
नेपाली काँग्रेस र माओवादी केन्द्र चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको संयुक्त आमसभामा अभिवादन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर ः नारायण अधिकारी, चितवन, रासस
चितवन, २८ वैशाख । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनले मधेस, पहाड र हिमाललाई एकताबद्ध गरेर देशलाई निर्वाचनतिर लैजान सफल भएको बताउनुभएको छ ।
नेपाली काँंग्रेस र माओवादी केन्द्र चितवनले आज यहाँ आयोजना गरेको संयुक्त आमसभालाई सम्बोधन गर्दै उहाँले गत वर्ष सरकारको नेतृत्व लिँदा एकातिर पहाड, एकातिर हिमाल र अर्कातर्फ तराई भएकामा यो गठबन्धनले सबैलाई एकताबद्ध बनाएर निर्वाचनतर्फ लैजान सकेको बताउनुभयो ।
सरकारको नेतृत्व लिँदै गर्दा पूर्व र पश्चिमतर्फ डरलाग्दो स्थिति भएको बताउँदै उहाँले भन्नुभयो, “यो गठबन्धनले मधेसलाई पहाडसँग र पहाडलाई मधेससँग मिलाएर सबैलाई लिएर निर्वाचनतर्फ लैजाने वातावरण बनायो ।” मधेसलाई एकातिर र पहाडलाई अर्कातिर पारेर देशलाई विभाजनतर्फ लैजाने प्रवृत्ति विजयी गराउने या मधेस, पहाड, हिमाललाई जोडेर संविधान कार्यान्वयनतिर दृढतापूर्वक लाग्ने विचार र शक्तिलाई जिताउने भन्ने फैसला गर्ने काम जनताको काँधमा आएको उहाँले बताउनुभयो ।
गत सालसम्म १६ घन्टासम्म विद्युत्भार कटौती खेपेकामा यही गठबन्धनले विद्युत्भार कटौतीको अन्त्य गरेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “उज्यालोलाई जिताउने कि अँध्यारोलाई जिताउने नेपाली भन्ने पनि जनताको हातमा फैसला छ ।”
सम्बोधनमै काँग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीको उपमा दिएर सम्बोधन गर्नुभएका प्रधानमन्त्री दाहालले काँग्रेसले गिरिजाप्रसाद कोइराला र माओवादी केन्द्रले प्रचण्डजस्तो नेता नपाएको भए मुलुक यो अवस्थासम्म आइनपुग्ने बताउनुभयो ।
भरतपुर महानगरपालिकामा गरिएको गठबन्धन संयोगको कुरा नभएर इतिहासको एउटा आवश्यकता भएको बताउँदै उहाँले भरतपुरलाई नेपालकै नमुना नगरपालिका बनाउने मात्रै होइन, दक्षिण एसियाकै नमुना समृद्ध महानगर बनाउन गठबन्धन गरिएको हो भन्नुभयो ।
चौबिस वर्षदेखि नेपालको आर्थिक वृद्धिदर ओह्रालो लागेर गत वर्ष एक प्रतिशतभन्दा तल झरेकामा २५ वर्षपछि अहिले सात प्रतिशत वृद्धिदर भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यो विकास र समृद्धिलाई जिताउने वा विभाजनलाई जिताउने आजको सवाल छ ।” आफू प्रधानमन्त्री हुँदै गर्दा विभिन्न आरोप लागे पनि यही गठबन्धनले राष्ट्रलाई एकताबद्ध बनाएर निर्वाचन गर्ने र आर्थिक विकासको गति दिने काम गरेको उहाँले बताउनुभयो । मनोनयन गर्ने दिन बिहान पनि आफूलाई सिंहदरबारमा फोन गरेर निर्वाचन हुन्छ र भनेर सोध्ने गरिएको बताउँदै उहाँले भन्नुभयो, “मैले जे भन्दै आएँ, त्यो पूरा भएर छाड्यो । वैशाख ३१ गते निर्वाचन हुन्छ ।” यो २० वर्षपछिको निर्वाचन नभएर पहिलो निर्वाचन भएको उहाँको भनाइ थियो ।
