काँग्रेस जे बोल्छ, त्यो पूरा गर्छ – देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, ९ वैशाख । नेपाली काँग्रेसका शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा पनि आफ्नो पार्टीले अग्रस्थान प्राप्त गर्ने बताउनुभएको छ ।

जनताले पत्याएको पार्टीका रुपमा काँग्रेस स्थापित भइसकेको उहाँहरुले दाबी गर्दै विसं २०७० को संविधानसभा निर्वाचनमा प्राप्त गरेको जनविश्वास पुनः आसन्न स्थानीय निकायको निर्वाचनमा प्राप्त गर्ने उद्घोषसमेत गर्नुभएको छ ।

अखण्ड नेपाल पार्टी समानान्तरको काँग्रेसमा प्रवेश कार्यक्रमलाई आज पार्टी मुख्यालय सानेपामा सम्बोधन गर्दै शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा सबै दलले भाग लिनसक्ने वातावरणका लागि विशेष गरी तराई-मधेस पार्टीसँगको छलफल अन्तिमचरणमा पुगेको जानकारी दिनुभयो ।

काँग्रेस केन्द्रीय समितिको विसं २०७२ माघ ११ गते बैठकले अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक दयाराम पाण्डेले आप्mनो पार्टीलाई काँग्रेसमा प्रवेश गर्न दिनुभएको निवेदनलाई अनुमोदन गरेको थियो । संयोजक पाण्डेसहित ४५ जिल्लामा रहेका जिल्ला कार्यसमितिसहित एक हजार भन्दा बढी सो पार्टीका नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।

सभापति शेरबहादुर देउवाले काँग्रेस जनताको विश्वास जितिसकेको पार्टीको रुपमा स्थापित भएको चर्चा गर्दै विपन्न जनताको आर्थिक एवम् सामाजिक जीवनलाई माथि उठाउन ‘नेकाले जे बोल्छ, त्यो पूरा गर्छ’ भन्नुभयो ।

उहाँले शान्ति, प्रजातन्त्रका लागि काँग्रेसले सात सालदेखि जनताको अधिकारका लागि अनवरत रुपमा सङ्घर्ष गर्दै आएको र आगामी दिनमा जनताको आर्थिक समृद्धि र उन्ननयका लागि काम गर्ने बताउनुभयो ।

सो अवसरमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक पाण्डेसहित अन्य नेतालाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गर्नुभएको थियो ।

सो अवसरमा वरिष्ठ नेता पौडेलले आसन्न स्थानीय निकायको निर्वाचनमा तराई– मधेसवादी दलको सहभागिता गराउन पार्टीले अन्तिम प्रयास जारी राखेको चर्चा गर्दै ती दलले उठान गरेका माग सम्बोधन गर्न पार्टी सकारात्मक छ भन्नुभयो ।

उहाँले निर्वाचन मार्फत राजनीतिक स्थायित्व दिई देशलाई समृद्धिको यात्रामा हिँडाउन पार्टीले नेतृत्व लिने उल्लेख गर्नुभयो ।

महामन्त्री डा कोइरालाले निर्वाचनलाई आफ्नो पार्टीले प्रतिष्ठाको विषय बनाएको हुँदा गत संविधानसभाको निर्वाचनमा जनताले दिएको विश्वास आगामी निर्वाचनमा समेत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

कोषाध्यक्ष यादवले राष्ट्रियता, प्रजातन्त्र र समाजलाई बलियो बनाउँदै देशलाई समृद्ध बनाउन काँग्रेसको स्थानीय तहमा नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो ।

केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानलाई सर्वस्वीकार्य र जीवन्त बनाउन पार्टीले अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो ।
संयोजक पाण्डेले आगामी दिनमा नेकाको आदर्श र सिद्धान्तलाई पालना गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री