बोर्नमाउथमा दुई दिने नेपाल अध्ययन दिवस तथा प्राज्ञिक सम्मेलन

लन्डन । बेलायतस्थित नेपाल सम्बन्धि प्राज्ञ तथा अध्येताहरूको संस्था बेलायत नेपाल प्रज्ञा परिषदले हालै बोर्नमाउथ विश्वविद्यालयमा दुई दिने नेपाल अध्ययन दिवस र साधारणसभा लगायत विभिन्न गतिविधि गरेको छ ।

नेपाल र नेपाली संस्कृतिसंग सम्बन्धित ताजा अनुसन्धान प्रस्तुत र छलफल हुने नेपाल अध्ययन दिवसमा यो वर्ष विभिन्न विषयका २१ वटा कार्यपत्र, ८ वटा पोस्टर, एक विशेष प्रस्तुति र पिएचडी कार्यशाला रहेको परिषदका महासचिव डा. कृष्ण अधिकारीले जानकारी दिए । उक्त कार्यक्रममा नेपालबारे रुची राख्ने स्थापित प्राज्ञदेखि शोधमा लागेका नयां विद्यार्थी र स्वतन्त्र अनुसन्धानकर्ता गरी बेलायत, हङकङ, नेपाल र युरोपेली देशका ६० भन्दा बढिको सहभागिता थियो ।

हरेक वर्ष नेपाल अध्ययन दिवसका रुपमा गरिने सम्मेलन यसपाली विभिन्न यौन तथा प्रजनन स्वास्थ्य, धर्म, संस्कृति र पहिचान, स्वास्थ्य, राजनीति र डायस्पोरा, उर्जा र भूकम्प तथा विपत व्यवस्थापन गरि ६ विधामा कार्यपत्र प्रस्तुति र व्यापक छलफल भएको थियो ।

परिषद्का अध्यक्ष तथा अक्सफोर्ड युनिभर्सिटीका प्राध्यापक डेभिड गेल्नरको स्वागत मन्तव्यसहित शुरु भएको उक्त कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धि पहिलो सत्र उनकै अध्यक्षतामा भएको थियो । उक्त सत्रमा लिभरपुल जोन मोर्स युनिभर्सिटीका डा. एकनारायण पौडेलले नेपालमा एचआइभी संक्रमितहरूको आर्थिक अवस्था सुधारका लागि नीति तथा कायक्रमबारे, सोही विश्वविद्यालयकी डा. सारा पार्करले नेपालमा 
महिनावारी स्वास्थ्यसम्बन्धि चलाइएका कार्यक्रमको प्रभाव मूल्यांकनबारे र एबरिस्टविथ विश्वविद्यालयका डा. देवराज आचार्यले नेपालका विद्यालयहरुमा विद्यार्थीको यौन तथा प्रजनन स्वास्थ्य विषयमा ज्ञान विकास र अध्यापनबारे कार्यपत्र प्रस्तुत गरेका 
थिए ।

धर्म, संस्कृति र पहिचान विधाको दोश्रो सत्रको अध्यक्षता सोआसका प्राध्यापक माइकल हट्ले गरेका थिए । उक्त सत्रमा ग्लास्गो विश्वविद्यालयकी कुमुद राणाले नेपालमा समलिंगीहरुका समस्या र समान अधिकारका अभियानबारे, दि वेष्ट अफ स्कटल्याण्ड विश्वविद्यालयका कल्याण भण्डारीले सगरमाथाको समाजशास्त्रीय अध्ययनबारे तथा स्वानजी विश्वविद्यालयका रविन्द्र न्यौपानेले नेपालको वृहत गौमुखी क्षेत्रका सामजिक अभियानबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त सत्रमा सोसल साइन्स वहा काठमाडौंका जीवन बानियाले नेपालमा वैदेशिक श्रम र विप्रेषणले पारेको सामाजिक तथा राजनीतिक प्रभावबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

डरम विश्वविद्यालयका डा. बेन क्याप्बेलको अध्यक्षतामा सम्पन्न पहिलो दिनको अन्तिम सत्रमा मार्टिन चौतारी नेपालका डा. प्रत्युष वन्तले नेपाल अध्ययनको मोटामोटी विश्वव्यापी अवस्था र चुनौतीसम्बन्धि विशेष कार्यपत्र पेश गर्दै छलफल चलाएका थिए ।
कार्यक्रमको दोस्रो दिन चार विधामा प्रस्तुति र छलफल रहेको थियो । स्वास्थ्य विषयको पहिलो सत्रमा ब्रिस्टल विश्वविद्यालयका डा. पुष्पराज पन्तले नेपालमा स्वास्थ्य क्षेत्रमा देखिएको विकास र चुनौतीबारे र वेष्ट अफ इंग्ल्याण्ड विश्वविद्यालयका सन्तोष भट्टले अनपेक्षित बाल दुर्घटना रोकथामका लागि समुदायिक वातावरण परिवर्तनको सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरे । लिभरपुल जोन मोर्स विश्वविद्यालयका प्राध्यापक पदम सिम्खडाले वैदेशिक 
रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य अवस्थाबारे शोध समिक्षा र सोही विश्वविद्यालयकी विभा सिम्खडाले नेपालको नर्सिङ क्षेत्रमा पेशागत विकास र तालिम आवश्यकताबारे शोधपत्र प्रस्तुत गरेका थिए । उक्त सत्रको अध्यक्षता स्थानीय आयोजक संस्थाका प्राध्यापक एडविन तेज्लिङगेनले गरेका थिए ।

उक्त दिनको दोस्रो सत्रको अध्यक्षता डा. सारा पार्करले गरेकी थिइन् । इतिहास र डायस्पोरा विषयको उक्त सत्रमा परिषद्का महासचिव तथा अक्सफोर्ड विश्वविद्यालयका डा. कृष्ण अधिकारीले एक शताब्दीदेखि छुटिएका फिजी- नेपालीको बारेमा, सोआसकी अमाण्डा टेलरले ब्रिटिश राजको सिमान्तमा परेका पूर्वोत्तर भारतका नेपाली गोर्खा र कुल्लीबारे एक क्याप्टेनको अभिलेखबारे र नेपाल अध्ययन केन्द्रका डा. चन्द्र लक्सम्बाले सांस्कृतिक दोधारमा रहेका बेलायतका नेपाली युवाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

उर्जासम्बन्धी तेस्रो सत्रको अध्यक्षता सोआसकी डा. फेजी इस्माइलले गरेकी थिइन् । उक्त सत्रमा डा. बेन क्याम्पबेलले भूकम्पपछि सिर्जित परिस्थितिमा उर्जा अनुसन्धान सम्भावनाको बारेमा, स्वान्जी विश्वविद्यालयका रामहरी पौडेलले नेपालमा उर्जा समस्या र नवीकरणीय उर्जा समाधानको बारेमा र हाइड्रोप्लान यूकेका तुलसीप्रसाद फुंयालले उर्जा अभाव र जलविद्युतप्रतिको आशाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

डा. कृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न अन्तिम सत्रमा भूकम्प तथा विपत व्यवस्थापन विषयमा ४ कार्यपत्र प्रस्तुत गरिएको थियो । प्राध्यापक माइकल हटले धरहरा पुनर्निर्माणको बारेमा, सेफिल्ड विश्वविद्यालयका कृष कार्टराइटले नेपालको भूकम्प विपत्तिको सामनासम्बन्धि, लिभरपुल जोन 
मोर्स विश्वविद्यालयकी सपना विष्टले नेपालको भूकम्प व्यवस्थापनमा अपांगहरूको दृष्टिकोणबारे र अक्सफोर्ड ब्रुक्स विश्वविद्यालयकी लक्ष्मी गुरुङले चुस्त पुनर्निर्माणमा समन्वय र योजनाको ‘बिम’ रणनीतिक अवधारणबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सिलसिलामा विद्यावारिधिसम्बन्धी विशेष कार्यशाला पनि आयोजना गरिएको थियो ।

साधारणसभा र नयां सदस्य निर्वाचन

अध्ययन दिवसको सिलसिलामा परिषद्को कार्यसमिति बैठक र हरेक दुई वर्षमा हुने साधारणसभा पनि गरिएको थियो । प्राध्यापक डेविड गेल्नरको अध्यक्षतामा सम्पन्न सो सभामा परिषदका विगतका गतिविधि, आर्थिक प्रतिवेदन र आगामी कार्ययोजना माथि छलफल भएको थियो । हरेक दुई वर्षमा चार जना कार्य समिति सदस्यको निर्वाचन गर्ने नयां व्यवस्था अन्तर्गत भएको निर्वाचनमा डा. कल्याण भण्डारी, युनिभर्सिटी कलेज लन्डनका डा. तेजेन्द्र फेराली र डा. बेन क्याम्पबेल चयन भएका छन् । साथै परिषदले प्राध्यापक एडविन तेज्लिङगेन र अक्सफोर्ड विश्वविद्यालयकी डा. सोन्ड्रा हाउसनरलाई दुई वर्षका लागि ‘कोअप्ट’ मनोनित गरेको छ । भण्डारी, क्याम्पबेल र हाउसनर यस अघिको कार्यसमितिमा पनि रहेका परिषदका महासचिव तथा निर्वाचन अधिकृत डा. कृष्ण अधिकारीले जानकारी दिए ।

विद्यावारिधि शोधपत्र पुरस्कार घोषणा

यसैबीच, परिषदले आगामी वर्षदेखि प्रदान गर्ने गरि प्रतिष्पर्धाको आधारमा उत्कृष्ट विद्यावारिधि शोधपत्र पुरस्कार घोषणा गरेको छ । २५० पाउण्ड धनराशी रहेको उक्त पुरस्कारका लागि नेपाल वा नेपाली सांस्कृतिक संसारसम्बन्धी शोध गरेका नेपाल, बेलायत वा युरोप क्षेत्रका विद्यार्थीले भाग लिन पाउने जनाइएको छ । सन् २०१८ जनवरी मसान्तसम्म १० हजार शब्दसम्मको शोधपत्रको एक अध्याय वा प्रकाशित लेख पेश गरि आवेदन दिने गरी सूचना प्रकाशन हुनेछ ।

आगामी वर्षको नेपाल अध्ययन दिवसलाई नयां नाम नेपाल अध्ययन दिवस (नेपाल कन्फरेन्स) का नाममा सञ्चालन गरिने र उक्त कार्यक्रम डरम विश्वविद्यालयमा आयोजना हुनेछ । परिषदले गर्ने वार्षिक नेपाल प्रवचन आगामी नोभेम्बरमा लन्डन सोआसमा हुने र सो प्रवचन दिन नेपालबाट प्राध्यापक पिताम्बर शर्मा आउने जनाइएको छ ।

बेलायत नेपाल प्रज्ञा परिषद सन् २००० मा च्यारिटी संस्थाको रुपमा स्थापित भएको हो । परिषदले सिधै कुनै अनुसन्धान आयोजना वा सञ्चालन गर्दैन । नियमित कार्यक्रमम अलवा परिषदले नेपालसम्बन्धि विभिन्न प्राज्ञिक छलफल तथा प्रवचन आयोजना गर्ने गर्दछ । हालसालै नेपाल पत्रकार महासंघ यूके शाखाको सहकार्यमा परिषदले नेपाली दूतावासको आयोजनामा बेलायत नेपाल सम्बन्धमा प्राज्ञिक अन्तरक्रिया गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री