उम्मेदवारका रमाइला रमाइला गतिविधि

ललितपुरका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता स्थानीय तहको जनप्रतिनिधिको निर्वाचनको लागि मङ्गलबार उम्मेदवारी मनोनयन दर्ता गर्न महानगरपालिकातर्फ जाँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, २१ वैशाख । जिल्ला निर्वाचन कार्यालय काठमाडौँले काठमाडौँ जिल्लाको निर्वाचनका लागि चारहजार एकसय १९ कर्मचारी खटाउने भएको छ ।

यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि ६ सय ८७ मतदान केन्द्रको निर्वाचनका लागि उक्त सङ्ख्यामा कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी दिनुभयो ।

यस्तै, खटाइएका कर्मचारीलाई वैशाख २० गतेदेखि नियुक्ति वितरण कार्यसमेत सुरु गरेको ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “वैशाख २०, २१ र २२ गते नियुक्तिपत्र बाँड्छौँ, त्यसपछि २३, २४ र २५ गते तालिम दिएर निर्वाचनमा खटाउँछौँ ।” उहाँले केही कर्मचारी शारीरिकरुपमा अपाङ्ग र केही महिलालाई समस्या भएकाले त्यी कर्मचारीको हकमा भने सामान्य हेरफेर गर्ने तयारी भइरहेको समेत बताउनुभयो ।

काठमाडौँमा हाल काठमाडौँ महानगरपालिका, शङ्खरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, नागार्जुन, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिका रहेका छन् जसमा काठमाडौँ महानगरपालिका र १० वटा नगरपालिकाका ६ सय ८७ मतदान केन्द्रमा कर्मचारी खटाइने निर्वाचन कार्यालयले जनाएको छ ।

लमजुङमा तीनजना निर्विरोध 

लमजुङ ः स्थानीय तह निर्वाचनका क्रममा लमजुङका तीन स्थानमा निर्विरोध भएका छन् । चुनावमा गठबन्धन गरेर अघि बढेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दलित महिला सदस्य निर्विरोध भएका हुन् ।

नेकपा एमालेका तर्फबाट क्होँलासोँथर गाउँपालिका–४ भुजुङमा दलित महिला सदस्य जालु दमै निर्विरोध हुनुभएको हो । सोही वडामा एमालेबाटै उम्मेदवारी दिनुभएको अर्का खुल्ला सदस्य पनि निर्विरोध हुनुभएको छ ।

खुल्ला दुई चाहिनेमा एमालेबाट दुईजनाको मात्र उम्मेदवारी परेको छ भने नेपाली काँग्रेसका तर्फबाट एकजनाले उम्मेदवारी दिनुभएको छ । काँग्रेसबाट उम्मेदवारी परेका अर्का एक सदस्यको योग्यता नपुगेपछि उम्मेदवारी रद्द भएको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, दूधपोखरी गाउँपालिका–४ इलमपोखरीमा नेकपा माओवादी केन्द्रबाट दलित महिला सदस्यमा सुनिता विक निर्विरोध हुनुभएको छ । वैशाख २२ गते निर्वाचन चिह्न वितरणको समयमा निर्विरोध हुने सदस्यको नाम टुङ्गो लाग्ने कार्यालयले जनाएको छ ।

टिकट नपाएपछि सभापति नै स्वतन्त्र

यसैगरी, स्थानीय तह चुनावका लागि नेपाली काँग्रेस नगर सभापति नै स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । नेपाली काँग्रेस सुन्दरबजार नगर कार्यसमितिका सभापति द्वारिका मिश्रले नगर प्रमुख पदका लािग आफ्नो प्यानलसहित स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

नेपाली काँग्रेसले आफूलाई आधिकारिक उम्मेदवार नबनाएपछि मिश्रले आफ्नो सेट बनाएर उम्मेदवारी दर्ता गराउनुभएको छ । ११ वडा रहेको सुन्दरबजार नगरपालिकामा मिश्र पक्षबाट उपप्रमुखमा रामचन्द्र अधिकारी र १० वटै वडामा सबै पदाधिकारीसहितको स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

सुन्दरबजार नगरपालिकामा नेपाली काँग्रेसले प्रमुख पदमा बद्रीमान श्रेष्ठलाई अघि सारेको छ भने उपप्रमुखमा ज्ञानु शाहले उम्मेदवारी दिनुभएको छ । त्यस्तै, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट एमालेका जनकराज मिश्रलाई प्रमुख र उपप्रमुखमा माओवादीकी शान्ता भुजेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै, राप्रपाका तर्फबाट प्रमुखमा पार्वती वाग्ले, उपप्रमुखमा नवराज बसौला रहनुभएको छ । यसैगरी, नयाँ शक्ति र सङ्घीय समाजवादी गठबन्धनबाट उपप्रमुखमा ऋषि पोख्रेलले मनोनयन दर्ता गराउनुभएको छ ।

