सरकार-मोर्चा सहमति संविधान कार्यान्वयनमा कोसेढुङ्गा- माओवादी केन्द्र

काठमाडौँ, १० वैशाख । नेकपा(माओवादी केन्द्र)ले सरकार र आन्दोलनरत मधेस केन्द्रित दलबीच शनिबार भएको सहमतिलाई अनुमोदन गरेको छ ।

दलको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यालय बैठकले सरकार र मोर्चाबीच भएको सहमतिलाई अनुमोदन गरी स्थानीय तहको निर्वाचन भयरहित तवरले सम्पन्न गराउन आवश्यक पहल गर्नसमेत आग्रह गरेको छ ।

सरकार र मोर्चाबीच भएको सहमतिले स्थानीय निर्वाचनको वातावरण बनेको र यो संविधान कार्यान्वयनको दिशामा कोसेढुङ्गा कायम भएको जनाउँदै प्रमुख राजनीतिक दलले आआफ्नो राजनीतिक कर्तव्य पूरा गर्नसमेत बैठकले आग्रह गरेको छ । लामो कसरतपछि सरकार, मोर्चा र प्रमुख दलबीच निर्वाचनलाई नै केन्द्रमा राखेर सहमति हुनु सुखद रहेको जनाउँदै माओवादी केन्द्रले सहमतिको प्रयासमा प्रमुख भूमिका खेल्ने सबैलाई धन्यवादसमेत दिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले मोर्चा र अन्य दलका नेतासँग भएको छलफल एवम् सहमतिको आधारका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले आफ्नो लामो प्रयास र प्रयत्नपछि आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन सफल भएको जनाउँदै अब निर्वाचन कोही कसैले रोक्न नसक्ने धारणा राख्नुभएको थियो ।

प्रधानमन्त्रीले सबै राजनीतिक दल निर्वाचनमा आउने वातावरण बन्नु देशकै लागि खुसीको कुरा हो भन्दै अब सम्पूर्ण रुपले निर्वाचनमा होमिन नेताहरुलाई निर्देशन दिनुभयो । बैठकले सरकार र मोर्चाबीच भएको सहमतिलाई अक्षरशः कार्यान्वयन गर्न दलका तर्फबाट आवश्यक पहल गरिने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री