बेलायतमा योग प्रशिक्षण दिंदै पूर्व राष्ट्रिय बक्सिङ खेलाडी


लन्डन । नेपालका पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा ख्यातिप्राप्त योग प्रशिक्षक पुष्करराज पन्त यतिखेर बेलायतका विभिन्न स्थानमा योग प्रशिक्षण दिन व्यस्त छन् । उनले बेलायतका विभिन्न ठाउंमा ८ मेसम्म योग कक्षा सञ्चालन गर्नेछन् ।

पन्तले गत १३ अप्रिलमा हिमालयन सेन्टर फर आर्टस एन्ड कल्चरल सेन्टर स्कटल्याण्ड र नेपाल स्कटल्याण्ड एशोसिएसनले एडिनबर्गमा आयोजना गरेको नयां वर्ष कार्यक्रममा योग र सकारात्मक जीवनशैलीबारे प्रशिक्षण दिए ।

त्यस्तै, उनले १६ अप्रिलमा ग्लास्गो नेपलिज एशोसिएसन र दियो क्लब यूकेद्वारा आयोजित एक दिवसीय निःशुल्क योग प्रशिक्षण शिविर सञ्चालन गरे । सयौंको संख्यामा उपस्थित नेपाली समुदायमाझ पन्तले योग र शरीर शुद्धिकरणका बारेमा ३ घण्टे प्रशिक्षण दिएका थिए । त्यसैगरी १८ तारिखमा बेलायतको बर्मिंङहममा शान्ति समाज यूकेको नयां वर्ष कार्यक्रममा पनि पन्तले योगसम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

२० अप्रिलमा जर्मनीको फ्रेन्कफर्टमा ‘दि एसोसिएसन फर इन्टरनेशनल स्पोर्टस फर अल’ को आयोजनामा सक्रिय व्यक्ति, सक्रिय शहर र सक्रिय समुदाय निर्माणमा शारीरिक क्रियाकलाप र खेलकुदको भूमिका विषयक दुई दिने 
अन्तर्राष्ट्रिय सम्मेलनमा पन्तले योगका विषयमा आफ्नो अवधारणा राखेका थिए । गत २१ अप्रिलमा खेलकुदको 
अन्तर्राष्ट्रिय स्तरको संस्था इन्टरनेशनल काउन्सिल फर स्पोर्टस साइन्स एण्ड फिजिकल एजुकेशनको विशेष साधारण सभामा पन्त खेलकुद प्रवर्धन संस्था नेपाल (स्पोन) का तर्फबाट सहभागी भएका थिए । पन्त स्पोन नेपालका अध्यक्ष पनि हुन् । योग तथा खेलकुदका माध्यमबाट जीवनस्तर उकास्ने, स्वस्थ जीवन र सकारात्मक सोचका लागि जनचेतना फैलाउने उद्देश्यले २०६३ सालमा उक्त संस्था स्थापना गरिएको थियो ।

योग प्रशिक्षक पन्तले अप्रिल अन्तिम साता लन्डनस्थित उलवीच कमन कम्युनिटी सेन्टरमा एक दिवसीय निःशुल्क योग कक्षा सञ्चालन गर्ने भएका छन् भने मे १ तारिखमा बेलायतको बर्मिङहममा शान्ति समाज यूकेको आयोजनामा र ६ मेमा नर्थहोल्ट पार्क सोसियल क्लब, लन्डनमा बक्सिङ खेलाडीहरुका लागि योग कक्षा प्रशिक्षण दिने छन् । त्यससंगै उनले बेलायतका विभिन्न ठाउंमा व्यक्तिगत रुपमा पनि नेपालीलाई योग र आयुर्वेदका बारेमा जानकारी तथा प्रशिक्षण दिइरहेका छन् । निजी खर्चमा बेलायत आएर योग प्रशिक्षण दिइरहेका पन्तले योग तथा पूर्वीय दर्शन सम्बन्धि जन चेतना जगाउने आफ्नो अभियानलाई सफल पार्न सम्पूर्ण नेपाली र सरोकारवाला निकायहरुलाई अनुरोध समेत गरेका छन् ।

सन २००१ देखि योग अभ्यास गर्दै आएका पन्तले सन २००५ देखि नेपाल लगायतका विभिन्न मुलुकमा योग प्रशिक्षण गराउंदै आएका छन् । उनले सन २०१०-२०११ मा पतन्जली योगपीठ हरिद्वारबाट एडभान्स योग प्रशिक्षण प्राप्त गरेका हुन् । उनी अध्यक्ष रहेको संस्था स्पोन नेपालले पतन्जली योगपीठ हरिद्वारको मार्गनिर्देशनमा खेलकुदमा योगको प्रभाव विषयमा 
रिसर्च गरी अमेरिकन कलेज अफ स्पोर्टस मेडिसिनद्वारा आयोजित ‘एक्सरसाइज इज मेडिसिन’ दोस्रो विश्व सम्मेलनमा अमेरिकाको कोलोराडोमा कार्यपत्र प्रस्तुत गरेका थिए । दैनिक १५ मिनेट भस्त्रीका प्राणायाम अभ्यासले खेलाडीहरुको फोक्सोको कार्यक्षमता अभिवृद्धि 
गर्दै सम्पूर्ण कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने उक्त अध्ययनको निष्कर्ष थियो ।

सन् २०१५ अप्रिलमा नेपालमा आएको विनासकारी भूकम्पपछि पतन्जली योगपीठ नेपालको मातहतमा स्पोन नेपालको तर्फबाट भूकम्प पीडित विभिन्न ८ वटा जिल्लामा पन्तले योगका माध्यमबाट भूकम्प पीडितहरुको मानसिक पीडा कम गर्ने कार्यमा ६५ दिनसम्म स्वयमंसेवकको रुपमा काम गरेका थिए । २०१५ नोभेम्बरमा पनि जर्मनीको 
बर्लिनमा आइसिएसएसपिइद्वारा आयोजित ‘कम्युनिटी एण्ड क्राइसिस इन्क्लुसिभ डेभलप्मेन्ट थ्रो स्पोर्टस्’ नामक अन्तर्राष्ट्रिय सम्मेलनमा पनि पन्तले खेलकुदका लागि योग विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । विक्रम सम्वत २०६९ साल देखि नै नेपालमा खेलकुदमा योगको विषयमा कार्यपत्र र प्रक्षिण प्रस्तुत गर्ने पहिलो संस्थाका रुपमा स्पोन नेपालले काम 
गर्दै आएको छ ।

पन्त योग क्षेत्रमा आउनु अघि २०४८ सालदेखि कञ्चनपुर जिल्लाको महेन्द्रनगरबाट बक्सिङ खेल्न थालेका थिए । नेपालको खेल इतिहासमा बक्सिङ्खेलबाट ओलम्पिकमा एउटा खेल जित्न सफल विष्णुबहादुर सिंह र अर्का ओलम्पिक बक्सिङ खेलाडी डम्बर दत्तबाट खेलको शुरुवात गरेका पन्तले २०४९-२०५१ सम्म तीन पटक भारोत्तोलन खेलमा सुदुर पश्चिमाञ्चल क्षेत्रबाट च्याम्पियन भई राष्ट्रियस्तरमा सहभागी भएका थिए । पन्तले २०५४ सालमा काठमाण्डौंमा भएको दोस्रो राष्ट्रव्यापी टुवर्गकप बक्सिङ प्रतियोगितामा स्वर्णपदक जितेका थिए । त्यसै गरी २०५९ सालमा भएको तेह्रौ एसियाडका लागि भएको छनौट प्रतियोगितामाा पनि प्रथम स्थान हासिल गरेका उनी एमेच्योर तथा प्रोफेशनल बक्सिङ्मा चारपटक राष्ट्रियस्तरको च्याम्पियन बनेका थिए । नेपालमा पन्तसंगै पराजित खेलाडी सहित ६ जना नेपाली बक्सिङ्ग खेलाडी १४ औं एशियाडमा कोरियामै हराएका थिए र लामो समय प्रोफेशनल र एमेच्योर बक्सिङ्को विवादका कारण पन्तले थुप्रै राष्ट्रिय लगायत साफ खेलमा सहभागिता लिन नपाएपछि उनले क्वानमुकान करातेको विशेष प्रशिक्षण लिई सन् २००२ मा स्पेनमा २१ देशको सहभागितामा भएको अन्तर्राष्ट्रियस्तरको करांते प्रतियोगितामा नेपालको तर्फबाट रजत पदक जितेका थिए ।

उनी काठमाण्डौस्थित बाग्मती बोर्डिङ स्कुल र भारतीय राजदूताबासभित्रको केन्द्रिय विद्यालयमा योग तथा खेल प्रशिक्षकको रुपमा कार्यरत छन् । पन्तले सन् २००८ देखि नै विभिन्न स्कुल, कलेज र संघसंस्थाहरुमा योग सम्बन्धि प्रशिक्षण तथा कार्यशाला गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री