नुवाकोटमा पाँच गुणा बढी उम्मेदवारी 

नुवाकोट ः स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा चारसय ६४ पद जनप्रतिनिधि निर्वाचित गर्न पाँच गुणा बढी उम्मेदवारी दर्ता भएको छ । दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा यही वैशाख ३१ गते हुने निर्वाचनका लागि दुई हजार सातजनाले उम्मेदवार मनोनय दर्ता गरेका छन् ।

विदुर नगरपालिकामा ६७ पदका लागि तीनसय १६, बेलकोटगढी नगरपालिकामा ६७ पदका लागि दुईसय ८२, दुप्चेश्वर गाउँपालिकामा ३७ पदका लागि एकसय ४७, पञ्चकन्या गाउँपालिकामा २७ पदका लागि एकसय १६, तादी गाउँपालिकामा ३२ पदका लागि एकसय ३७ जनाले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।

यस्तै, सूर्यगढी गाउँपालिकामा २७ पदका लागि एकसय आठ, ककनी गाउँपालिकामा ४२ पदका लागि एकसय ८६, शिवपुरी गाउँपालिकामा ४२ पदका लागि एकसय ७९, तारकेश्वर गाउँपालिकामा ३२ पदका लागि एकसय १५, मेघाङमा ३२ पदका लागि एकसय ४०, किस्पाङ गाउँपालिकामा २७ पदका लागि एकसय १७, लिखु गाउँपालिकामा ३२ पदका लागि १६४ ले उम्मेदवारी दिएको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उम्मेदवार मनोनयन दर्ताको नामावलीमा उल्लेख गरिएको छ ।

प्रमुख पदमा एकमात्र महिला 

बेनी, म्याग्दी ः यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीमा गाउँपालिकाको प्रमुख पदमा एकजना महिलाले मात्र उम्मेदवारी दिएकी छन् ।

एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा धौलागिरि गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका तर्फबाट माध्यमिक विद्यालयको प्रधानाध्यापकको पदबाट राजीनामा दिएर थमसरा पुन गाउँपालिका प्रमुखको उम्मेदवार बन्नुभएको हो ।

पुनले धौलागिरि गाउँपालिकाको मुदी खिवाङमा अवस्थित चन्द्रज्योति माविको प्रधानाध्यापक पदबाट राजीनामा दिएर गाउँपालिका प्रमुखको उम्मेदवार बन्नुभएको हो ।

गाउँपालिका प्रमुखमा जिल्लाको एकमात्र महिला उम्मेदवार बनेपछि पुनको चर्चा चुलिएको छ । महिलालाई उपप्रमुख भन्दै कोटा विभाजन गरिएको अवस्थामा पुनले गाउँपालिकाअन्तर्गतका पुराना नेतालाई समेत पन्छाएर प्रमुखको उम्मेदवारीसँगै धौलागिरि गाउँपालिकाका मुदी, मुना, ताकम, मराङ, लुलाङ र गुर्जाका बस्तीमा आफ्नो योजनासहित चुनावी प्रचारप्रसार सुरु गर्नुभएको छ ।

उहाँ पदबाट राजीनामा दिएर आफ्ना योजनासहित अभियानमा जुट्नुभएको छ । धौलागिरि गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । दुई पार्टीको गठबन्धनलाई चुनौती दिँदै प्रमुख पदको उम्मेदवार बनेकी पुन शिक्षा क्षेत्रका साथै विभिन्न सङ्घसंस्थामा समेत सक्रिय हुनुहुन्छ ।

महिला नेत्रीले गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएपछि पुनलाई बधाई दिनेको ताँती लागेको छ । “दुर्गम गाउँपालिकाको जिम्मेवारीमा पुग्ने प्रयासलाई हामीले ठूलो उपलब्धिका रुपमा लिएका छौँ । महिला सक्षम भए सहजै जिम्मेवारी बहन गर्न सक्छन् भन्ने उदाहरण बन्ने प्रयासमा हुनुहुन्छ थमसरा पुन”, दिदीबहिनी सहकारीकी अध्यक्ष जमुना आचार्यले भन्नुभयो ।

धौलागिरि गाउँपालिकामा पुरुष चारहजार चारसय ८६ र महिला चारहजार आठसय ४८ गरी नौहजार तीनसय ३४ मतदाता रहेका छन् ।

निर्वाचनको मिति सारेपछि मतदाता निराशा 

रामपुर (पाल्पा) ः नजिकिँदै गरेको स्थानीय तहको चुनावी माहोल तातिरहेका बेला सरकारले निर्वाचनको मिति सारेपछि पाल्पाका उम्मेदवार तथा मतदातामा भने निराशा छाएको छ ।

चुनावी प्रचारात्मक अभियानलाई तीव्रता दिँदै गाउँ–गाउँ पसेका उम्मेदवार तथा दलका नेता तथा कार्यकर्ता निर्वाचनको मिति सरेपछि चुनावी प्रचारात्मक कार्यमा कमै मात्रामा सक्रिय बनेका छन् । सरकारले प्रदेश नं ५ मा वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचन जेठ ३१ गते सारेपछि यहाँका उम्मेदवार तथा मतदाता निराश भएका हुन् ।

झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भन्दै उत्साहित बन्दै चुनावी मैदानमा उत्रिएका उम्मेदवार र मतदातामा चुनावको मिति सरेपछि चुनावी अभियानमा निष्क्रिय बन्दै गएका छन् ।

प्रदेश नं १, २, ५ र ७ मा जेठ ३१ गते तथा ३, ४ र ६ मा सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रदेश नं ५ मा रहेका पाल्पाका मतदाताले समयमा नै निर्वाचन गरी योग्य उम्मेदवारलाई मतदान गर्ने सोचमा थिए तर निर्वाचनको मिति सरेलगत्तै जेठ ३१ मा चुनाव हुने-नहुनेमा पनि शङ्का गर्न थालेको रामपुरका विश्वबन्धु पौडेल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “चुनावी प्रचारात्मक माहोल तातिरहेको बेला एक्कासि चुनावको मिति सरकारले सारयो, प्रचार प्रसारमा जुटेका उम्मेदवार र मतदाता अहिले निराश हुँदै आफ्नो व्यापार– व्यवसाय र कामकाजमा फर्किन थालेका छन्”, उहाँले भन्नुभयो ।

मतदाता मात्र नभई जिल्लामा क्रियाशील दल, नेता, कार्यकर्ता र उम्मेदवार पनि निराशामा छन् । वैशाख ३१ गतेको निर्वाचनका लागि चुनावी प्रचारात्मकदेखि सबै तयारी अन्तिम चरणमा पुगेको अवस्थामा चुनाव सरेपछि प्रचारात्मक कार्यमा सुस्तता आएको नेपाली काँग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्रप्रसाद भट्टराईले बताउनुभयो । जिल्लामा रहेका दुई नगरपालिका र आठ गाउँपालिकामा नै चुनावी प्रचारात्मक अभियानमा सुस्तता आएको छ ।

बाजुरामा ६ दलले चुनाव चिह्न पाए 

बाजुरा ः स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बाजुरामा दर्ता भएका दश दलमध्ये ६ वटा दलले मात्र चुनाव चिह्न पाएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी शुभद्रा शर्मा गौतमले बताउनुभएको छ ।

चुनाव चिह्न पाउनेमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा माले र संघीय समाजवादी फोरमले चुनाव चिह्न पाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मानबहादुर थापाले जानकारी दिनुभएको छ ।

थापाले दिएको जानकारीअनुसार १० दलमध्ये चुनाव चिह्न नपाउनेमा नयाँ शक्ति नेपाल, राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन र राष्ट्रिय जनमोर्चा रहेका छन् । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरम नेपालको चिह्न लिएर चुनावमा जाने भएको छ ।

निर्वाचन आयोगले पठाएको विवरणअनुसार जिल्लामा दर्ता भएका १० दलमध्ये ६ दलले मात्रै चुनाव चिह्न पाएको उल्लेख गरिएको छ । संसद्मा प्रतिनिधित्व गर्ने २७ दलले मात्र चुनाव चिह्न पाएको बताउँदै जिल्ला निर्वाचन अधिकारी शुभद्रा गौतमले नयाँ शक्ति नेपाल, राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन राष्ट्रिय पार्टी र राष्ट्रिय जनमोर्चा संसदमा नभएकाले चुनाव चिह्न नपाएको बताउनुभयो ।

काभ्रेमा काँग्रेस, माओवादी तालमेल प्रयास 

बनेपा ः स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा पनि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले तालमेलका लागि छलफल सुरु गरेका छन् ।

दुवै पार्टीका जिल्ला नेताले छलफल जारी रहेको र निष्कर्षमा पुग्न नसकिएको उल्लेख गर्दै खासगरी नगरपालिका र गाउँपालिकाको नेतृत्वको विषयमा कुरा नमिलेको बताएका छन् । “वडा तहमा वडा कमिटीलाई नै जिम्मेवारी दिएका छाँै तर नेतृत्वका लागि विभिन्न चरणमा छलफल भइरहेको छ”, नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका सभापति मधुप्रसाद आचार्यले भन्नुभयो ।

उहाँले अन्तिम नामावली प्रकाशनसम्ममा सहमतिमा जानसके अझै सुखद् हुने उल्लेख गर्दै निर्वाचनको अघिल्लो दिनसम्म पनि टुङ्ग्याउन सकिने बताउनुभयो । सभापति आचार्यले नेकपा एमाले बाहेक काभ्रेपलाञ्चोकमा निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलसँग चुनावी तालमेलको प्रयास भएको जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्र काभ्रेपलाञ्चोकका अध्यक्ष दीनानाथ गौतमले निर्वाचनका लागि तालमेलको प्रयास भएपनि सार्थक हुन नसकेको बताउनुभयो । “कतिपय ठाउँमा माओवादीले छाड्ने र कतिपय ठाउँमा काँग्रेसले छाड्ने विषयमा गम्भीर छलफल चलिरहेको छ”, उहाँले भन्नुभयो ।

गौतम जिल्लाको चाँैरी देउराली गाउँपालिकाको अध्यक्षको उम्मेदवारसमेत हुनुहुन्छ । काभ्रेपलाञ्चोकको ६ नगरपालिका र सात गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री