बुद्धजयन्तीका अवसरमा दाहाल र देउवाको यस्तो आयो सन्देश

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६१औँ बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले आज एक शुभकामना सन्देश दिनुहुँदै “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधता हाम्रो आकर्षण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो भन्नुभएको छ ।”

मुलुकको बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान एवम् सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेको बताउँदै उहाँले जनताको लामो सङ्घर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै संविधानको सफल कार्यान्वयनका लागि देश अहिले स्थानीय निर्वाचनमा होमिएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले समाजका विविध क्षेत्रमा उठेका मागको सम्बोधन गरी प्राप्त उपलब्धिको जगमा अहिले देखिएका असन्तुष्टिको सम्बोधन गर्दै विकास र प्रगतिसहितको समुन्नत समाज निर्माण गर्न सबैको सकारात्मक भूमिकाको मैले अपेक्षा गरेको छु भन्नुभयो ।

नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको बताउँदै उहाँले सन्देशमा भन्नुभएको छ– “शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानवजगत्को कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नुभएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शाश्वत रहेको छ ।”

प्रधानमन्त्रीले “बुद्ध विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचारहरु विश्वभर नै धेरै लोकप्रिय हुन सकेका हुन्” भन्दै गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि ठूलो योगदान दिनुभएकाले उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौँ बताउनुभयो । ‘उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ उहाँले भन्नुभयो ।’

प्रधानमन्त्रीले बुद्ध जयन्तीको यस महत्वपूर्ण दिनले हामी सबैलाई बुद्ध धर्मको विश्व भ्रातृत्वको भावनालाई आत्मसात् गर्न र सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिल्ने बताउँदै संविधानको सफल कार्यान्वयनसहित राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन यो दिनले सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभयो ।

सभापति देउवाको सन्देश

काठमाडौँ, २७ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीका अवसरमा आज बौद्ध धर्मावलम्बीलाई शुभकामना व्यक्त गर्दै बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भइरहेको अन्याय, अत्याचार एवम् सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गर्नुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई कार्यान्वयन र संस्थागत गर्ने क्रममा सबै प्रयत्नरत रहेको उल्लेख गर्दै उहाँले दिगो शान्तिबिना मुलुकको समग्र विकास सम्भव नभएकाले हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्ने बताउनुभएको छ ।

सभापति देउवाले सन्देशमा भन्नुभएको छ, “शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालन गरौँ, अशान्ति, हत्या र हिंसाको विरोध गरौँ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री