मुद्रास्फीति २ दशमलव ९ प्रतिशत – राष्ट्र बैंक

काठमाडौँ, १४ वैशाख । चालु आर्थिक वर्षको फागुन महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ९ प्रतिशत कायम भएको छ ।

नेपाल राष्ट्र बैंकको ६२ औँ वार्षिकोत्सवका अवसरमा गभर्नर डा चिरञ्जीवी नेपालले गत आर्थिक वर्षको सोहि अवधिमा मुद्रास्फीति १० दशमलव २ प्रतिशत रहेको जानकारी दिनुभयो ।

उहाँले कृषि उत्पादनको वृद्धि, आपूर्तिमा सहजता र भारतीय मुद्रास्फीति आएको कमीका कारण पछिल्लो महिनामा मुद्रास्फीति निरन्तर घट्दै गएको छ, भन्नुभयो ।

गभर्नर नेपालका अनुसार यस अवधिमा वार्षिक बिन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर शुन्य दशमलव चार प्रतिशत ऋणात्मक रहेको र गैरखाद्य तथा सेवा समूहमा ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा यी समूहको मूल्य वृद्धिदर क्रमशः १० दशमलव ३ प्रतिशत र १० दशमलव २ प्रतिशत थियो ।

उहाँले यस आवको चैत मसान्तसम्म नगद प्रवाहमा आधारित सरकारी बजेट रु ६३ अर्ब ५९ करोड बचत रहेको बताउनुभयो । गभर्नरका अनुसार गत आवको सोही अवधिमा रु ४७ अर्ब ६९ करोड बचत रहेको थियो ।

यस अवधिमा कुल सरकरी खर्च ४६ दशमलव ६ प्रतिशतले वृद्धि भई रु चार खर्ब १९ अर्ब ९३ करोड पुगेको उहाँले उल्लेख गर्नुभयो । त्यसैगरी गभर्नर डा नेपालले चालु आवको आठ महिनामा कुल वस्तु निर्यात १२ दशमलव ८ प्रतिशतले वृद्धि भई रु ४८ अर्ब २२ करोड पुगेको बताउनुभयो । यस अवधिमा आयात भने ४४ दशमलव २ प्रतिशतले बढेर रु छ खर्ब २८ अर्ब ५६ करोड पुगेको छ ।

चालु आवको आठ महिनामा कुल वस्तु व्यापार घाटा ४७ दशमलव ६ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ८० अर्ब ३४ करोड पुगेको छ । त्यसैगरी यस अवधिमा चालु खाता रु छ अर्ब ३१ करोड घाटा छ । कुल विदेशी विनिमय सञ्चिति २०७३ को असार मसान्तको रु १० खर्ब ३९ अर्ब २१ करोडबाट ३ दशमलव ४ प्रतिशतले वृद्धि भई फागुन मसान्तसम्ममा रु १० खर्ब ७४ अर्ब २७ करोड पुगेको छ ।

त्यसैगरी यस अवधिमा आन्तरिक कर्जा १२ दशमलव २ प्रतिशतले बढेको र बैंक तथा वित्तिय संस्थाको निक्षेप ८ दशमलव ३ प्रतिशत तथा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १५ दशमलव ३ प्रतिशतले बढेको छ । यस अवधिमा केन्द्रीय बैंकले रु ४७ अर्ब १८ करोड तरलता प्रवाह गरेको छ ।

त्यसैगरी राष्ट्र बैंकले यस अवधिमा नेप्से सूचकाङ्कमा सुधार आएको, वित्तीय पहुँचमा विस्तर, बैंक तथा वित्तीय नियमनमा सुधार आएको जनाएको छ ।

सो अवसरमा राष्ट्र बैंकका डेप्युटी गभर्नर चिन्तामणि शिवाकोटीले सम्पत्ति सुद्धीकरणमा चुनौती थपिएको र दुई वर्षअघिको भूकम्पले क्षति पुरयाएका भौतिक संरचनाको पुनःनिर्माण गर्न नसकिएको बताउनुभयो । उहाँले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्दै लैजानका लागि राष्ट्र बैंकको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्र बैंकले पूर्व गभर्नर डा भेषबहादुर थापा र संस्कृतिविद् तथा नेपालको नोट तथा सिक्का ‘डिजाइन’ कर्ता सत्यमोहन जोशीलाई विशेष सम्मान गरिएको थियो । सो अवसरमा उहाँहरुले मुलुकको शाख र सानलाई माथि उठाउन मुद्राको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष अनिल शाहले मुलुकको वित्तीय क्षेत्रलाई व्यवस्थित गराउन राष्ट्र बैंकको महत्वपूर्ण भूमिका रहेको भन्दै आर्थिक समृद्धिका लागि अझै निष्पक्ष र सबल भूमिका आवश्यक हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्र बैंकमा अभिछिन्नरुपमा २० वर्ष सेवा गरेका कर्मचारी तथा वार्षिकोत्सवका अवसरमा आयोजना गरेका अतिरिक्त क्रियाकलापमा विजयीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री