भरतपुर महानगरमा गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह गर्दै उहाँले महानगरको प्रमुख पदका उम्मेदवार रेणु दाहाललाई प्रचण्डपुत्रीका रुपमा मात्रै नहेरेर उनले पार्टीमा पुरयाएको योगदानको मूल्याङ्कनसमेत गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा काँग्रेसका सभापति शेरबहादुर देउवाले बाह्रबुँदे सहमतिदेखि नै माओवादी केन्द्रसँग गठबन्धन हुँदै आएको हो भन्दै नेपालमा स्थायी शान्ति र सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र स्थापना गर्न दुई दलको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डको प्रयासबाट देशमा शान्ति सम्झौता भएको बताउँदै उहाँले भन्नुभयो – “ अब हिजोका कुरा गर्ने होइन, भोलिको सुनौलो भविष्य हेर्ने हो ।” प्रान्तीय र सङ्घीय निर्वाचनसम्म दुई पार्टीका बीचमा गठबन्धन हुने छ भन्दै उहाँले संविधान कार्यान्वयनका लागि दुई पार्टी मिल्नाको विकल्प नभएको बताउनुभयो । मधेस र पहाडलाई विभाजन गर्नेहरुसँग सजग रहनुपर्ने बताउँदै उहाँले मधेस, पहाड र हिमाल नमिलेसम्म देश समृद्ध हुँदैन भन्नुभयो ।
मिलेर बसेको समाजलाई झगडा गराउने षड्यन्त्र रच्नेहरुलाई जनताले चिन्नुपर्ने र सबै मेलमिलाप गरेर बस्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “राष्ट्रिय एकता नै अहिलेको आवश्यकता हो, काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनका लागि यो गठबन्धन आवश्यक छ ।”
भरतपुरमा मात्रै गठबन्धन नभएको बताउँदै उहाँले भरतपुरमा एकले अर्कालाई असहयोग गरे पोखरामा असर पर्ने भएकाले पनि नेतृत्व तहबाट भएको गठबन्धनलाई अक्षरशः पालना गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । भड्काउमा नपरेर संयुक्त प्यानललाई मत दिन आग्रह गर्दै उहाँले महानगरहरुमा प्रमुख र उपप्रमुख दुवै महिला बनाएर देखाउन आग्रह गर्नुभयो । महिला राष्ट्रको महत्वपूर्ण शक्ति भएकाले यसले यो महानगरलाई नमुना बनाउन साथ दिने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अमिक शेरचनले यो गठबन्धन राजतन्त्र र गणतन्त्रबीचको लडाइँ हो भन्दै प्रतिगमनतर्फ जानेलाई पराजित गर्नका लािग गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो । पार्टीभन्दामाथि उठेर असल व्यक्ति र विचारलाई मत दिन पनि उहाँले आग्रह गर्नुभयो ।
रक्षामन्त्री तथा काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस र माओवादी केन्द्रबीचमा कम्तीमा १० वर्षसम्म सहयात्रा हुन सकेमा मुलुक समृद्ध हुने बताउँदै गठबन्धनलाई साथ दिन आग्रह गर्नुभयो ।
माओवादी केन्द्रबाट प्रमुख पदका उम्मेदवार रेणु दाहाल र काँग्रेसबाट उपप्रमुख पदका उम्मेदवार पार्वती शाहले आफूहरु साझा उम्मेदवार भएकाले गठबन्धनमा मतदान गर्न अनुरोध गर्नुभयो ।
सो अवसरमा काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला र माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले केन्द्रको निर्देशनअनुरुप बनेको गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । सभाअघि महानगरका विभिन्न ठाउँबाट पदयात्रासहित दुई पार्टीका नेता कार्यकर्ता सभास्थल भरतपुर बसपार्कमा जम्मा भएका थिए ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो