निर्वाचन उत्साहजनक वातावरणमा अघि बढेको छ – प्रधानमन्त्री

निर्वाचन आयोगले बुधबार स्थानीय तहको निर्वाचनको समग्र तयारीका बारेमा छलफल हुने कार्यक्रम स्थलमा पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्वागत गरिदै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचन समग्र रुपमा उत्साहजनक वातावरणमा अघि बढिरहेको बताउनुभएको छ ।

स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारी, देखिएका समस्या र निर्वाचनसँग जोडिएर आएका विभिन्न घटनाक्रमबारे निर्वाचन आयोगमा भएको छलफलपछि प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो ।

स्थानीय तहको निर्वाचनका लागि आयोगबाट आवश्यक मेहनत र पहल नभएको भए आमजनतामा उत्साह र विश्वास पैदा गर्न निकै कठिनाइ हुन्थ्यो भन्दै प्रधानमन्त्री दाहालले सुरक्षा तयारी र सक्रियताले निर्वाचनलाई असर पुग्ने क्रियाकलाप हुन नपाएको उल्लेख गर्नुभयो ।

निर्वाचनको प्रतिरोध गर्ने पक्षबाट मुलुकका केही भागमा तोडफोड, आगजनी, प्रतिरोधका घटना भएको बताउँदै उहाँले गोरखालगायतका जिल्लाका घटनामा सरकारबाट हस्तक्षेप भयो भन्ने कुरामा सत्यता नभएको स्पष्ट गर्नुभयो ।

दोलखामा मङ्गलबार भएको घटनालाई सरकारले गम्भीर रुपमा लिएर अनुसन्धान गर्न निर्देशन दिइसकेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले प्रतिबद्धतापत्रमा भएको सामूहिक प्रतिबद्धताले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)का उपनेता सुवास नेम्वाङले निर्वाचनको कार्यक्रममा सहभागी भएर होटलमा बास बस्ने तयारीमा रहेका आफ्ना कार्यकर्तामाथि सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रका कार्यकर्ताबाट आक्रमण हँुदा दोलखामा एकजनाको मृत्यु भएको घटनाप्रति आयोगको ध्यान जान आवश्यक छ भन्नुभयो ।

निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना रोक्न सरकार र आयोगबाट सदासयता, प्रतिबद्धता देखाउने मात्र होइन, व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता होस् – उपनेता नेम्वाङले भन्नुभयो ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको समग्र तयारीको अवस्थाबारे आयोगबाट स्पष्ट जानकारी माग गर्दै उहाँले आचारसंहिताको उल्लङ्घन गर्ने पक्षमा आयोगलाई चनाखो हुन सुझाव दिनुभयो ।

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सत्तारुढ दलसँग सम्बन्धित ठूला राजनीतिक दलबाट अत्यन्त आपत्तिजनक रुपमा भइरहेको आचारसंहिता हननका घटनाले निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा आशङ्का उठेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले सरकारको उपत्यकामा चार सहर निर्माण गर्ने पछिल्लो घोषणा आचारसंहिता विपरीत हो कि होइन भनी प्रश्न गर्नुभयो ।

नेपाली काँग्रेसका नेता एवम् भौतिक पूर्वाधारमन्त्री रमेश लेखकले निर्वाचनमा आफ्नो पार्टीले प्रयोग गरेका सवारी साधनमाथि धादिङ र नुवाकोटलगायतका जिल्लामा भएका आगजनीका घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको जानकारी दिनुभयो ।

राप्रपाका नेता बुद्धिमान तामाङले प्रमुख राजनीतिक दल र सरकारबाटै निर्वाचन आचारसंहिता उल्लङ्घनबाट नियतमा शङ्का देखिएको छ भन्नुभयो ।

सङ्घीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले निर्वाचन आचारसंहिता विपरीत ठूला झन्डा र ब्यानरको प्रयोग हुँदासमेत सरकार र आयोगबाट ध्यान नपुग्नुले आचारसंहिता देखाउने दात जस्तै भएको टिप्पणी गर्नुभयो ।

सो अवसरमा प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनको अन्तिम तयारी भइरहेका समयमा विभिन्न ठाउँमा आगजनी र कुटपिटजस्ता घटना भएका र दोलखामा एकजनाको ज्यानै जाने घटना भएको प्रति आयोगका तर्फबाट दुःख व्यक्त गर्नुभयो ।

यस्ता घटना दोहोरिन नदिन सरकार तथा राजनीतिक दलका नेताहरुबाट आ–आफ्ना दलका कार्यकर्तालाई संयमित हुन आवश्यक निर्देशन दिन अनुरोध गर्दै उहाँले राजनीतिक दलका शीर्ष नेतृत्वसमक्ष राजनीतिक दलको सहमतिमा आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्ने गराउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री