महाभियोग प्रस्ताव फिर्ता नभए एमालेले संसद् चल्न नदिने

व्यवस्थापिका–संसद्को बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित भएपछि फर्कनेक्रममा सांसदहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ, २१ वैशाख । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका–संसद् चल्न नदिने बताउनुभएको छ ।

एमाले केन्द्रीय प्रचार विभागले आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारले चाहेको जस्तो फैसला नभएको भन्ने आधारमा स्वतन्त्र न्यायालयमाथि एकाएक त्यस्तो प्रस्ताव ल्याइनु गलत भएको बताउनुभयो । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का दुईसय ४९ सांसद्ले यही वैशाख १७ गते सो प्रस्ताव संसद्मा दर्ता गराएका थिए ।

उहाँले निर्वाचन सम्बन्धमा स्थानीय आवश्यकता र जितको सुनिश्चितता एवम् मुद्दाका आधारमा स्थानीय निर्वाचनमा तालमेल गरिएको पनि बताउनुभयो ।

संसद् बैठक स्थगित

काठमाडौँ, २१ वैशाख । व्यवस्थापिका–संसद्को आजको बैठक स्थगन भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगको प्रस्तावको विषयमा छलफल गर्ने कार्यसूची रहेको भए पनि अन्तिम समयमा आएर बैठक स्थगन भएको हो ।

आज अपराह्न ३ बजेका लागि तय भएको बैठक शुक्रबार बिहान १० बजेका लागि तय गरिएको संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

संसद्को कार्यसूचीका विषयमा प्रमुख दलबीच सहमति हुन नसकेपछि सूचना टाँसेर बैठक स्थगन गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाअभियोगको प्रस्ताव फिर्ता लिन आग्रह गरेको तथा संविधान संशोधन प्रस्तावमा समेत सहमति नजुटेका कारण बैठक स्थगन भएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री