मातातीर्थ कुण्डमा भक्तजनको भीड

आमाको मुख हेर्ने वैशाख कृष्णऔँसीका दिन बुधबार काठमाडौँको मातातीर्थमा स्नान गर्दै दर्शनार्थी । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, १३ वैशाख । चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष मातातीर्थ औँशीका दिन सो कुण्डमा स्नान तथा दर्शन गर्नका लागि भक्तजनको ठूलो भीड लाग्ने गर्छ ।

काठमाडौँबाट करिव १२ किलोमिटर दक्षिणतर्फको दूरीमा पर्ने उक्त स्थानमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रबाट समेत मेला भर्न दर्शनार्थी आउने गर्छन् । विशेष गरी आमा नहुनेले आजको दिन त्यहाँ गएर कुण्डमा स्नान गरी तर्पण दिने, श्राद्ध गर्ने तथा दान दक्षिणा गर्ने चलन छ ।

प्राचीन समयमा स्थानीय एक ग्वालाले गाई चराइरहेका बेलामा प्यास लागेर पानी पिउन जाने क्रममा कुण्डमा आजको दिन आफ्नो दिवङ्गत आमाको मुख देखेपछि त्यहाँ दर्शन गर्ने परम्परा सुरु भएको जनविश्वास छ ।

विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा स्वयंसेवकले यहाँ आउने भक्तजनलाई सहज दर्शनको व्यवस्था मिलाएका छन् ।

चन्द्रागिरि नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसीले प्राचीन महत्वको इतिहास रहेको त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो । स्थानीय रोशन दानीले साँझसम्म त्यहाँ मेला भर्न तथा दर्शनका लागि करिब एक लाख भक्तजन आउने जानकारी गराउनुभयो ।

आमाको मुख हेर्ने दिन अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो

गौशाला, १३ वैशाख । वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने दिन आज बिहानैदेखि महोत्तरी जिल्लाको बगडा गाविसमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ ।

आमाबुबालाई आफ्ना सर्वस्व मान्ने र आमाबुबाकै सेवालाई महान् धर्म मान्नेका आस्थाका केन्द्र मानिएको सो स्थानमा आज आमाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीयवासी बताउँछन् ।

जिल्लाको उत्तरपूर्वी कुनामा धनुषा जिल्लासँग जोडिएर रहेको बगडा–९ मा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थानले पौराणिक एवम् धार्मिक महत्व बोकेकाले यहाँ हजारौँ महिला–पुरुष दर्शनका लागि आएको स्थानीयवासी शङ्कर यादवले बताउनुभयो ।

रामायणकालमा मातापिताका अनन्य भक्त श्रवण कुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी बाण लागेर आफ्नो छोरा श्रवण कुमारको मृत्यु भएको सुनेपछि आफ्नो प्राण त्याग गरेको किंवदन्ती रहेको छ ।

विगतका दिनमा यस स्थानमा दैनिक मेला लाग्ने गरेको तथा टाढा टाढाका दर्शनार्थीको ओइरो लाग्ने गरेकामा अहिले यहाँ कहिलेकाहीँ विशेष दिन जस्तै आमाको मुख हेर्ने वा बुबाको मुख हेर्ने दिनमा मात्रै श्रद्धालु आउने गरेको कुरा स्थान नजिकै बस्ने सीताशरण यादवले बताउनुभयो । आजका दिन यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस आउने गरेको स्थानीयवासी विकाऊ यादवले बताउनुभयो ।

आमा, बुबा नभएकाले यस स्थानमा आफ्ना आमाबुबाको सम्झना गर्दै आमा तथा बाबुको मुख हेर्ने दिनमा ठूलो सङ्ख्यामा आउने र अन्धाअन्धी स्थानलाई आफ्ना आमाबुबाको सम्झनाको केन्द्र बनाएको स्थानीय वृद्ध नथुनी यादवले बताउनुभयो ।

रामायणकालमा मातापिताका अनन्य भक्त तथा परम आज्ञाकारी छोरा श्रवण कुमारले आफ्ना तिर्खाएका अन्धाअन्धी बाबुआमालाई महोत्तरीको बगडा–९ स्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन पानी ल्याउन नजिकैको महदैया तपनपुर–४ स्थित कमलदहमा गएको बेला राजा दशरथको शब्दभेदी बाण लागी मृत्यु भएको र आफ्नो छोरा मरेको सुनेर अन्धाअन्धीले पनि यसै ठाउँमा प्राण त्याग गरेको किंवदन्ती छ ।

अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखि नै यो स्थान अन्धाअन्धी स्थानको नामले स्थापित एवम् चर्चित भएको छ भने यस स्थानमा विभिन्न समयको अन्तरालमा मन्दिर पनि बनाइएको थियो ।

तर सम्बन्धित निकायको उदासीनताका कारण यस स्थानको संरक्षण संवद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको छ । धार्मिक एवम् ऐतिहासिक यस अन्धाअन्धी स्थानको संरक्षण, संवद्र्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीयवासीले माग गरेका छन् । सञ्जितकुमार मण्डल/रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री