चुनावअघि कतै बम, कतै हतियार प्रदर्शन

 

वालिङ, २९ वैशाख । स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवारको घरमा आज बिहानै बम फेला परेको छ ।

गल्याङ प्रहरी चौकीका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेकाअनुसार आज बिहान प्रमुख पदका उम्मेदवार लालगोपाल अर्यालको घरको बरन्डामा एउटा बम फेला परेको हो ।

प्लास्टिकले बेरिएको अवस्थामा बम देखेपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले केहीछिन अघि निष्क्रिय पारेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो ।

प्रमुख पदका उम्मेदारको घरमा बम फेला परेपछि स्थानीयवासी त्रसित भएका छन् भने प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । रासस

सिलिन्डर बम विस्फोट, दुईवटा घरमा क्षति

भक्तपुर, २९ वैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा अज्ञात समूहले आज विहान सिलिन्डर बम विस्फोट गराएको छ ।

दुवाकोटको काठमाडाँै मेडिकल कलेजनजिकै राप्रपाका नेता माधव खत्रीको घरअगाडि विहान करिब ३ बजे ठूलो आवाज आउने गरी सिलिन्डर बम विस्फोट भएको खत्रीले जानकारी दिनुभएको छ ।

बम विस्फोट हुँदा खत्रीको घरका आठवटा झ्यालको सिसा र पुष्प प्रधानाङ्गको घरको चारवटा झ्यालको सिसा फुटेको महानगरीय प्रहरी वृत्त, थिमिले जानकारी दिएको छ ।

घटनाको प्रहरीले अनुसन्धान सुरु गरी घटनामा संलग्नको खोजी सुरु गरेको प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिनुभयो । यसअघि बुधबार राति १२ बजे लोकन्थलीमा पनि सिलिन्डर बम विस्फोट गराउने तयारी गरेको थाहा भएपछि नेपाली सेनाको टोलीले निष्क्रिय गरेको थियो ।

उम्मेदवारका घरमा बम, सुरक्षा चुनौती थपिँदै

नवलपरासी, २९ वैशाख । नवलपरासीमा उम्मेदवारको घरघरमा बम भेटिन थालेपछि स्थानीय निर्वाचनका लागि सुरक्षा चुनौती थपिँदै गएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवारदेखि सार्वजनिकस्थल सम्ममा बम फेला पर्ने क्रम बढेपछि सुरक्षा संवेदनशिलताप्रति ध्यान दिन यहाँका सुरक्षा निकाय थप चनाखो हुनुपर्ने आवश्यकता देखिएको हो ।

नवलपरासीमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले विभिन्न उम्मेदवारलाई लक्षित गरी विभिन्न किसिमका बम राख्ने गरेको पाइएको छ । पछिल्लो समय दुई दिनयता पहिलो चरणको स्थानीय निकायको निर्वाचन हुने नवलपरासीको नवलपुर क्षेत्रमा उम्मेदवारलाई लक्षित गरी बम राखेको पाइएको हो ।

उम्मेदवारको घर–आँगनदेखि सार्वजनिकस्थलमा बम फेला पर्ने गरेका छन् । यद्यपि हालसम्म सो बमबाट मानवीय क्षति भने भएको छैन । नेपाली सेनाको टोलीले फेला परेका बमलाई डिस्पोज गर्दै आएको छ ।

यसैगरी, नवलपरासीको कावासोती नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेका महेन्द्र पोखरेलको घरमा बिहीबार राति बम फेला परेको थियो । सो बमलाई गएराति नै नेपाली सेनाको टोलीले निष्क्रिय गरेको हो ।

यस्तै, कावासोती–३ स्थित पुरानो कावासोती चोकनजिक सार्वजनिकस्थलमा बिहीबार साँझ बम पड्किएको थियो । सार्वजनिकस्थलमा नेपाली काँग्रेसले गरेको सभालाई लक्षित गरी राखिएको बम पड्किए पनि यसबाट मानवीय क्षति भने भएन ।

यसैगरी बिहीबार नै गँैडाकोट नगरपालिकामा पनि नेकपा (माओवादी केन्द्र)का तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार बन्नुभएका दुर्गादत्त ढुङ्गानाको घरनजिकै बिहीबार नै बम फेला परेको थियो । सो बमलाई पनि नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । कावासोती नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेका दासीराम बस्यालको घरमा पनि फेला परेको बमलाई सेनाको टोलीले डिस्पोज गरेको थियो ।

यसरी दुई दिनको अवधिमा जिल्लामा निर्वाचन बिथोल्ने लक्ष्यअनुरुप उम्मेदवारका घरदेखि सार्वजनिकस्थलसम्म बम फेला पर्नेक्रम बढे तापनि सो कार्यमा संलग्न एकजनालाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन जसका कारण शान्ति सुरक्षासमेतमा प्रश्न चिह्न उठ्न थालेको अवस्था छ ।

घरेलु हतियारसहित उम्मेदवारका छोरा पक्राउ

नुवाकोट, २९ वैशाख । नेकपा (मोआवादी केन्द्र)को तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङको छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको छ ।

(माओवादी केन्द्र)बाट उपाध्यक्षका उम्मेदवार तामाङको छोरा शमशेर तामाङ र सहयोगी राजेन्द्र तामाङलाई एक थान खुकुरी र तीन थान फलामको रडसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले जानकारी दिनुभयो ।

तामाङद्वयले प्रचार अभियान पछि घर फकर्दै गरेका सो गाउँपालिकाका नेपाली काँग्रेसका कार्यकर्तालाई हतियार देखाउँदै धम्क्याएकाले नियन्त्रणमा लिएर तारुका प्रहरी चौकीमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री