
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा मङ्गलबार नेपाली काँग्रेसको केन्द्रिय कार्यालय सानेपामा आयोजना गरेको विशेष कार्यक्रममा स्थानीय निकायको निर्वाचनका लागि तयार घोषणापत्र सार्वजनिक गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमडौँ, १२ वैशाख । नेपाली काँग्रेसले मुलुकलाई आगामी १० वर्षभित्र एउटा मध्यम आययुक्त गतिशील राष्ट्र बनाउने ध्येयका साथ पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टी कार्यालयमा आज आयोजित विशेष कार्यक्रममा सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । मध्यम आययुक्त गतिशील राष्ट्र बनाउन कम्तीमा पनि एक दशकसम्म वार्षिक सातदेखि १० प्रतिशतसम्मको उच्च आर्थिक वृद्धि दर निरन्तर हासिल गर्दै हरेक वर्ष अर्थतन्त्रले तीनदेखि पाँच लाख रोजगारीका अवसर सिर्जना गर्ने काँग्रेसले जनाएको छ ।
यो उद्देश्य हासिल गर्न अभूतपूर्व परिमाणमा नेपाली काँग्रेसले स्वदेशी र विदेशी लगानीको परिचालन गर्नेछ । यो लगानी हाम्रा सम्भावनाका क्षेत्र ऊर्जा, पर्यटन र कृषिका साथै उत्पादनमूलक उद्योग र नयाँ प्रविधि एवम् व्यापारयोग्य सेवामा आकर्षित गरिने घोषणापत्रमा उल्लेख छ ।
काँग्रेस यो घोषणापत्रमार्फत नयाँ संविधानका आधारभूत मान्यताको पालना र कार्यान्वयनप्रति पूर्ण प्रतिबद्ध रहेको घोषणा दृढतापूर्वक गर्न चाहन्छ भनिएको छ । यो प्रतिबद्धता पूरा गर्न नेपाली काँग्रेसले आफ्नो सम्पूर्ण राजनीतिक शक्ति, सङ्गठन र संयन्त्रलाई परिचालित गर्ने जनाएको छ । घोषणापत्र प्रतिबद्धतापत्र मात्र नभएर कार्यान्वयनको सच्चा सङ्कल्प भनेको छ ।
स्थानीय तहमा उद्यमशीलताको लहर ल्याउन युवाको सीप विकास गर्दै कृषि, ऊर्जा, साना तथा मझौला उद्योग र पर्यटकीय गतिविधिको विस्तारका लागि नेपाली काँग्रेसले विशेष जोड दिनेछ । उन्नत बीउ, कर्जा र बीमा, वैकल्पिक ऊर्जा, साना जलविद्युत् र सिँचाइका आयोजनामार्फत उत्पादकत्व बढाउनु काँग्रेसको लक्ष्य हुनेछ घोषणापत्रमा उख्लेख छ ।
रोजगारी
काँग्रेसले गाउँ र नगरका युवालाई प्रोत्साहन दिई स्वरोजगारको प्रवद्र्धन गर्न एक ‘युवा उद्यम चुनौती कोष’ को कार्यान्वयन गर्ने जनाएको छ । नवीन सोचसहितको युवा जाँगर र उद्यमशीलता प्रयोग गर्न १६ देखि ४५ वर्षसम्मका युवालाई लक्षित गरी २५+२५+५० को सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याइनेछ उल्लेख गरेको छ । यो वित्तीय लगानी कार्यक्रममा २५ प्रतिशत अंश युवा उद्यमीको आफ्नै लगानी, २५ प्रतिशत अनुदान र बाँकी ५० प्रतिशत सहुलियतपूर्ण ऋण सहायता रहनेछ ।
कृषि तथा खानी
