नेपाली सेना उत्कृष्ट र मर्यादित – प्रधानमन्त्री

नेपाली सैनिक प्रतिष्ठान भक्तपुरको खरीपाटीमा बुधबार आयोजित सि.सं. ५५ अधिकृत क्याडेट तालिम र सि.सं. ४५ पदिक- हुद्दा क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर ः किरण भट्टराई, रासस

भक्तपुर, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर नेपाली सेनाले उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा आफूलाई स्थापित गर्दै आइरहेको बताउनुभएको छ ।

भक्तपुरको खरीपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित सि.सं ५५ अधिकृत क्याडेट तालिम र सि.सं ४५ पदिक-हुँद्दा क्याडेट तालिममा सहभागीलाई आयुक्त पद प्रदान कार्यक्रममा प्रधानमन्त्रीले राज्यको निर्दिष्ट सिद्धान्तको पालना गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीको सेवक भई आफूलाई सुम्पिएको जिम्मेवारी उदाहरणीय रुपमा प्रस्तुत गर्न सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्र र राष्ट्रवासीका खातिर सगर्व समर्पित रहनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत शान्ति स्थापना गर्ने कार्यमा अनुकरणीय योगदान दिँदै सेनाले नेपाल र नेपालीको पहिचान र साहसलाई विश्वसामु परिचित गराउन कुनै कसर बाँकी राखेको छैन ।”

आफ्नो पेसासँग मात्र आबद्ध नभई नेपाली जनता र मुलुकप्रति सदासर्वदा समर्पित र प्रतिबद्ध रहँदै राष्ट्रिय विपत्ति र सङ्कटका घडीमा समेत अग्रस्थानमा रही इमान्दार र पेसेवर ढङ्गबाट उत्कृष्टता प्रदर्शन गर्न नेपाली सेना सक्षम रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाली सेनाको व्यावसायिक उत्कृष्टताको सञ्चार अब विदेशी सेनाको माझसमेत अनुकरणीय बनेको कुरा नेपालको शिक्षण संस्थानमा हालैका दिनमा भएका विदेशी शिक्षार्थी आदान–प्रदानबाट प्रस्ट भएको प्रधानमन्त्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सैनिक जिम्मेवारी, बफादारी र अनुशासनलाई हृदयङ्गम गरी गौरवशाली इतिहास बोकेको नेपाली सेनाको अधिकृतका रुपमा आफ्नो दायित्व र जिम्मेवारीप्रति सदैव सजग, सतर्क र कर्तव्यनिष्ठ रही बलिदान गर्नु परेमा पनि कर्तव्यपथमा सदैव अडिग रही समर्पित रहनेछ ।”

कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँड, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतको सहभागिता थियो ।

उत्कृष्टलाई सम्मान 
दुई वर्षे सो तालिममा उत्कृष्ट भएकालाई प्रधानमन्त्रीले कार्यक्रममा सम्मान गर्नुभएको थियो ।

सि.सं ५५ अधिकृत क्याडेट तालिममा पुरुषतर्फ नवलपरासी, दुम्कीबासका दीपेन्द्र बराल, महिलातर्फ मनमैजु, काठमाडौँका करिश्मा मानन्धर र अन्तर्राष्ट्रिय अधिकृत क्याडेटतर्फ बङ्गलादेशका एम.डी. मनिरुजमान सर्वोत्कृष्ट हुनुभयो ।त्यसैगरी सिसं ४५ का पदिक÷हुद्दा क्याडेट तालिममा काठमाडौँ, नागार्जुनका अमित लामा सर्वोत्कृष्ट हुनुभयो ।

मित्रराष्ट्र केन्या र बङ्गलादेशका शिक्षार्थी सहभागी भएको सो तालिममा सि.सं ५५ अधिकृत क्याडेटतर्फ १२ महिलासहित एक सय १३ जना र सि.सं ४५ पदिक-हुद्दा क्याडेट तालिममा १८ जना नेपाली प्रशिक्षार्थी सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री