काठमाडौँ, १६ वैशाख । नेकपा (एमाले)को स्थायी कमिटीको आजको बैठकले व्यवस्थापिका–संसद्मा सरकारका तर्फबाट प्रस्तुत संविधान संशोधन विधेयकलाई फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण गराएको छ ।
‘बैठकले सम्पूर्ण प्रयत्नका साथ उक्त विधेयकलाई असफल पार्न राजनीतिक दलहरुसँग संवाद र परामर्श गर्दै अघि बढ्ने निर्णय गरेको छ,’ पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले भन्नुभयो ।
पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय तहको घोषित निर्वाचनलाई नै अन्योल र अनिश्चिततातिर धकेल्न विभिन्न पक्षबाट षड्यन्त्र भएको आरोप लगाउँदै त्यसलाई असफल पार्दै घोषित मिति २०७४ वैशाख ३१ मा नै निर्वाचन सम्पन्न गर्न ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।
उम्मेदवारी चयनबारे छलफल
बैठकमा प्रदेश नम्बर ३ का संयोजक अष्टलक्ष्मी शाक्य र प्रदेश नंम्बर ६ का संयोजक युवराज ज्ञवालीले स्थानीय तहमा पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवारका बारेमा प्रगति विवरण प्रस्तुत गर्नुभयो ।
प्रदेश नम्बर ६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मतरुपमा सबै उम्मेदवार निर्णय भइसकेको छ ।
यसैगरी, प्रदेश नम्बर–३ मा महानगरपालिका र उपमहानगरपालिकामा सर्वसम्मतरुपमा उम्मेदवार चयनका लागि प्रयत्न भइरहेको छ र भोलिसम्ममा त्यसलाई टुङ्गो लगाइने सो पार्टीले जनाएको छ ।
एमालेमा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपुर र ललितपुरमा सबै उम्मेदवारको टुङ्गो भइसकेको छ भने अन्य जिल्लामा पनि ९० प्रतिशतभन्दा बढी स्थानमा उम्मेदवार सर्वसम्मतरुपमा चयन भएका छन् । थोरै स्थानमा बाँकी रहेका उम्मेदवारको चयन आइतबारसम्ममा गरिने बताइएको छ । प्रदेश नम्बर–४ मा उम्मेदवार चयन अन्तिम चरणमा पुगेको छ ।
घोषणापत्र आइतबार
एमालेको स्थायी कमिटीबाट पारित पार्टीको स्थानीय निर्वाचनको घोषणापत्रलाई आइतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक गरिने कार्यक्रम छ ।
संविधान संशोधनका लागि ४७ संशोधन प्रस्ताव दर्ता
व्यवस्थापिका–संसद्मा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि ४७ वटा संशोधन प्रस्ताव दर्ता गरिएको छ ।
संशोधन दर्ता गर्न दिइएको ७२ घन्टाको समय सकिनै लाग्दा आज साँझसम्म प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहितका दलबाट ४७ वटा संशोधन दर्ता भएको संसद् सचिवालयका सहायक प्रवक्ता डिल्लीराम रिजालले जानकारी दिनुभयो ।
संशोधन दर्ता अवधि आज राति १०ः३० बजेसम्म भएकाले यो सङ्ख्या बढ्नसक्ने उहाँले बताउनुभयो । दर्ता भएका संशोधन प्रस्ताव के–कस्ता विषयमा कति छन् भनेर आइतबार मात्रै यकीन हुने र सोको आवश्यक प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ ।
सहायक प्रवक्ता रिजालका अनुसार प्रतिपक्षी दलबाट बढी संशोधन आएको छ ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण