवा सुविधाको पहुँचमा नयाँ गति प्राप्त हुनेछ भन्नुभयो ।

“निर्वाचनलाई निष्पक्ष, भयरहित तथा स्वच्छ वातावरणमा सम्पन्न गराउनु र प्रत्येक मतदाताको मताधिकार र मतको सुरक्षाको प्रत्याभूति गर्नु निर्वाचन आयोग र सरकारको दायित्व हो,” उहाँले भन्नुभयो ।

एमालेले आफ्ना नेता कार्यकर्तालाई लक्षित गरेर स्याङ्जा, नवलपुर, भोजपुर, गोरखा, रसुवा, काभ्रे, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, रामेछापलगायत ठाउँमा हिंसा र आक्रमणका घटना तीव्र पारिएको जनाएको छ ।

“सरकार र सत्ताधारी दलबाट हुनसक्ने अनुचित दबाब र प्रभावबाट मुक्त रहँदै संविधान र कानुनले निर्धारण गरेको कर्तव्य निष्पक्षतापूर्वक सम्पन्न गर्न सबै राष्ट्रसेवक, सुरक्षाकर्मी र राज्यका सबै निकायसँग आग्रह गर्दछौँ,” अध्यक्ष ओलीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ– “लोकतन्त्रमा आफ्ना मान्यताको वैधता परीक्षण गर्ने र तिनमा जनताको अनुमोदन प्राप्त गर्ने उपयुक्त विधि निर्वाचन नै हो । त्यसैले विभिन्न असहमति राखेर निर्वाचन प्रक्रियाभन्दा बाहिर रहेका दललाई पनि दोस्रो चरणको निर्वाचनमा उत्साहसाथ सहभागी हुन अनुरोध गर्दछौँ ।”

एमालेका सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले सत्तारुढ दलका नेता–कार्यकर्ताद्वारा मतदातालाई प्रभावित पार्ने काम भइरहेको आरोप लगाउनुभयो ।

विवेकपूर्वक मतदान गर्न अध्यक्ष थापाको आग्रह

काठमाडौँ, ३० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतको कहालीलाग्दो अवस्थालाई समीक्षा गर्दै पार्टीको निहित स्वार्थभन्दा माथि उठेर राष्ट्रलाई केन्द्रविन्दुमा राखी विवेकपूर्ण ढङ्गले मताधिकारको प्रयोग गर्नुहुन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गर्नुभएको छ ।

आइतबार हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आज गृह नगर हेटौँडाबाट अपिल जारी गर्दै राप्रपा अध्यक्ष थापाले मतदान नागरिकको अधिकार मात्र नभई कर्तव्य पनि भएको जनाउँदै ऐतिहासिक महत्वको यस महान् प्रजातान्त्रिक अभ्यासमा सहभागी हुनुहुने सम्पूर्ण नेपाली मतदातामा शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

विगत २१ वर्षको अवधिमा अवलम्बन गरिएका गलत नीति र त्रुटिपूर्ण मार्गचित्रको परिणामस्वरुप देश अहिले गम्भीर सङ्कटको चक्रब्युहमा फसेको बताउँदै उहाँले यो चुनाव निश्चय पनि सङ्कट समाधानको दिशामा एक महत्वपूर्ण कोसेढुङ्गा र खुड्किलो बन्ने र यसले संविधान कार्यान्वयनलाई अग्रगति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“मुलुकमा न्यूनतम शान्ति, स्थायित्व र प्रजातान्त्रिक वातावरण तयार गर्नसमेत यो चुनावले महत्वपूर्ण योगदान पुरयाउने छ । यो चुनावको सफलताले दोस्रो चरणको चुनावलाई पनि सहज तुल्याउने छ” – उहाँले भन्नुभएको छ ।

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह

आईतबार हुने स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थाबारे गृहमन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिंदै उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, ३० वैशाख । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आइतबार हुने पहिलो चरणको निर्वाचनमा सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हुँदा ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