काँग्रेसले कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादन वृद्धि स्थानीय सरकारले कृषि, भूमि, वन, सिँचाइ र खानेपानीजस्ता क्षेत्रमा प्राकृतिक स्रोत व्यवस्थापनमा संलग्न स्थानीय समुदायलाई भरपर्दो सहयोगी संस्थाका रुपमा परिचालन गर्ने जनाएको छ । ‘जल, जमिन, जङ्गल, जडीबुटी र जलाधार ः स्थानीय जनताको समृद्धिको आधार’ भन्ने मान्यतामा स्थानीय सरकारले प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने काँग्रेसको प्रतिबद्धता छ ।
खानी तथा खनिज पदार्थको संरक्षण र उपयोगसम्बन्धी नीति र मापदण्ड तयार गरी कार्यान्वयन गर्नेछ । ढुङ्गा, गिट्टी, बालुवा, माटो, स्लेट आदि खानीजन्य पदार्थको सर्भेक्षण, संरक्षण, उत्खनन र उपयोगसम्बन्धी कार्य दर्ता गर्ने, अनुमति दिने, नवीकरण र खारेजी गर्ने कार्य स्थानीय सरकारले व्यवस्थित गर्नेछ ।
साथै स्थानीय विकास परियोजना वित्तीय सङ्घीयताको मूल मर्मअनुसार नेपाली काँग्रेसले सङ्घीय बजेटको ५० प्रतिशतभन्दा बढी हिस्सा (आगामी आर्थिक वर्षमा करिब ६०० अर्ब रुपैयाँ) सिंहदरबारबाट प्रदेश, गाउँ र नगरपालिकामा सोझै पठाउने सो पार्टीको योजना छ ।
सामाजिक सुरक्षा
काँग्रेसले ज्येष्ठ नागरिक एवम् अपाङ्गता भएका व्यक्तिलाई सुविधा ज्येष्ठ नागरिकलाई दिइरहेको हालको मासिक सामाजिक सुरक्षा भत्तामा उल्लेख्य वृद्धि गर्ने र प्रत्येक दुई वर्षमा यसको पुनरावलोकन गरिने उल्लेख गरेको छ । प्रत्येक गाउँपालिकामा एउटा एकीकृत ज्येष्ठ नागरिक सेवा आश्रम स्थापना गरिनेछ । यी आश्रम सफा, सुविधासम्पन्न र ज्येष्ठ नागरिकको एक्लोपनाको समस्यालाई सम्बोधन गर्ने गरी सम्मानजनक बनाइनेछ । आश्रममा ज्येष्ठ नागरिकलाई आवास, भोजन, स्वास्थ्य, आध्यात्मिक सत्सङ्ग, मनोरञ्जन र भ्रमणलगायत सबै सेवा निःशुल्क उपलब्ध गराइने घोषणापत्रमा उल्लेख छ ।
सम्पन्न, स्वास्थ, शिक्षित र क्रियाशील नागरिक, शान्त र एकताबद्ध परिवार, सामाजिक सद्भावसहितको समतामूलक समाज र समावेशी प्रतिनिधित्व भएको लोकतान्त्रिक समाजवादी राज्यको स्थापना नै नेपाली काँग्रेसको लक्ष्य हुने घोषणापत्रमा उल्लेख छ । यो लक्ष्यप्रति समर्पित हुदै आगामी १० वर्षभित्र नेपालमा भोकमरी र कुपोषणको अन्त्य गर्न तथा आर्थिक असमानताको न्यूनीकरण गर्दै कुल जनसङ्ख्यामा निरपेक्ष गरिबीको रेखामुिन रहको जनताको अंश तीन प्रतिशतभन्दा मुनि ल्याउन नेपाली काँग्रेसले सङ्कल्प गरेको छ ।
शिक्षा र स्वास्थ्य
