‘मेरो वर्ष- म स्वस्थ…’ अभियान वैशाख २१ गते देशव्यापी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको दशरथ रङ्गशालाबाट शुक्रबार ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ राष्ट्रिय अभियान लेखिएको लोगो झन्डोत्तोलन गरेर अभियानको शुभारम्भ गर्नुहुँदै । साथमा स्वास्थ्यमन्त्री गगनकुमार थापा, उर्जामन्त्री जर्नादन शर्मालगायत । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, १५ वैशाख । ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियानबारे सबैलाई जानकारी गराउने उद्देश्यले यही वैशाख २१ गते देशव्यापी कार्यक्रम हुने भएको छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आज देशभरका जिल्ला स्वास्थ्य कार्यालयलाई परिपत्र जारी गर्दै अभियानबारे कार्यक्रम गर्न निर्देशन दिएको छ । विसं २०७४ ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानका रुपमा मनाउने घोषणा गर्दै वैशाख १ गते प्रधानमन्त्रीले दशरथ रङ्गशालाबाट यसको शुभारम्भ गर्नुभएको थियो ।

वर्षभरि सञ्चालन हुने अन्य कार्यक्रमसँगै सो अभियानलाई जोडेर स्थानीय तहसम्म लगिने योजनानुरुप जिल्लालाई परिपत्र गरिएको सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले बताउनुभयो ।

नेपालमा धूमपान र मद्यपानको अत्यधिक सेवन, खाद्य पदार्थमा विषादीको प्रयोग, वातावरणीय पक्षले समेत जनताको स्वास्थ्य प्रतिकूल पारी कडा रोगको जोखिम बढाएकाले रोकथाम र रोगको पहिचान गरी उपचारमा जान अभियानले प्रेरित गर्ने विश्वास मन्त्रालयको छ ।

ग्रामीण भेगमा ७४ प्रतिशत घरपरिवारमा दाउरा, गुइँठा आदिको प्रयोग गर्दा निस्कने धुवाँ र सहरी क्षेत्रमा घर बाहिरको वायु प्रदूषणका कारणले जनस्वास्थ्य गम्भीर असर पारिरहेको मन्त्रालयको अध्ययन छ । अभियानअन्तर्गत नयाँ वर्षमा आफ्नो स्वास्थ्यको हेरचाह गर्न ‘म रक्सी, चुरोट सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ पोषिलो, खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु र म र मेरो परिवार समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ भन्ने प्रतिबद्धता गर्न सरकारले जनतासँग आग्रह गरेको छ ।

वर्षभरि हुने कार्यक्रम अन्य सम्बन्धित क्षेत्र विद्यालय, उद्योगलगायतसँग पनि सहकार्य गरिनेछ । कतिले आफ्नो स्वास्थ्यको नियमित जाँच गराए भन्ने तथ्याङ्क राखी अर्को वर्ष थप सुधार गरी अघि बढ्ने मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री