आज गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मतदान गर्न जाँदा कुनै किसिमको अवरोध उत्पन्न हुन नदिनका लागि नेपाली सेना, सशस्त्र प्रहरीबाट पैदल मार्ग र हवाइगस्तीको समेत प्रबन्ध गरिएको जानकारी दिनुभयो ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रुपमा सम्पन्न गर्नका निमित्त केन्द्रीय तहमा ‘स्थानीय तह निर्वाचन सुरक्षा योजना २०७३-७४’ तयार गरी सो अनुसारको स्थानीय तहमा वास्तविकता समेतलाई विश्लेषण गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समन्वयात्मक र प्रभावकारी रुपमा परिचालन गरिएको गृहमन्त्री निधीले बताउनुभयो ।

निर्वाचनका लागि नेपाली सेनाबाहेक नेपाल प्रहरी २२ हजार ५७५, सशस्त्र प्रहरी १७ हजार ३५६, राष्ट्रिय अनुसन्धान विभागका ३८३ र म्यादी प्रहरी २२ हजार ६०२ जना खटाइएको उहाँले जानकारी दिनुभयो ।

थप पाँच हजार सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको मन्त्री निधीले बताउनुभयो । मत खसाल्ने काम सम्पन्न भएपश्चात् मतपेटिकालाई गणनास्थलसम्म सुरक्षित रुपमा ल्याउनका लागि सुरक्षाकर्मीबाट ‘स्कटिङ’को प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो ।

निर्धक्क भएर मतदान गर्न नेता थापाको आह्वान

काठमाडौँ, ३० वैशाख । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले भोलि हुने स्थानीय तहको मतदानमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गर्नुभएको छ ।

काँग्रेसको प्रचारप्रसार उपसमितिका सहसंयोजक रहनुभएका नेता थापाले आज सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन मतदान गर्ने अधिकारको पूर्ण सदुपयोग गर्न पनि आम मतदातामा आह्वान गर्नुभयो ।

कुनै पार्टीका कार्यकर्ताले वाणिज्यमन्त्री रोमी गौचन थकाली र आफ्ना बारेमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको मिथ्या आरोप लगाएको सम्बन्धमा स्पष्ट पार्दै नेता थापाले भन्नुभयो – “निर्वाचन आयोगको निर्णयअनुसार तोकिएको समयमा मन्त्रीहरुले तोकिएबमोजिमको मात्रै काम गरेको हो ।”

स्वास्थ्यमन्त्रीसमेत रहनुभएका थापाले भन्नुभयो– “मौन अवधिमा मन्त्रीहरुले पनि सरकारी सुविधाको प्रयोग नगरी अन्य नेताहरु जस्तै अनौपचारिक भेटघाट र छलफल गर्न पाउने अधिकार निर्वाचन आयोगले दिएको हो ।”

आफूहरुमाथि लागेको आरोप पुष्टि गर्न चुनौती दिँदै उहाँले आचारसंहिता विपरीत आफूहरुमाथि हुलहुज्जत भएको भनेर काँग्रेसले नै त्यस्ता व्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी गरेको जानकारी दिनुभयो ।

“आफूहरुको तर्फबाट कुनै आचारसंहिता उल्लङ्घन भएको भए जुनसुकै कारबाही सामना गर्न तयार छौँ” – उहाँले भन्नुभयो । निर्वाचन परिणामको पूर्वानुमानका आधारमा हतास र निराश मानसिकतामा रहेका दलका कार्यकर्ताले आज बिहान काठमाडौँको कपनमा आफूमाथि दुव्र्यवहार गरेको उहाँको टिप्पणी थियो ।

उहाँले आइतबार हुने मतदानमा कसैबाट पनि प्रभावित नभई मतदान गर्न र कुनै पनि पार्टीका साथीहरुलाई संयमता नगुमाउनसमेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री