काँग्रेस स्थानीय सरकारको ५ वर्षको अवधिभित्र १५ देखि २४ वर्ष उमेर समूहका नेपालीमाझ शत्प्रतिशत साक्षरता हासिल गर्ने सङ्कल्प गरेको छ । स्थानीय सरकारले माध्यमिक र प्राविधिक (पोलिटेक्निक) शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउनेछ । शिक्षाको प्रत्येक तह र अवसरमा लैङ्गिक समता सुनिश्चित गर्नेछ । आगामी १० वर्षभित्र शिशु मृत्यु दरलाई पाँचभन्दा कम र मातृ मृत्युदरलाई (प्रति एक लाख जीवित जन्ममा) ५० भन्दा कम गर्ने अठोट गर्दछ । काँग्रेसले मलेरिया, कालाज्वर, डेङ्गु, हेपाटाइटिसलगायत पानीजन्य रोगबाट कसैको पनि मृत्यु नहुने स्वास्थ्य नीति र संरचना बनाउने लक्ष्य लिएको छ ।
सबै विद्यालयमा प्रत्येक महिना स्वास्थ्य परीक्षण र आधारभूत उपचारको व्यवस्था गरिनेछ र स्थायीरुपमा नर्सिङ सेवा र सुविधा उपलब्ध गराइनेछ । ‘आधारभूत स्वास्थ्य र सरसफाइ ः सबैलाई भरपर्दो, स्तरीय र सुलभ स्वास्थ्य सेवा’ भन्ने मूल लक्ष्यका साथ नेपाली काँग्रेसले स्वास्थ्य क्षेत्रको नीति र कार्यक्रम सञ्चालन गर्नेछ । हरेक गाउँपालिकामा प्रसूति सेवासहितको कम्तीमा एउटा १५ श्ययाको अस्पताल निर्माण गरिनेछ । सबै नगरपालिकामा आवश्यकता हेरी २५ देखि ५० श्ययाको आधुनिक अस्पताल निर्माण गरिने काँग्रेसले जनाएको छ ।
ऊर्जा र सिँचाइ
काँग्रेसले ऊर्जा आगामी दुई वर्षभित्रै आन्तरिक ऊर्जा वृद्धि भई केही महिना ऊर्जा बचत हुन सक्ने सन्दर्भमा स्वदेशी तथा विदेशी उत्पादनमूलक उद्योगको प्रवर्धन हुने गरी स्थानीय सरकारले ५० प्रतिशतसम्मको महसुल छुटमा ऊर्जा उपलब्ध गराउने नीति अवलम्बन गर्नेछन् । सबै सार्वजनिक स्थल (सडक, पार्क, खेलमैदान आदि)मा स्वच्छ तथा नवीकरणीय ऊर्जाको प्रयोग गरिनेछ । घरायसी इन्धनको प्रमुख स्रोतका रुपमा दाउरा, गुइँठा प्रयोग गर्ने घरधुरी सङ्ख्या प्रत्येक वर्ष निश्चित प्रतिशतले कम गर्दै लगिनेछ ।
सिँचाइ कृषकद्वारा व्यवस्थित गरिएका सिँचाइ प्रणालीलाई भरपर्दो, आधुनिक र दिगो बनाइनेछ । साना सिँचाइ, स्थानीय प्रविधि, थोपा सिँचाइ प्रविधि एवम् आकासेपानी सङ्कलनद्वारा सिँचाइ प्रविधिलाई प्राथमिकता दिइनेछ । प्रत्येक थोपाबाट थप उत्पादन गर्ने प्रेरणाबाट सिँचाइ सुविधा विस्तार गरिने घोषणपत्रमा उल्लेख छ ।
सूचना तथा सञ्चार
सूचना तथा सञ्चारका सम्बन्धमा काँग्रेसले १०० वाट सम्मका एफएम सञ्चालनको अनुमति दिने, नवीकरण गर्ने र नियमन गर्ने कार्यद्वारा स्थानीयस्तरमा एफएम प्रणालीको विस्तार गरिने घोषणापत्रमा उल्लेख गरेको छ । स्थानीय तहमा इन्टरनेट सेवा, टेलिसेन्टर र स्थानीय टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन कार्य स्थानीय सरकारले गर्ने काँग्रेसको योजना छ । केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा पत्रपत्रिकालगायत अन्य प्रकाशनमा कल्याणकारी विज्ञापनलाई प्रोत्साहन दिँदै एक वडा एक बुलेटिनको अभियानमार्फत नागरिकलाई सुसूचित गरिनेछ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान