निर्वाचनमा उत्साहका साथ लाग्न देउवा, ओली र रेग्मीको आग्रह

ओली (बाया) र देउवा

काठमाडौँ, १ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष २०७४ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज दिनुभएको शुभकामना सन्देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कार्यान्वयन र संस्थागत गर्दै मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर बनाउन स्थानीय तहको निर्वाचनको अत्यन्त ठूलो महत्व रहेको बताउनुभएको छ । उहाँले सन्देशमा आफ्नो मतबाट बन्ने स्थानीय सरकार गाउँ-नगरको विकासका लागि सबैभन्दा महत्वपूर्ण र भरपर्दो संस्था हुने उल्लेख गर्नुभएको छ ।

‘मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन नयाँ वर्ष २०७४ ले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ’- सभापति देउवाद्वारा जारी सन्देशमा भनिएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि नयाँ वर्ष २०७४ सालको शुभकामना सन्देश दिँदै स्थानीय तहको निर्वाचनमा उत्साहका साथ सहभागी हुन आग्रह गर्नुभएको छ । निर्वाचनबाट आफूले चुनेका प्रतिनिधिका माध्यमबाट विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन समेत उहाँले आग्रह गर्नुभएको छ ।

‘नयाँ वर्ष २०७४ नेपालको राजनीतिक स्थायित्व र लोकतन्त्र सुदृढीकरणको स्मरणीय वर्षका रूपमा अङ्कित हुने विश्वास मैले लिएको छु’ अध्यक्ष ओलीले सन्देशमा भन्नुभएको छ–’संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो र लोकतन्त्रलाई जनताको घर–आँगनमा पुरयाउने प्रभावशाली प्रक्रियाको रूपमा रहेको स्थानीय तह निर्वाचनले नेपाली जनतालाई स्वशासनको अनुभूति दिलाउने छ ।’

उहाँले राजनीतिक दल, सङ्घसंस्था एवम् आम जनसमुदायमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटोमा एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्नुभएको छ । संवैधानिक प्रक्रियाप्रति केही गुनासाहरू अभिव्यक्त गरिरहेको मधेसी मोर्चालाई लोकतान्त्रिक विधि र निर्वाचनकै माध्यमबाट समाधान खोज्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

यसैगरी मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नव वर्ष २०७४ को अवसरमा दिनुभएको शुभकामना सन्देशमा संविधानको कार्यान्वयनको शुभ सङ्केतस्वरुप स्थानीय तहको निर्वाचन तोकिएको बताउँदै २०७४ माघ ७ गतेभित्रै तीनै तहको निर्वाचन गर्नु संवैधानिक अनिवार्यता भएको उल्लेख गर्नुभएको छ ।

सन्देशमा संविधान जारी गर्न एकजुट भएका दलहरू संविधान कार्यान्वयनको लागि पनि एकजुट हुँदै र विमतिका बुँदाहरू साँघुरो बनाउँदै असन्तुष्ट पक्षहरूलाई समेट्न गम्भीररुपले लाग्नु जरुरी रहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री