उपत्यकाबाट ५० मेट्रिक टन फोहर व्यवस्थापन

शनिबार काठमाडौँको थापाथलीमा बाग्मती सफाई गरिदै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, १६ वैशाख । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ५० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । उपत्यकाका विभिन्न स्थानमा भएको सफाइमा दुई हजार २८० व्यक्तिको सहभागिता थियो । वाग्मती सफाइ महाअभियानको २०७ औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ५५० जनाको सहभागिता रहेको अभियन्ता उमेश बोहराले राससलाई जानकारी दिनुभयो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति लगायत संस्थाको संस्थागत सहभागिता थियो । पूर्वसचिव डा कृष्णचन्द्र पौडेलले सपथ खुवाएपछि सफाइ सुरु भएको थियो । गुह्येश्वरीमाथिको वाग्मती सफाइ सुरु भएको १६८ औँ हप्तामा आज गोठाटार पुल मुनि सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजले अयोजना गरेको सफाइमा २०० व्यक्तिको सहभागिता थियो ।
रुद्रमती सफाइको १६६ औँ हप्तामा आज रातोपुलबाट सेतोपुलसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा सेना, प्रहरी, सशस्त्र प्रहरी बललगायत रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियानको सहभागिता थियो । विष्णुमती सफाइको १३८ औँ हप्तामा आज तारकेश्वर नगरपालिकामा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ५०० जनाको सहभागिता थियो ।

विष्णुमती सफाइमा आज पहिलोपटक नेपाली सेना पनि सहभागी भएको छ । तिलगङ्गा महिला समूहले तिलगङ्गामा आयोजना गरेको ११५ औँ हप्ताको वाग्मती सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ३० जना महिलाको सहभागिता थियो ।चक्रपथ सफाइको तेस्रो साता आज बसुन्धरा क्षेत्रमा सफाइ गरी २२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ७०० स्वयम्सेवक सहभागी थिए ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान र त्यसपछि सुरु भएका उपत्यकाका विभिन्न नदी सफाइ अभियानमा हालसम्म सात लाख २१ हजार ९३० स्वयम्सेवकले सहभागिता जनाएका छन् ।
उपत्यकामा वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई पोखरा, झापा र तुलसीपुरलगायत २६ स्थानमा सफाइ भइरहेको छ । यी अभियानबाट दश हजार ४९७ फोहर व्यवस्थापन भएको सफाइ महाअभियानले जनाएको छ ।

आगामी शनिबार २०८ औँ हप्ताको वाग्मती सफाइ थापाथली पुल पारि ललितपुरतर्फ हुने पनि आजको सफाइका अवसरमा जानकारी गराइयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री